जंगे माैसुफलाई महारानीको प्रेमपत्र : ‘हजुर मेरो ध्रुवे हात्ती हो, सातजुनी माउते हुन पाउँ !’

प्रकाशित मिति: ५ फाल्गुन २०७९, शुक्रबार १७:४७

[आफुहरुको सातौं विवाहोत्सवको सुअवसरमा खतरी अधिराज्यकी जेठी महारानी श्रीमती परमिला राज्यलक्ष्मी देवी खत्रीज्युले आफ्ना पति परमेश्वर महाराज श्री जङ्गे मौसुफका जुनाफमा चढाईबक्सनु भएको प्रेम-पत्र]

(-श्यामजंग खत्री ‘जगे मौसुफ’)

मेरो अन्तरमनको मृगौला…जङ्गे मौसुफ !
सेतीको खोचभन्दा गहिरो, यतीको उडानभन्दा खतरा, चुच्चे नक्साभन्दा लामो, भ्रष्टाचारभन्दा बलियो माया😍

हामीले खत्री अधिराज्यमा राज्यभिषेक गरेको पनि ७ बर्ष पुगेछ । यी ७ बर्षमा हजुरले मलाई पृथ्वीनारायण शाहजस्तै सुन्दर युवराज दिईबक्सियो । प्रजातन्त्रजस्तै स्वतन्त्रता प्रदान गरिबक्सियो । सन्दीप लामिछानेजस्तै मनको जेलमा राखी बक्सियो । यसकालागि हजुरका चरणकमलमा सास्टाङ्ग लम्पसार पर्दछु ।

ख्वामित,
यस अधिराज्यमा मकन यतिधेरै अधिकार दिईबक्सियो कि मलाई डर लाग्छ, कतै यो अधिकारलाई मैले गणतन्त्रजस्तो छाडा त बनाईनँ ? हजुरको मायालाई संघीयताजस्तो निल्नु न ओकल्नु त पारिनँ ? रबी लामिछानेलाई जस्तै छोड्नु न समाउनु त गराईनँ ? भुल भए क्षमा पाउ परमेश्वर🙏

हे नाथ !
हाम्रो मिलन राप्रपा र एमालेजस्तो मौसमी हैन, न त दुर्गा प्रसाईं र राजाकोजस्तो हो ! हाम्रो माया त शिव र पार्वतीको जस्तो अलौकिक हो । सुम्निमा र पारुहाङको जस्तो प्राकृतिक हो । रोमियो र जुलियटको जस्तो आधुनिक हो । प्रचण्ड र बाबुरामकोजस्तो गहिरो हो । ओली र ईन्डियाजस्तो पहिरो हो ।

प्रभो !
मलाई आजपनि याद छ, हजुर आफ्ना सेना सहित मलाई माग्न आउनु भएको त्यो दिन ! हजुरले बङ्गाली खैनी च्यापी बक्सेको थियो । दाँत अँगारझैं काला थिए । कपाल जिङ्गरिङ थियो । जिब्रो कोदोको रोटि जस्तो कालाे न कालाे थियो ।

तरपनि बिगौतीजस्तै वास्ना आईरहेको थियो त्यो खैनीमा । खैनी च्यापेको ओठ ब्ल्याक अरेन्जको कालो केश्राजस्तो देखिन्थ्यो । कलौटे दाँत सुरुङमा लुकेका मोतीजस्तो टल्किरहेका थिए । नमिलेको कपालपनि शेरबहादुरको सुन्दर बगैंचाजस्तो लागेको थियो ।

प्राणनाथ !
हाम्रो सम्बन्ध यो युग पटक्कै होईन । त्यस लोकको त झन् होईन । मंसिरे शुक्ल पुर्णिमाका दिन मनकामनामा देखादेख हुनु, स्वस्थानीको साङ्गेका दिन अरुण किनारमा बोलचाल हुनु, अनि शिवरात्रीकै दिन तालतलैयामा बिबाह हुनु ! यो संयोगमात्र होईन । हामी ‘पुरव जनमेँ बिछडे हुए’ लैला-मजनु हुनुपर्छ । नभएपनि द्वापरका राधा-कृष्ण त पक्कै हो । किनकी, हजुरको काले लेकिन दिलवाले स्वभावले यही भन्दछ ।

मेरो त्रिभुवन,
मान्छेले हजुरलाई यस अधिराज्यको महाराजमात्र ठान्लान् । तर, मेरो नजरमा हजुर सत्ययुगको पारुहाङ हो । त्रेतायुगको राम हो । द्वापरयुगको कृष्ण हो । कलियुगको रबि हो ।

हजुर लाखौंमा एक हो । जस्तो कि; भोजपुरको एकमुखे रुद्राक्ष हो हजुर । संखुवासभाको गुजरगानो हो । इलामको अकबरे हो । कोशी टप्पुको जंगली बँदेल हो । चितवनको एकसिङ्गे गैंडा हो । बाहुनडाँगीको अजङ्ग हात्ती हो । त्यसैले अर्को जुनीमापनि हजुरकै माउते हुन पाउँ प्राण ।

महाराज !
हजुरले इटहरीलाई मुकाम बनाएर तालतलैया ससुराली बनाए पछिका बर्षमा तालतलैयामा थामी नसक्नु पर्यटक ओइरिन थालेका हुन् । त्यहाँ हजुरको कहिले नभाचिने फलामको शालिक बनाउने सपना छ । यसकालागि हामीले काजी हेमकर्णलाई आदेश दिईसकेका छौँ ।

श्रीपेच !
अर्को ७०० बर्ष खत्री अधिराज्यमा एकतन्त्रीय शासन चलाउने सपना साँचेकी छु । किनकी हजुर मेरो मुटुको धड्कन हो । कपालको चाया हो । कानको गुजी गुजी हो । मनको मौजी हो । यो दासीको दील नदुखाईबक्सेला ! अर्को जन्ममापनि हजुरकै महारानी बन्न पाउँ । नाइँ नभनीस्यो सरकार🙏

उही हजुरको मायाको प्यासी,चरणकी दासी👣
श्रीमती परमिला राज्यलक्ष्मी देवी खतरी
खत्री अधिराज्यको गृष्मकालिन राजधानी
ईटहरी (सुनसरी)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com