कसैलाई केको धन्दा, घरज्वाईंलाई चुनाव महँगो भएको चिन्ता !

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार ११:४२


सुरेश किरण


नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले जनयुद्ध ताका जम्मा पार्नुभएको आफ्नो ढुकुटी अहिले सुक्दै गएको चाल पाउनुभए जस्तो छ । अस्ति एउटा कार्यक्रममा बोल्नुहुँदै उहाँले भन्नुभएछ- ‘अहिलेको चुनाव प्रणाली साह्रै महँगो छ, पैसा नहुनेले चुनाव लड्न गाह्रो छ ।’

ढुकुटी सुक्दै गएपछि उहाँलाई चुनाव महँगो हुन थालेको याद भएछ । नभए त यस्तो चुनाव उहाँले कतिपटक लड्नुभएकै हो । तीन चारवटा चुनाव लडिसकेपछि बल्ला उहाँलाई थाहा भयो- ‘चुनाव त महँगो रहेछ गाँठे !’

पहिल ढुकुटी भरिभराउ थियो, महँगो याद भएन । अहिले ढुकुटी सुक्दै गएपछि महँगो महसुस हुन थालेछ । कमाल छ ।

कमरेड प्रचण्ड पर्नुभयो नेता । अझ ठूला नेता । नेताको ध्यान चुनाव बाहेक अर्को कहीं पनि पर्दैन भन्थे, हो रहेछ । त्यही भएर उहाँलाई चुनाव मात्रै महँगो भएको थाहा भयो । अर्को महँगो भएको थाहै भएन । देशमा चुनाव मात्र होइन, खाद्यान्न पनि महँगो भइरहेको छ । तर, प्रचण्डलाई थाहा छैन ।

देशमा पेट्रोल महँगो भइरहेको छ, शिक्षा महँगो भइरहेको छ, स्वास्थ्य महँगो भइरहेको छ । महँगीले जनता जिउन समेत नसक्ने अवस्थामा पुगिसकेको छ । तर, कमरेड प्रचण्डलाई यति धेरै महँगीको ज्ञान भएन । चुनाव महँगो भएकोमा चिन्ता भइरह्यो । कमरेड, चुनाव महँगो भएर जनतालाई केही फरक पर्छ ? जनतालाई परेको महँगीमा ध्यान खोइ ?


(जनआस्था साप्ताहिकबाट)

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com