‘दहाल आमाका मावली, लिङ्देन मितेरी कुम्बा, लामिछाने साख्खै सगोत्री, ओली हजुरबाका जजमान !’ -गजुReal Roast

प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार ११:१८

(Pic : social media)

प्रचण्ड मामा (हाम्री आमाका दाहाल मामाका नाती) प्रधानमन्त्री बन्नुभएको छ । केपी बा (मेरा बुबाका जजमानका जेठा छोरा) ‘रोल ओभर प्राईम मिनिस्टर’ हुनुहुन्छ । बिष्णु पौडेल मावली काका (बुबाका मामा पौडेलका छोरा) ले अर्थ मन्त्रालय पाउनु भएको छ ।

राजेन्द्र लिङ्देन कुम्बा (थापा मितबुबाका साख्खै ज्वाईं) उपप्रधानमन्त्री हुनुभएको छ । रबी दाई (गजुरेल-लामिछने सगाेत्रिय सम्बन्ध) गृहमन्त्री हुनुहुन्छ । देवराज अंकल (साईली काकीका फुपुका छोरा) सभामुख बन्नु भएको भएको छ । सुवास नेम्वाङ क्वादरे (फुपाजु) (याक्थुम्बा-पेनिवा मितेरी साईनो) राष्ट्रपति बन्ने सम्भावना छ ।

एवं रितले अन्य थुप्रै आफन्तहरु माननीय, मन्त्री हुनु भएको छ । धेरैजना राजदुत, दराजदुत, नियुक्ती, feeयुक्ती खाने क्रममा हुनुहुन्छ ।

समग्रमा भन्नुपर्दा यो मेरो आफन्तै आफन्तको सरकार हो । त्यसैले यो सरकारलाई सघाउनु मेरो नैतिक दायीत्व हो । त्यसैले यो कार्यकालभरी कुनै कुनैपनि मन्त्रीलाई सोर्स/फोर्स, लोभ/लाभ, दबाब/प्रभावको काम लिएर म कहिल्यै तपाईंलाई भेट्न जाने/आउने छैन ।

त्यसैगरी अनावश्यक आउजाउले यहाँहरुलाई काम गर्न ‘डिस्टर्ब’ हुन्छ । म कहिल्यै सम्बन्धको दुरुपयोग गर्ने छैन । यो भन्दा ठुलो सहयोगको बाचा के हुन्छ ?

यसअघि पनि ‘स्थायी सरकार’ ल्याएर स्थीरता दिने भन्नुभयो । होला त नि भन्दै ‘करियर धरापमा राखेर’ झन्डै दुई तिहाई भोट मागिदिएकै हो । थुप्रै श्रष्टाले चुनावमा शान्ति र स्थायीत्वको लागि लाल सलाम, जय नेपाल, जय मधेश, जय नरेस भन्दै कुदैको हो !

पचाउन सक्नु भएन । बचाउन सक्नु भएन । मिलाउन सक्नु भएन । चलाउन सक्नु भएन । सम्हाल्न सक्नु भएन । उम्लिनु भो । पोखिनु भो । डढ्नु भो । डढाउनु भो । बल्ल बल्ल उभिएको घर आफैं लडाउनु भयो !

अहिले नयाँ युवाजोश देखाउनु भएको छ । होस सम्हालेर जोस देखाउनु होला । बेहोशमा बोल्दा बेला नपुग्दै खोसिनुहोला । राम्रो गरे राम राम भनौंला । नगरे कठै ! बाबुराम भनौंला ।


बस्, जनतालाई दिएका बाचा नबिर्सनोस् । आश्वासनमा नअल्झनोस् । स्टन्ट हैन, एक्सनमै जानुहोस् ।

फोन गरेर चाकडी पनि गरेन । फुल लिएर भेट्नपनि आएन । भाउ खोज्यो भनेर नरिसाउनुहोला । मेरो बानी-ब्यहोरा नै यस्तो हो ।

तपाईंको कार्यकाल सकिएपछि त्यही बाजेको चिया पसलमा मिठो चिया खाँदै बात मारौँला । यति अनुरोध छ- ‘तिमेर्ले समर्थन गरेकाले आखिर देखाईदिए हैन त ?’ भनेर जनताले हामीलाई उल्लीबिल्ली पार्दा मेरो गहुँगोरो अनुहार हरि…यो नहोस् । -मनोज गजुरेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com