हेटौंडाको अर्ग्यानिक हास्यव्यङ्ग्य, गाला पड्काई पड्काई हाँस्नाेस् !

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहीबार १९:१८

संप्रस पाैडेल, हेटाैँडा

मकवानपुरे काका जहिल्यै भाइरल
बासँग छुट्टिएपछि काका एकाएक मालामाल भए । सांसद मात्रै थिए मन्त्री नै भए । हुन त काका मन्त्री भएका पहिलो पटक हो तर मन्त्रीभन्दा ठूला आश्वासन दिनमा भने बाले पनि काकासँगै सिकेका हुन् भन्थे ।

आजकाल काका भाइरल हुने काम मात्रै गर्छन् । मन्त्री भएपछि पनि खरीद काण्डका अनेकन आरोप हाकाहाकी स्वीकार्छन् । जङ्गली जनावर जोगाउँन जाँदा पहिले पहिले त्यसकै मासु चिरिप्प पारेको भन्छन् । त्यसो त काका पहिले पनि भाइरल नै थिए ।

चुनावका बेलामा मात्रै गाउँ पस्ने काका राप्ती खोलामा परालको लठ्ठा भए पनि झुण्ड्याउँछु भनेर पुलको सपना देखाएर पाँच तियाँ पन्ध्र वर्ष त सांसद नै भए ।

अली पूरानो कुरा हो, एक दिन काकाले गफै गफको मेसोमा गफ पेलेछन् ।
काकाः हेर साथी हो, आज मर्निङ् वाकमा जाँदा सिमलको रुखको टुप्पोमा बसेर गाईले घाँस खाँदै थियो ।
साथीहरूः त्यसो त होइन होला काका ।
काकाः मेरै आँखाले देखेको । पत्याउँदैनौ ?
साथीहरूः (मध्ये एकले भने) ए हो हो काका । मैले पनि देखेकै हो । गाईचाहिँ सेतो थियो हैन त ?

काकाः होइन होइन । कालो पो थियो साथी हो ।
साथीहरूः ए हो क्यार । मेरो आँखा अली कमजोर हुँदैगाछ क्या । तर गाई त देखेकै हो काका ।
तात्तातो कुरा, चुनावी सभामा जाँदा काकाले पिटाइ खाएछन् अनि खाएनछन् पनि । एकैपटक दुई काम गर्न सक्ने काका भाइरल नहुने कुरै भएन ।

प्रमोद खरेलको गीत “गाला रातै गाला रातै गाला रातै” भनेजस्तै रातो तातो गाला देखेर एकाथरी कार्यकर्ताले सोधेछन्- “पिटाइ खाएको हो काका ?” काकाले होइन भनेछन् । एकाथरी मिडियाले समाचार छापिहाले । तुरुन्तै अर्काथरीको पालो आयो । त्यो सुनिरहेका उनीहरूले सोधेछन्- “काका पिटाई खाएको होइन नि है ।”

उनले थपेछन्- “कहाँ नहुनु ? गाला देख्दैनस् ?” प्रहरीले त्यही समाचार पायो र अर्काथरी मिडियाले समाचार छापिहाले ।
यता समाचार पढ्नेलाई बुझिनसक्नु छ । पिटाई खाएको हो, पिटाई खाएको होइन । काकाको हो र होइन भन्ने बानी यसमा अनुभवी ठूलाबाबाटै सिके होलान् ।

आजकाल ठूलाबा विनाढेउवाके फिरी बजाएर भोट मागी हिँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com