संभव छ, १ कट्ठा जग्गाबाट करोडको कमाई ! हाँसो मुहान खोज्दै जाँदा – ४

प्रकाशित मिति: १२ जेष्ठ २०७५, शनिबार ०४:५९

तिनबर्षको बिदेश बसाईले मलाई राम्रो भयो । गएको ५ महिनामा साहुको रिण तिरें । त्यसपछिको कमाईले आमा बाबाका लागि टिभी किनें । बच्चा र परिवारकालागि मोबाईल र पकेट खर्च पठाऐं । आफ्नालागि घडी र सेलफोन लिएँ । भिषा फिनिस आउँदा सबै खर्च कटाएर मसँग ५ लाख रुपैंया थियो ।

 

फर्किएर आएपछि गाउँमा एक कठ्ठा जग्गा खरिद गरें । जग्गाको सानो एरियामा टाटीको घर निर्माण गरें । एउटा भान्सा कोठा, अर्को बुबाआमा कोठा अनि अर्को हाम्रालागि । बा आमालाई गोरसपनि हुने, बाँकी रहेको दुध बेचेर खर्चपनि चल्ने । यस्तै सोचेर एउटा गाई किनें । र, घर पछाडी उ अट्ने सानो गोठ बनाएँ ।

 

घाँसका लागि दुख गर्न नपर्ने । उभ्रिएको खाना र आंगनकै करेसाबारीको झारपातले अघाउथ्यो । दैनिक दुईमाना दुध बेच्दा पत्नीलाई पकेट खर्च र सन्तानलाई स्कुल फिस चल्थ्यो । आमाले पेव भनेर घरमै २,४ वटा कुखुरा पाल्नु हुन्थ्यो । बाले चिना सिना हेरेर आफ्नो खर्च जुटाउनु हुन्थ्यो ।

 

तिनबर्षको बैदेसिक रोजगारीले मेरो परिवारलाई ठिकैको जिवन बांच्न दियो । एक हिसाबले परिवारका सबैजना रोजगार भए, म बाहेक ।

 

एकदिन एउटा पत्रिकामा समाचार देखें, थोरै जमीनबाट कसरी धेरै फाईदा लिने ? भन्ने । त्यसैको सुझावका आधारमा घर पछाडीको १० धुरमा माछा पाल्ने निर्णय गरें । पोखरी खेनें । माछाका भुराहरु ल्याएँ । पोखरीमा हालें । भुराहरु बिस्तारै बिस्तारै हुर्कन थाले ।

 

माछाहरु हुर्कदै गर्दा पोखरीका डिलमा सिसौं र टिक रोपें । पोखरीमाथी बांसको एउटा अग्लो कोठा निकालें र त्यसमा च्याउ खेती गरें । घर र पोखरी बनाएर कुनमा कलिकति जग्गा बांकी थियो, त्यसमा सानो माछा बिक्री केन्द्र खोलें ।

 

माछा हुर्कंदै गए । ब्यापार बढ्दै गयो । होलसेलमा लानेहरुको भिंड बढ्न थाल्यो । रिटेलमा किन्ने पनि त्यति नै थिए । साथीहरुले सुझाव दिए, यो माछा पसलको छेउमा एउटा माछा रेष्टुरेन्ट खोल्ने । त्यो पनि खोलें, त्योपनि राम्रो चल्न थाल्यो ।

 

माछा पोखरी, अग्र्यानिक च्याउ, माछा पसल, रेष्टुरेन्ट यी सबै भ्याउन गाह्रो भयो । गाउंकै दुईजना भाइलाई सहयोगी राखें । उनिहरु पनि रोजगार भए । मैलेपनि साथी पाएँ । रिण काढेर बैदेसिक रोजगारीमा गएको म आज त्यसको कारण गाउंमा सफल उध्यमीको रुपमा परिचित हुन पुगें ।

 

पाँचबर्ष भित्रमा म निम्न वर्गबाट मध्यम बर्गमा पुगें, त्यही बिदेशको पांचलाख कमाई, स्वदेशको एक कठ्ठा जग्गा र आफ्नो श्रमशिल स्वभावका कारण ।

 

पोखरीको किनारमा रोपेका सिसौ र टिकका रुख परिपक्व भैसकेका थिए । तिनलाई बेच्दा झण्डै डेढलाख रुपैंया प्राप्त भयो । टाटीको घर भत्काएर दुईतले आरसिसि घर बनाएँ ।माथ्लो तलामा हाम्रो परिवार बस्न थाल्यो । तल्लो तल्ला जेटिएले भाडा लिए । यसरी मेरो आम्दानी बढेको बढ्यै थियो ।

 

अरबको गर्मीमा २५ हजार रुपैंया तलब खाने म, नेपाल फर्किएपछि तिनजनालाई २५ हजारको जागीर दिने भैसकेको थिएँ । कोही यसलाई चमत्कार भन्थे । कोही भाग्य बलियो ठान्थे । कोही ग्रह सप्रिएको मान्थे । म भने, यो सबै श्रमलाई सम्मान गर्ने, स्वदेशमै पसिना बगाउने आँट र साहस ठान्थें ।

अहिले म बेरोजगार युवाहरुलाई रोजगार बन्ने तरिका सिकाउने मोटिभेटर भएको छु । देश बिदेशबाट मेरो अग्र्यानिक चमत्कार हेर्ने, रिपोर्टिंग गर्नेहरुको भिंड लाग्छ । यी आजपनि एकजना बिदेशी महिला पत्रकार आएकी छिन् । उनलाई मैले मेरो सफलताको कथा सुनाउनु पर्ने छ, अंग्रेजीमा ….।

….म झसंग ब्युँझन्छु, मेरो अगाडी एयर होस्टेज उभिएकि छिन् । भन्दैछिन्, ‘जहाज ल्याण्ड गर्ने बेला भयो, सिट सिधा पार्नोस् ।’

-क्रमस…….

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com