जीवनभरी गाली मरेपछि ताली, के हो ?

प्रकाशित मिति: १७ चैत्र २०७४, शनिबार ०३:५६

जसरी अरु मानिसको मृत्यू हुन्छ त्यसैगरी एकदिन तपाईं हामीले पनि मर्नुपर्छ । शक्तिशाली खुम बहादुर खड्का होउन् सर्व—साधारण मनोज प्रसाद, मृत्यूकालागि सबै समान हौं । यसरी मृत्यूले समेत समभाव राख्ने शरीरलाई ज्यूँदो हुन्जेल राक्षसीकरण र मरेपछि देवत्वकरण किन गर्छौं ?

बाँचुन्जेल जोसँग एकपटक पनि बोलचाल भएन, मरेपछि ‘उहाँ बडो मृदुभाषी’ लाग्नुहुन्छ ! जिवनभरी भेट नभएको मान्छे मरेपछि ‘अत्यन्तै मिलनसार हुनुहुन्थ्यो !’ सास रहुन्जेल एउटा सल्लाहपनि पाएन, मरेपछि ‘ठूलो अभिवाभक गुमाएको महसुस हुन्छ । ‘ ज्यूँदोमा रावणजस्तो लाग्थ्यो, मरेपछि ‘साक्षात् श्रीराम नै स्वर्गवास भएको’ झैं गरिन्छ ।

बाँचुन्जेल उसको सेतो सेतो कपाल चुँडेलको जिउजस्तो लाग्छ, मरेपछि उहांको त्यही कपाल हिमालको हिउँजस्तो लाग्छ ! बाँच्दा उहाँको जिवनशैली भकुर्न योग्य थियो, मृत्यूपछि सिक्न योग्य हुन्छ ! ‘मरेपछि सादा जिवन, उच्च बिचार’, बाँचुन्जेल ‘भद्धा जिवन, तुच्छ बिचार’को आरोप लगाईन्छ । यो मनोविकार कसरी अन्त्य गर्ने होला ?!

मरेपछिमात्र राम्रो देख्नु भनेको, न लासले चोला फेरेको हो, न त सास भएकाले नयाँ दृष्टिकोणले हेरेको हो, हामी ज्यूँदा लासहरु मृत्यूसँग भयभित भएकोमात्र हो । मृत्यूको सन्दर्भमा अधिकांस मानिसहरु ज्यूँदा लास नै हौं । ‘ज्यूँदा लास’ यस अर्थमा कि स्वास त फेर्छौं तर सत्य स्वीकार गर्न सक्दैनौं । हामीलाई लाग्दैन कि मेरो पनि मृत्यू हुन्छ । यो नाम, मेरो पद, मेरो प्रतिष्ठा, मेरो रुप, मेरो जिवन सबै अमर रहन्छ भन्ने भ्रममा बाँचिरहन्छौं ।

मृत्यूलाई स्वीकार नगर्नेले आफुमा गुण नै गुण र अरुमा अवगुणमात्र देख्छ । आफु लोभी छ तर ‘मितब्ययी हुँ’ भन्छ। चाप्लुसी गर्छ तर ‘मिलनसार’ मान्छ । धुर्त छ तर ‘बाठो’ ठान्छु । चाकडीबाज छ तर ‘इमान्दार’ बताउँछ । इश्र्यालु छ तर ‘प्रभावित छु’ भन्छु । प्रेमी हुँ भन्छु तर स्वार्थमात्र पुरा गर्छ ।

ज्यूँदो मान्छे कम बोल्दा उसलाई ‘लाटो’ भन्छौं । धेरै बोल्दा ‘घमण्डी ठान्छौं’ । भेट्न जाँदा ‘चाकडी; माान्छौं । भेट्न बोलाउँदा ‘भाउ बढ्यो’ भन्ठान्छौं । इमान्दार भयो, ‘सुस्त’ मान्छौं । विवेक पुऱ्यायो, ‘चतुऱ्याई’ भन्ठान्छौं । अर्काको गुणमा पनि लोड सेडिङ् लगाउछौं । आफ्ना अवगुणमा भ्रमको पर्दाले ढाक्छौं ।  यो भ्रमको पर्दा त्यतिखेर गर्ल्याम्म झर्छ  जतिखेर अरुको मृत्यू हुन्छ !

बाँच्नेलाई गाली र मर्नेलाई ताली ! यो सास र लासको भिन्नता हैन, त्रास र आशको अवस्था हो । अरुको मृत्यूबाट आफुमा उत्पन्न हुने त्रासलाई कम गर्न मान्छे मरेपछिमात्र उसलाई राम्रो भन्छौं । आफ्नो मृत्यूपछि अरुले राम्रो भनि देलान् भन्ने लोभमा अरुको मृत्यूमा फुलबुट्टा भर्ने गर्छौं । यसैलाई भन्छन्, मरेपछि खिर खुवाउनु !

मरेपछि खिर खुवाउनुको कुनै बैज्ञानिक कारण र अर्थ छैन । जे गर्नुछ उसलाई ज्यूँदैमा गरौं । गाली गर्नुछ अगाडी नै गरौं ताकी आत्माआलोना गर्ने मौका पाओस् । माया गर्नुछ जीवनकाल मै गरौं ताकी आनन्दको अनुभव गरोस् । मरेपछिको तारिफले मर्नेलाई कुनै असर पार्दैन, हामी ज्यूँदाहरुको आत्मरतीमात्र हो ।

.स्वर्गीय खुम बहादुर खड्काको आत्माले शान्ति पाओस्, हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com