एक पराजित उम्मेदवारको ‘दर्द भरी’ कहानी !

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार ०७:३४

*संप्रस पाैडेल, हेटाैंडा

नमस्कार 🙏 म भस्मासुर । आजकाल नमस्कार गर्न पनि मन लाग्दैन । गरे पनि कसले पत्याउनु ? सुण्ड, मुण्ड, गुण्डासम्मलाई नमस्कार गरियो । छुटेका आफ्नै बाआमा मात्रै हुन् । लाउकेदेखि ठ्याउकेसम्मलाई अंगालो हालेर हिँडियो । ‘ब्राण्डेड ख्वाउनोस्, भोली हजुरलाई बोक्नुछ’ भन्नेहरूसँग मीत लाएर प्रचारप्रसारमा ग‌इयो । जनता बाठा भ‌एछन्, तिनले जे देखे त्यही पो भ‌इयो ।

भन्नेले त मासुभात खुवाएर पनि हार्‍यो भने । खासमा मासु भात मात्रै नभ‌एर अचार, सलादको व्यवस्था पनि थियो । मासु नखानेलाई पनिर पनि छँदै थियो । जनताले मासुभातकै व्यवस्था मन पराए त के गर्नु ?

जनता पनि कसका पो जनता हुन् कुन्नी । १५ दिनसम्म घरमा चुलो बन्द गरेर मेरोमा मासुभात हसुरेपछि भोट हाल्ने लाइनमा देख्दैदेखिनँ । बल्ल थाहा भयो, भोटर लिस्टमा त नामै रहेनछ । ती जनता नभ‌एर अन्तका परेछन् ।

जित्नेले खुवाएकै हुन् हुन त । टोलमा खसी अभाव भ‌एपछि दुई छाक कुखुरा खुवाएको थिएँ । त्यसकै प्रभावले हारिएको हुनुपर्छ । सोही झोकमा हरूवा पार्टी पनि खुवाएँ । भोट हाल्ने, नहाल्नेदेखि लालाबालासम्म आएर रमाई रमाई खाए र आउँदो पटक जिताउँनुपर्छ भन्दै बेलुकी के खाने भन्दै सपेटो बोके, कुले ठोके ।

आजकाल चोकचोकमा सुन्छु हारको कारण त मासुमा नुन चर्को भ‌एर अरे । तेल बढी थियो अरे । रोस्ट अली डढेको, मासु अली गलेको अरे ।

भोट नहाल्ने छरछिमेकलाई चिन्दै चिनिनँ, तिन्का आँगनमा हिँड्दै हिँडिनँ । बरू झुक्किएर बाटाको कुकुरलाई ‘नमस्कार एक भोट मलाई है’ भनेँ हुँला । सँधियारलाई केही सोध्दै सोधिनँ । तिनकै श्राप लाग्यो कि क्या हो ?

चारपटीका भाडाका मान्छे जम्मा गरेँ, पेट्रोल, रक्सीका बोत्तल, खाममा पैसा बाँडे, टट्टुहरूका बुई चढेँ, अनी आफैँलाई भासमा गाडेँ । मसँग रहुञ्जेल ‘जीत हजुरकै हो’ भन्दै गीत गाए, सहरको एउटा घडेरी तिनै सलहहरूले खाए ।

जङ्गलमा बाँदर र तस्करलाई पूल हाल्थेँ, डाँडो खन्थेँ आफ्नै रित्तो भाँडो भर्थे, बगरका ढुङ्गा गन्थेँ, माटो बेच्थेँ, आफू बन्थेँ, आउँदो पटक पालिका, संसद हुँदै मन्त्री पद पड्काउँथे । त्यसपछि गाउँमा आउँन मुन्टो कर्काउँथे ।

जनताहरू विकास नपाएर प्याकप्याक भ‌एका छन् । गरीबका नाउँ गरेर आफ्नै गुठीयार, मोही, गोठालोलाई अर्को चुनावनजिकमा पैसा बाँड्थेँ । यस्ता यस्ता महंगा सपनाको र्‍याल काढ्थेँ । चुनाव हारियो, हारको किरिया‌ बारियो । धेरै दिनदेखि भोकमा छु, झोकमा छु, शोकमा छु ।

यता चिमोट्छु, उता निमोठ्छु । चुनाव त हारेकै हो, अक्क परेको छु, बक्क परेको छु । कसैले ‘चुनाव’ नाम मात्रै लिँदा पनि अगुल्टै सम्झिन्छु ।

झोक्राएको देखेर पत्नीकै सल्लाहमा झाँक्रीकहाँ पुगेँ र भनेँ “लौ न धामी बा, विदेशी लाग्यो कि नेपाले लाग्यो ? पश्चिमा जाग्यो कि पूर्विया जाग्यो ? मलाई निको गर्दिनु पर्‍यो ।”
झाँक्रीले फ्याट्ट बोले “बाबु आज एउटा कुखुराको भाले, भोली कालो बोका, पर्सी राँगाको बली दिनुपर्छ ।”

जता ग‌ए नि खसी, बोका, कुखुरा । अब अर्को घडेरी बेचेर भ‌ए पनि उपचार त गर्नै पर्‍यो । नत्र दुनियाँलाई भस्म पार्ने म, आफैँ भस्म हुन कति बेर ? एउटा घडेरी त्रिपन्ताम्, त्रिपन्ताम् अर्को घडेरी जोगाम् जोगाम् ।
जय सिस्नुपानी ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com