‘मेयरलाई ‘साप’ नभन्नु, डस्न जितेको होईन !’- धरान अपडेट

प्रकाशित मिति: २७ जेष्ठ २०७९, शुक्रबार ०८:०६

भवानी बरालटुबोर्ग साँइला
हर्कपुर, धरान ।



समय : मध्यान्न २ बजी
तिथीमिती : उखर्माउलो जेठ २६ गते, रोज ५ शूभम् ।
स्थान : धरान, खहरेको डील ।
चुनाउपछि धरान उप–महानगरपालिको पहिलो बैैठकमा ढुंगा, मुढा, गिट्टी, बालुवाको कुरा उठेपछि बैठक उठाउठ भयो । रोज २ को पहिलो बैठक विना निश्कर्ष यसरी टुंगिएको थियो । अर्को बैठक रोज ५ लाई तोकियो । तर, रोज ५ को बैठक अगाडि नै एक हुल मनुवाले नगरपालिकाको अगाडि धर्ना दिँदै तथानाम नाराबाजी गरे । नाराबाजी अलिक मांसाहारी थिए ।

खोलाखाली हेर्ने तम्रा आँखा,
फुटाई दिउँला देखा जाला ।

सर्दू, खर्दू, सेउती, अंधेरी, सेरा
धराने जनता भन्छन सबै मेरा ।

खोला पस्नेका नली, हस्ती हाड
फुस्काई दिन्छौं तम्रा बञ्चरे ढाड ।


यस्तै बोलका मांसाहारी नारा सुनेपछि नगर सदस्यहरु बैठक कक्षमा आउन त्राहिमामा भए । जिन्दगानीमा पहिलो पटक बैठकको ‘लाईभ’ चित्र प्रदर्शन गर्न पाएर हौसिएका पत्रकार भने निरास देखिन्थे । व्यवसायिक पत्रकारहरु पनि के कम उपाय झिकी हाले । अब नगर प्रमुखको लाइभ दिएर आजको मेलो सार्ने ।

सबै पत्रकार नगर प्रमुखको कार्यकक्षमा छिरे । धुमधुम्ती बसेका नगर प्रमुखको अगाडि बुम तेर्साउन थालिहाले । धेरै ‘मोबाइल पत्रकार’ले खल्तीबाट मोबाइल झिकेर प्रमुखको टेबल मै घ्याक पसारेर प्रमुखलाई ताके ।
यतिकैमा अलिक बटारिएका जस्ता लाग्ने ‘मेनलाइन मिडिया’का पत्रकारले सोधे, ‘मेयर साप, के भयो यस्तो ? किन भएन बोर्ड बैठक ?’

यसपछि यसरी सुरु भयो प्रमुख हर्कराज र पत्रकारको आँखो देखा वार्तालाव ।
मेयर : ‘तिम्रो पहिलो प्रश्न नै गलत छ । म साप हैन । जनताको हर्क राज हुँ । यसअघिका मेयर साँप जस्ता थिए । घरबाट निस्कनासाथ भित्रभित्रै सुरुङ बनाएर खोलामा पुग्थे । खानेपानीको मुहानमा पुगेर पानी रित्याउँथे । यता धराने भने काकाकुल । त्यही भएर म जनताको हर्क बढाई गर्न आएको हुँ । म साँप हैन । म नगरवासीलाई डस्दिन । तिमेर्ले अस्ति लाइभ गरेपछि बाहिर जनताजनार्दन तिनै साँप, छुचुन्द्रालाई ढुंगामुढा गर्न आए । अनि बैठक छोडेर भागे मुर्दारहरु ।’

पत्रकार : ‘वास्तवमा ढुंगा, गिटी, बालुवा कै कुराले नै बैठक रोकिएको हो ?’
मेयर : ‘हो ठीक भन्यौ । बोर्डका साथीहरुलाई मैले भनेँ, ढुंगा, गिटी, बालुवा नखानु । ढुंगा, गिटी खाँदा ‘पत्थरी’ नामको रोग लाग्छ । अप्रेसन गर्दा धेरै खर्च हुन्छ । उता वीपी अस्पतालमा पत्थरी निकाल्ने मेशिन विग्रेको छ भनेर लाख सम्झाएँ मरे मान्दैनन । तिमेर्ले नै सम्झाउ, तिमेर्कै पार्टीका नेता होलान ।’

पत्रकार : ‘ढुंगा, गिटी, बालुवा कै कुराले बैठक रोकिएको हो ?’
मेयर : ‘तिमेर्लाई के लाग्छ ? मलाई किन प्रश्न सोध्छौ । तिमेरु धरान कै हैन ? यति कुरा पनि थाहा छैन भने के पत्रकारिता गरि खान्छौ ? म कहाँ आउँदा प्रश्नको उत्तर पनि लिएर आउनु । मेयर भनेको नगरको ‘हेड सर’ पनि हो । म तिमेर्लाइ ‘होम वर्क’ दिन्छु । अर्कोपल्ट म कहाँ सोध्न आउँदा मलाई के सोध्ने हो, त्यसको उत्तर पनि लिएर आउनु । मलाइ पहिले प्रश्न सोध्नु, अनि खरर् उत्तर आफै दिनु ।’

यतिकैमा उपस्थित पत्रकारहरु मुखामुख गर्न थाले । सबै पत्रकार कुनै औपचारिकता बेगर नै आफ्नो सर्दाम पोको पारेर कुलेलम ठोके ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com