‘फिफी’लाई जङ्गे मौसुफको प्रेमपत्र- ‘अहिले घर बनाउँ, अर्को जुनीमा बनाउँला देश !’

प्रकाशित मिति: १२ चैत्र २०७८, शनिबार १२:४१

प्रिय ‘फिफि’, एक अँगालाे मयाँ 😍

तिमीले मेरोभन्दा देशको चिन्ता लिने गरेको मलाई राम्रोसँग थाहा छ । तिम्रो चिन्ता कम गर्न देश विकास गर्ने क्षमता मसँग छैन । त्यसैले यो पत्र मार्फत् तिम्रो चिन्ता कम गर्ने प्रयास गर्दैछु ।

विकास भएन भनेर चिन्तन गर्नु त ठिकै हो तर चिन्ता नै लिनुपर्ने जस्तो त मलाई लाग्दैन ! हेर त, धनी वर्ग आफैँ विकसित छ । यसलाई देश बिकासकाे आवश्यकता नै छैन ।

उता गरीबलाई दुई छाक जुटाउँदैमा ठिक्क छ । तिनलाई देश बिकास बारेमा सोच्ने फुर्सद नै छैन । मध्यम वर्ग हो, देश विकास बारेमा सोच्ने । उनिहरु पनि शासन सत्तामा पुगेपछी धनी भइहाल्छन् । त्यसकारण तिनलाई पनि देश बिकास गर्नैपर्ने हतारो छैन ।

देश यस्तै गोलचक्करमा घुमिरहेकाे छ । विकास यस्तै चक्रभ्युमा फँसेको छ । तिम्रोमात्रै ठेक्का हो र चिन्ता लिने प्रिय फिफी ?!

यो देशमा धनीहरु शोखले काम गर्छन् । गरीबहरु बाध्यताले काम गर्छ । अनि, मध्यम बर्ग काम गर्न लजाउँछ ।

मध्यम बर्गका आमाहरुको फुर्ती हुन्छ- ‘मेरो छोरोले सिन्को भाँचेको छैन । मेरी छोरी ढलेको लोटा उठाउँदिन ।’

उता विदेशिएको एउटा ब्यक्ती १० घन्टामा ११ तला घर सफा गर्छ तर ५ मिनेटमा सफा हुने आफ्नो कोठा कहिल्यै सफा गर्दैन । ३ ट्रक भाँडा ७ घन्टामा सफा गरिसक्छ तर आफ्नो कोठामा एक हप्ता देखीको कट्कटिएको चिया गिलास माँझेकाे हुँदैन ।

प्रिय फिफि, बिदेश सफा गरेर फोहोर नदेखिएको होईन, फोहोर नगरेर सफा देखिएको हो । यो संस्कार र व्यवहार भन्ने न त जन्मदै लिएर आएको हुन्छ, न त कसैसँग साट्न मिल्छ । त्यसैगरी न बेच्न मिल्छ, न त किन्न वा लुकाउन नै मिल्दो रहेछ !

संसारको जुनसुकै कुनामा पुगेका हामी नेपालीको बानी/व्यहोरा उस्तै हुँदाे रहेछ । त्यही भएर अहिलेको पुस्ताले देश बनाउदैन ढुक्क भए हुन्छ । त्यसैले अहिले तिम्रो मेरो प्रेम बलियो बनाउँ, देश अर्को जुनीमा बनाउँला । उही तिम्रो ‘खुकुरी ठुले’ उर्फ ‘जङ्गे मौसुफ’ उर्फ श्यामे तुम्लिङ्टार, खत्रीबेँसी

                       
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com