थाप्रपामाथी ‘टुर्बोग साईंला’को एक पेग टकिला !

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आईतवार १०:११

-टुबोर्ग साँइला (हर्कपुर) धरान ।

पहिलो बयान : थाप्रपा लिप्रपा भएपछि
गएको फागुन महिनाको कुरा हो । कमल थापाले राप्रपालाई आफ्नै घरेलु उद्योग ठानेर थाप्रपा (थापाको प्रजातन्त्र पार्टी) बनाउन खोजेका थिए । तर, राजेन्द्र लिङ्देनले उनको सपना चकनाचुर बनाए । कमल थापाकृत थाप्रपालाई आफ्नै स्वामित्वको लिप्रपा (लिङ्देनको प्रजातन्त्र पार्टी) बनाउन सफल भए ।

काजीको थाप्रपा, लिप्रपा भएपछि काजीलाई सन्निमै लागे जस्तो हुनु अस्वाभाविक भएन । रननन रन्थनिँदै हान्निए पूर्व हिलेतर्फ आर्गेनिक तोङ्वा तान्न ।

कमल थापा तोङ्बा तानेर ‘डिप्रेसन’ भगाउँदै थिए । त्यत्तिनै खेर लाक्पा तामाङ टुप्लुक्क काजीका अगाडि देखा परे । काजी सापलाई दर्शनढोग गरे । र विन्ति विसाए, ‘हजुरको नासो मैले राखेको छु ।’ थापा काजीलाई ढुंगा खोज्दा सिलाजित भेट्टाए जस्तै भयो । के खोज्छस् कानो ? आँखो भन्दै तोङ्बाको अर्को सर्को ताने । मनमनै ‘गलबन्दी लिस्यो, पछयौरी दिस्यो’ बोलको गीत गुन्गुनाउँदै रमाए ।

रात साँझ गरेर काठमाण्डु फर्किए । भोली पल्ट प्रजातन्त्र दिवसको अवसरमा नन्दी भृङगी जम्मा पारेर घोषणा गरे, ‘थाप्रपा फेरी भेट्टिएको छ । लाक्पा तामाङले मेरो नासो फिर्ता दिस्यो ।’ उता तामाङले पनि सगौरव भने, ‘मैले अनेक धुपधुँवार लगाएँ, आफ्नै नामको लाप्रपा (लाक्पाको प्रजातन्त्र पार्टी) बनाउने आफ्नै थर मुताविक ताप्रपा (तामाङको प्रजातन्त्र पार्टी) बनाउने लाख कोसीस गरेँ । तर मेरो केही सीप लागेन । अनि काजी सापले मलाई केही गेडी दिस्यो । त्यसको बदलामा मैले पनि भनेको हुँ, हजुरको नासो लिस्यो ।’


दोस्रो बयान : सय मुसा खाएर हज
यता काजी सापले माईला सर्खार ज्ञानेन्द्रको नासो भने फिर्ता गर्न भ्याइसकेका थिएनन् । यतिकैमा स्थानीय तहको चुनाउले झ्याप्प छोपी हाल्यो । थाप्रपा मार्काको तीर लिएर देशव्यापी दौडाहा गर्दा पनि कतै सिकार जुरेन । सूर्य मण्डलीसंगको गठबन्धनले पनि खालो सारेन । तब त के थियो पार्टीमा समिक्षा भयो । समिक्षामा खुट खबर बुँदागत निस्कियो ।

१. निर्मल निवास सचिवालयका कारण राजतन्त्र स्थापना समाप्त पारेकोले ।
२. पारस जस्ता हुर्दुङगेलाई राजा बनाउने प्रस्ताउ विफल हुने भएकोले ।

अन्त्यौली
तब त के थियो, राजतन्त्र स्थापना हुने सम्भावना नभएको भन्दै थाप्रपाका काजीले घोषना गरे, ‘राजतन्त्रको एजेण्डा माईला सर्खारको नासो माईला सर्खारलाई नै भर भन्देखुन जतिसक्दो चाँडो फिर्ता गर्ने । यसको बदला हिन्दू राष्ट्र र धर्म निरपेक्षमा जनमत संग्रह गर्ने भँर भन्देखुन पार्टीको नीति हुने । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक चुनाउ प्रनालीको भँर भन्देखुन ख्याली पुलाउ पकाईने छ ।’
‘सौ चुहा हजम’ गरेर बिरालो हज गर्न गएजस्तै यसरी काजी पनि निकट भविष्य मै गनतान्त्रिक मक्का मदिना जाने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com