नेपाली नर्स उद्योग !

प्रकाशित मिति: ८ भाद्र २०७९, बुधबार ११:३४

सुरेश किरण

नेपाल सरकारले हालै मात्र बेलायतमा नर्स पठाउने निर्णय गरेको छ । यसलाई एक हिसाबले निर्यात भन्दा पनि हुन्छ होला । नेपालमा उत्पादन हुने निर्यातयोग्य ‘वस्तु’ यही एक थोक त छ । अरु त जम्मै आयात मात्रै हो । आखिर नेपालले पनि केही निर्यातयोग्य सामग्री उत्पादन गरिरहेको छ, यसमा खुशी नै मनाऔँ ।

नेपालमा उत्पादित नर्सहरु बेलायत पठाउने यो निर्णयले नेपालको ‘नर्स उद्योग’ उत्साहित नै भएको हुनुपर्छ । यसबाट भविष्यमा नर्स उत्पादन गर्ने उद्योगमा लगानी गर्न व्यापारीहरु अझै हौसिएको हुनुपर्छ । नेपालमा जतिसुकै नर्स उत्पादन भए पनि नेपाल भित्र त्यसको बजार नै छैन । बजार जति विदेशमा हो । अतः विदेश निर्यात नगरी सुखै छैन ।

अब नेपाल सरकारले पनि नर्स निकासीमा रुचि देखाएपछि यो उद्योग फस्टाउने स्वाभाविक भइहाल्यो । बेलायती बजारमा नेपाली नर्सको माग भए जस्तै शायद अब अमेरिका, जापान, क्यानाडा लगायत युरोपका अन्य देशहरुमा पनि हुन्छ होला । किनभने नेपाली नर्स उच्च गुणस्तरको हुन्छ । विदेशी प्रविधिबाट उत्पादन गरिएको हुन्छ । यो बलियो र टिकाउ पनि हुन्छ । जतिसुकै ठूलो गर्मी, जतिसुकै ठूलो जाडो र जतिसुकै ठूलो शोषण पनि यसले मजाले झेल्न सक्छ ।

त्यही भएर पनि विदेशमा यसको ठूलो माग हुने गर्छ । नेपाली नर्सहरु बेलायत निर्यात गर्ने सरकारको यो निर्णयले अब देशमा अझै बढी नर्स उत्पादन गर्ने कारखानाहरु खोलिन्छ होला । जे हास्, मुलुक औद्योगिकरणको दिशातर्फ लागिरहेको संकेत यसबाट मिलेको छ । छैन र ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

Suresh

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com