बैदेशिक रोजगारीको कथा व्यथा श्रृंखला – ‘हाँसोको मुहान खोज्दै जाँदा- १…

( हालै एउटा पत्र प्राप्त भयो, जसमा मलाई संबोधन गर्दै लेखिएको थियो दाई, नमस्ते । म एक नेपाली युवा । आफु, आफ्नो परिवार र देशलाई धेरै माया गर्छु । तर, मायाले मात्रै भात पाक्दो रहेनछ । त्यसैले अहिले म बिदेशीभुमीमा रगत पसिनासँग खुशी साटी रहेको छु । मेरो श्रम यात्राका सुख, दुख, आशुँ, हाँसो तपाईंको मनोज–रञ्जनात्मक स्तम्भ ‘मंगल होस्’मा श्रृंखलाबद्ध रुपमा साट्न चाहान्छु, कृपया नाईं नभन्नु ल ! )

हाँसोको मुहान खोज्दै जाँदा- १

‘राम्रो कम्पनी’, ‘सजिलो जागीर’, ‘२ दिन साप्ताहिक छुट्टी’, ‘बर्ष बर्षमा घरबिदा’, ‘टन्नै ओभर टाइम’, —यस्ता थुप्रै सपना देखाएको थियो उसले । उ अर्थात् मेरै गाउँको म्यापावर एजेन्ट । पासपोर्ट र २५ हजार बैना लिंदै उसले भनेको थियो, ‘एक हप्तामा मेडिकल हुन्छ, दश दिन भित्र भिषा झर्छ, पन्ध दिन भित्रमा उडाई सक्छु ।’ तर एकबर्षसम्म न भिषा झऱ्यो, न त पैसा फिर्ता गऱ्यो । २५ हजारको ब्याज तिर्न आमाले बाख्रो बेच्नु पऱ्यो ।

पासर्पोट फिर्ता मागौं फोन उठाउँदैन । उठाई हाल्यो भने ‘काम हुँदैछ’ भन्छ । ‘कैले हुन्छ ?’ भन्दा ‘हुनासाथ खबर गर्छु’ भन्छ । कुऱ्यो कुऱ्यो, न खबर आउँछ, न फोन आउँछ । मैंले फोन गर्दा झ्याप्पै काटि दिन्छ । भेट्न खोज्यो, अहिले बाहिर छु भने दिउँसै ढाँटी दिन्छ ।

सुने अनुसार, मजस्ता १०० जनासँग पच्चिस—पच्चिस हजार लिएको हुन्छ । १०० इन्टु २५००० ईजिकल्टु पच्चिस लाख बैंकलाई दिन्छ । यता हामीलाई झुलाउन सम्म झुलाउँछ । उता हाम्रा पैसाले बैंकमा ब्याज फलाउँछ । हामीलाई ‘तिम्रो काम हुँदैछ’ भन्छ, खासमा उता उसको काम हुँदैहुन्छ । बोल्न सक्नेलाई किस्ता किस्तामा पैसा फिर्ता दिन्छ । नसक्नेलाई पैसा माग्दा सातो लिन्छ ।

भिषा आउनै लाग्यो, आईज भन्छ । गयो, १५ दिन पर्खेउ भन्छ । गाउँको मान्छे, पैसा हुन्न । साथी भाई खोज्यो, बात मार्दै बस्यो । आफन्त खोज्यो, भात मार्दै बस्यो । दोहोऱ्याएर गयो, ‘खाएर आयौ होला, हामी त खान थाल्यौं’ भन्छन् । खाएको छैन भन्यो भने, पाउरोटी दिन्छन् ।

भाग्य बलियो छ भने बर्ष दिनपछि भिषा आउँछ । उता बिदेश जाने भिषा आउँछ । यता रिण खोज्दा दिशा आउँछ । बाबाको औंठी बजारमा बेच्यो । मम्मीको तिलहरी जाकटी राख्यो । पैसा लगेर म्यान पावरमा दियो । उड्ने दिन आउँछ । कम्पनीको टोपी भिराएर एयरपोर्ट पुऱ्याउँछ ।

भित्र छिर्न त छिऱ्यो तर अब बोर्डिँङ पास कता, थाहा हुन्न । एउटालाई सोध्यो, उपनि नयाँ । अर्कालाई सोध्यो, बोल्न पैसा लाग्लाझैं गर्छ । मजस्तै मजदुरको लाईन हुन्छ । उसैको पछाडी उभिन्छु, अगाडी जा भन्छ । अगाडी जान्छु, पछाडी बस् भन्छ । बल्ल बल्ल बोर्डिंङ पास मिल्छ । साथीहरुलाई पछ्याउंछु ।

सुकिला मुकिलाको लाईन छुट्टै । श्रमीक कामदारको छुट्टै । ईमिग्रेसन भन्दो रहेछ त्यसलाई । बुबाको उमेरका हाकिम हुँदा रहेछन् । पावरवाला चस्मा धडेका, आँखा भित्र गढेका, पद हेर्दा निकै पढेका, ब्यहोरा हेर्दा पढ्दै नपढेका । बोल्दापनि पैसा लाग्लाजस्तो गर्ने । बोल्दा पनि सातो लिने खालका । नबोल्दापनि बातो बसाउने खालका । ‘कहाँ जान लागेको ?’ सोध्दापनि स्वाश्नीलाई सोधेजस्तो । छाप लगाउँदा पनि गोदेजस्तो । यो देखा भन्छ, त्यो देखा भन्छ । यस्तो पुगेन भन्छ । त्यस्तो पुगेन भन्छ । के नपुगेको हो ? न म प्रष्ट बुझ्छु, न त उ स्पष्ट भन्न सक्छ ।

कसो कसो त्यो ज्यामद्धार पार गर्छु । त्यसपछि घरभन्दा ठूलो जहाज चढ्छु । जहाज चढेपछि मलाई बल्ल मान्छे भएको अनुभुती हुन्छ । किनकी जहाजका ‘वेटर’हरुले मुसुक्क गर्दै ‘नमस्ते’, ‘हजुर’, ‘सर’जस्ता सम्मानित शब्द बोल्छन् । अघिको ठुस्स परेको इमिग्रेसन अफिसरभन्दा हजार गुणा ठिक लाग्छन् यी एयर होष्टेजहरु !


म एक बैदेसिक रोजगारीमा हिंडेको श्रमीक । जहाजमा के के दशा भोग्नुपर्छ । बिदेशी ईमिग्रेसनमा कस्तो अनुभव हुन्छ । कम्पनी, काम, तलब, रेमिट्यान्स, बिदा, स्वदेशको संझना…..आदि ईत्यादि बिषयमा क्रमस: सुनाउँदै जानेछु, आगामी अंकमा ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com