सुस्मिताको पक्षमा :…तपाईंको आवाज पनि अपराध विरुद्धको बलियो प्रमाण हुनसक्छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार ११:२२

नानी सुस्मिता,
अवचेतनमा गहिरो घाउ बनेर दुखिरहेको पीडाबाट बाहिर निस्कन तिमीले जुटाएको साहसलाई सलाम छ । कृपया आशाको दियो निभ्न नदेउ, तिम्रो आत्मविश्वास तेल बनेर बलिरहोस् । देश विदेशमा लाखौं मम्मी बाबाहरु तिम्रो साथमा छन् जो तिमीमा आफ्ना कलिला छोरीहरुको प्रतिविम्व देख्छन् ।

तिमीले भोगेको मुटु कमाउने तिम्रो कथा सुन्यौं, अत्यन्त मर्माहत भएका छौं । पहिलो कुरा त तिमीलाई धन्यवाद तथा अगाडीको मंगलमय यात्राकालागि बधाई छ । तिमीले अपराधीको परिचय दिएर राम्रो गरेकी छ्यौं । ईज्जत तिम्रो हैन, पिडकको जान्छ, र, जानुपर्छ । तिम्रो ईज्जत झन् बढेको छ ।

तिमी एक्लो पीडित हैनौ । विभिन्न आरोह अवरोहबाट उत्पन्न मनोसामाजिक समस्यासंग जुधिरहेका लाखौं मान्छेहरुको प्रतिनिधि पात्र हौ । थुप्रै कहालीलाग्दा घटनाहरुबाट गुज्रिइरहेकी तिमी बिभिन्न पेशा/क्षेत्रमा हुने चरम यौन हिंसाको उदाहरण हौ ।

तिमी अहिले कुन मनोदशाबाट गुज्रिरहेकी छ्यौ, त्यो हामी पूर्ण रुपमा आंकलन गर्न सक्दैनौं । तर, मनोविज्ञानको विद्यार्थीको नाताले तिमीलाई पक्कै थाहा छ, उचित औषधोउपचार, राम्रो थेरापी, सही साथ र आत्मविश्वासको संयुक्त प्रयासले तिमी पूर्ण रुपमा ठिक हुनेछ्यौ । अनि मानसिक तथा मनोसामाजिक समस्याबाट पीडित लाखौं जनको सेवामा जुट्नेछ्यौ ।

तिमी पूर्ण रुपमा स्वस्थ हुनकालागि मनको गहिराईमा घाउ बनेर बसेका पिलोहरुलाई निर्चोनुपर्छ जुन तिमीले शुरु गरिसकेकी छ्यौ । तिमीले न्याय पाएपछि दोषि दण्डित मात्र हुंदैन, सम्भावित अपराधबाट हाम्रा छोरीहरुलाई जोगाउन मद्धत हुन्छ ।

घटनाका प्रत्यक्ष/अप्रत्यक्ष जानकारहरु,
तपाईंहरुले त्यस बेला सुस्मिताले सहयोगको याचना गर्दा जुन शून्य संवदनशिलता प्रर्दशन गर्नुभयो, त्यो अक्षम्य गल्तीलाई सुधार्ने मौकापनि यही हो । कृपया सुस्मितालाई साथ दिनुहोस् । होटलमा लेमोनएड दिने वेटर, पाण्डेको कार्यालयका कर्मचारीहरु, एसबि वेभ टेक्नोलोजीका मेम्बर्सहरु, सुस्मितलाई चिन्ने कलेजका साथीहरु, प्लिज, सुस्मिताकालागि आफ्नो अन्तरमनको आवाज बोलिदिनोस् । तपाईंहरुको आवाजपनि यो अपराध विरुद्धको बलियो प्रमाण बन्न सक्छ । यसो गर्नुभयो भने सुस्मिताले सहयोगको याचना गरिरहेको सहयोग गर्न आवस्यक नठानेको तपाईंलाई तपाईंकै आत्माले क्षमा दिन सक्नेछ ।

साथीहरु,
आउनोस्, उनलाई अझै बोल्ने हौसलाको साथ दिऔं । हामीले साथ दिएनौं भने पीडितको साहस घट्नेछ । पिडकहरुको मनोवल बढ्नेछ । अनि हाम्रा नानीहरु यस्तै हिंसाका शिकार हुनेछन् । त्यसैले अब बोलौं ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com