एमालेमा चुनाव समिक्षा बैठक : ओली ‘बा’ले यसरी फायर खोले…

प्रकाशित मिति: २८ जेष्ठ २०७९, शनिबार १२:५१

टुबोर्ग साँइला
हर्कपुर, धरान

विषय : ‘बा’माले, चुनाउ समिक्षा ।
वतन : विराटनगर
तिथिमिती : २७ जेठ रोज ६ शूभाय, शूभम् ।

चर्को गर्मागर्मीको बीच चुनाउ समिक्षा बैठकले औपचारिकता पाउँदै गयो । ‘बा’जन्य कार्जेकर्ताले हल भरिँदै थियो । बैठक सञ्चालकले कार्जेक्रमको नमूना प्रस्तुत गरे । सबैभन्दा पहिले काजेँकर्ताले ‘बा’ लाई प्रश्न ‘रिटेल’मा राख्ने, त्यसपछी ‘बा’ले ‘होलसेल’मा उत्तर दिने । यतिकैमा कार्जेकर्ताले खासखुस गरे । र, सबै ‘रिटेल’ प्रश्नलाई संश्लेषण गरेर एउटै ‘डिटेल’ र जटिल प्रश्न सोधे, ‘बा, हामी चुनाउमा कसरी गोलखाडी खायौं ?’

अब सिधा प्रश्नको खसोखास जवाफ दिन ‘बा’लाई बैठक सञ्चालकले जाहेर गरे । ‘बा’ले केहीबेर आँखीभौं तन्काए । चस्माको माथिल्लो डीलबाट हलका कार्जेकर्तालाई नियाले ।

र भन्न थाले, ‘तिर्मेलाई नेपाली बर्णमाला थाहा छ की छैन ? नेपाली वर्णमालाको क्रमानुसार ‘क’, ‘ख’, पछि ‘ग’ आउँछ । यसपटक यही ‘ग’ वर्णानुक्रम अनुसार ‘गठबन्धन’ भयो । त्यसैले हमी हार्यो । ‘ग’ पछि के आउँछ ? ‘घ’ आउँछ । तरै पनि गठबन्धन जहीँतहीँ भएन । यसैले गठबन्धन हाम्रो घुँडासम्म मात्र आइ पुग्यो । कथम्कदाचित पुरे गठबन्धन भएको भए घाँटीसम्म आउँथ्यो ।

र, सत्यानास यसैपटक हुन्थ्यो । कहिलेकाहीँ त मलाई ठोरीका रामले घाँटीसम्म आउनबाट बचाएका हुन की जस्तो पनि लाग्छ । नत्र हेर त ‘ग’ बाट आउने त ‘घ’ नै हो । घाँटीमा आउन पनि सक्थ्यो । तर घुँडासम्म सिमित भएकोले हाम्रो चोला रह्यो । यसर्थ तिमेर्ले अब ‘जबज’ पढ्ने हैन । ‘कखग’ पढ्नु पर्छ । ‘ग’ बाट ‘ख’ मा फर्किनु पर्छ र अरुलाई ‘ख’ माने खत्तम बनाउनु पर्छ । अनी ‘क’मा पुगेर कसैलाई बसी खान न उठीखान दिनु हुँदैन ।’


यसैपनि बाको प्रवचन मन नपराउने विरलै हुन्छन् । त्यहीँमाथि ‘बा’ कै कार्जेकर्ताको ध्यानाकर्षण नहुने कुरै भएन । कार्जेकर्ता कुनै महागुरुले धार्मिक प्रवचनमा जस्तो एक टंकार ध्यानमग्न थिए ।

चतुर बाले नबुझ्ने कुरा भएन । यस्तो मौका किन छुटाउँथे । जोस्सिदै फेरि भन्न थाले, ‘बामालेको बराबरी छु भन्ने सपना नदेखे हुन्छ । तर, के गर्नु एक्लाएक्लै कोही आउँदैन । धुर पसेर आउँछन् । धुर पसेर आएपछि त बाख्रादेखि ब्वाँसो पनि भाग्छ । बामाले जत्रो भए त यिनले माडीमैदान गर्थे होलान । हिटलरले यहुदीलाई गरे जस्तै ।

हामी जुठो पुरो नखाने धर्मका पार्यौं । जुठो गाँस हामीलाई रुच्दैन । त्यही भएर पो । नत्र एक्लाएक्लै धुलोपीठो पारिदिन्थ्यौं । तर, अहिलेसम्म एक्लै लड्दा पनि हामी लोकप्रिय उप–विजेता हौं नै । उहिले नै उहिले शुशिल कोईरालाले ‘उ’ गरेपछि ‘ऊ’ हुन्छ भन्थे । त्यस्तै भयो । वर्णमाला अनुसार ‘ग’बाट अगाडि बढ्यो भने ‘घ’बाट घुँडा हुँदै घाँटीसम्म पुग्न बेर छैन । ‘ङ’मा त पुग्नै दिनु हुन्न । ङ्याकी हाल्छन । ‘च’मा पुगे चोर भनेर लखेट्छन् । ‘छ’ मा पुग्दा त छ्याल्लब्याल्ल । यसकारण ‘जबज’ छोडेर ‘कखग’ तिर फर्खन कणहरुलाई म निर्देश दिन्छु ।’

*डिस्क्लेमर–
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com