ठेकेदारहरु चुनाव लड्दै, चुनाव चिन्ह भत्केको बाटो !

प्रकाशित मिति: ६ भाद्र २०७९, सोमबार १०:१२

-सुरेश किरण

सुरेश किरण

निर्वाचन आयोगले चुनावबारे नयाँ नियम बनाएको छ– ठेकेदारले चुनाव लड्न पाइँदैन । जो ठेक्कापट्टा जस्तो पेशामा लागेको छ ऊ चुनावमा उम्मेदवार बन्न पाइँदैन । निर्वाचन आयोगको यो नियमबाट थाहा भयो कि अब ठेकेदारहरूले उम्मेदवार चाहिँ उठाउन पाइन्छ, आफै उम्मेदवार बन्न पाइँदैन ।

निर्वाचन आयोगको यो नियमबारे ठेकेदारहरू के भन्छन् त ? म ठेकेदारहरूको प्रतिक्रिया बुझ्ने बिचारमा थिएँ, ठ्याक्कै एउटा ठेकेदार बाटोमा भेट भयो । मैले पक्रिहालेँ, ‘ओ ठेकेदार साब ! कता हो ? उनले भने, ‘निर्वाचन आयोगतिर जान लागेको ? चुनावको तयारी गर्नुप¥यो नि ।’

मैले भनेँ, ‘केको चुनावको तयारी ठेकेदार साब ? ठेकेदारहरूले त चुनाव लड्न पाइँदैन भनेर नियमै आइसक्यो नि होइन ?’
‘त्यो त हो,’ उनले सहज रुपमा भने, ‘तर म त ठेकेदार होइन नि ।’ ‘हाँ ?!,’ म छक्क परेँ, ‘ठेकेदार होइन रे ? अनि किन ठेकेदार साब भनिएको नि तपाइँलाई ?’

उनले भने, ‘नाम ठेकेदार हुँदैमा काम पनि ठेकेदारै हुनुपर्छ भन्ने छ र ? मेरो घरमा जम्मै ठेक्कापट्टाको काम गर्छन् । म चाहिँ गर्दिन । मेरी श्रीमती ठेकेदार हुन्, छोराहरू दुवै ठेकेदारीकै काम गर्छन्, भाइहरू पनि ठेक्कापट्टा नै गर्छन् । अझ ज्वाइँहरू पनि ठेकेदारी नै गर्छन् । तर म चाहिँ गर्दिन । म त यस्तै राजनीति–साजनीतिमा रुचि भएको मान्छे, त्यही गर्ने हो । अब मेरी बुढीहरू ठेकेदारी गर्छन् भन्दैमा मलाई चुनाव नउठ् भन्न पाइन्छ ?’

ठेकेदार साबको प्रश्न सटिक लाग्यो । तर यो प्रश्न मलाई हो कि निर्वाचन आयोगलाई हो त्यो भने थाहा हुन सकेन ।

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)


(‘जनआस्था’ साप्ताहिकबाट)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com