मलेसियाको जेलभित्र एकछिन्, ‘मर्ने डर हैन, अर्काको देशमा ज्यान जाला भन्ने चिन्ता !’

यो पेनाङ्गको जोरु क्याम्प हो । क्याम्प अर्थात् एकखालको जेल । मलेसियामा यस्ता क्याम्प धेरै छन् । दण्ड, कैद भुक्तान गरिसकेपछि आरोपीलाई यहाँ ल्याईन्छ । केही प्रकृया पुरा गरेर उनिहरुलाई आफ्नो देश फर्काइन्छ । टिकट आफैंले किन्नुपर्छ, नसक्नेहरु त्यहीं फँस्छन् ।

जेलभित्रै पसेर नेपालीहरुलाई भेट्ने ईच्छा थियो, केशु थापाजीले हिजो पुरा गरिदिए । बागलुङ्गका केशु थापा पेनाङ्गमा सानोतिनो ब्यापार गर्छन् । ‘जनउद्धार केन्द्र‘का अध्यक्ष छन् । शेर बहादुर श्रेष्ठ, झपेन्द्र अर्याल, भविश्वर पराजुली, प्रेम चौधरी, दीपक वली, मिलन पुन, सुजन थापा मगर, भिम बहादुर पुन, साजन शर्मा दहाल, पुन बहादुर क्षेत्री, देवेन्द्र गिरी, आकास श्रेष्ठ, प्रेम थापा, श्याम तामांग, मनोज ओझा, श्याम बिश्वकर्मा, पूर्णकला क्षेत्री, सञ्जय कुमार यादब, कमल खड्का, बिराज पुन, कृष्ण न्यौपाने, ज्ञानु लामा, राजु चिमोरिया, टीका थापा, चेतन, बसन्ती घिमिरे, सानु तामांग, राजु सुनार, रुद्र प्रसाद सापकोटा लगायतका मिलेर टिसर्ट बेच्छन् ।  प्राप्त थोरै पैसाबाट नेपालीको उद्धार गर्छन् । अहिलेसम्म संस्थाकै पहलमा ५० को हाराहारीमा नेपालीहरु स्वदेश फर्किएकाछन् । उनलाई पेनाङ्गको अघोसित नेपाली दुत भनेपनि हुन्छ ।

 

मेरा साना ईच्छाले जोरु क्याम्प पस्न पाएको हैन । केशुको प्रशासनिक संबन्ध, भाषाको ज्ञान र सरकारी कार्यशैलीको जानकारीका कारण प्रबेश मिल्यो । भित्र पसेर बाहिर निस्किँदासम्म कस्ता कस्ता ‘हात सफाई’ गर्नुपऱ्यो, अहिले नभनौं…बिद्धान पाठकले आफैं बुझ्छन् ।

 

यस क्याम्पमा सयको हाराहारीमा नेपाली थुनिएकाछन् । ती मध्ये १८ जना कानुनी प्रकृया सकेर स्वदेश फर्कने तयारीमा छन् । समस्या एउटै छ, हवाई टिकटको ! के कारणले जेल परे ? कस्तो मनस्थिति बोकेर देश फर्कंदैछन् ? फर्किएर के गर्छन् ? यी तपसिलका प्रश्न हुन् । मूल प्रश्न, फर्कने टिकटको अभावमा कुनै नेपाली बिदेशी जेलमा फँसिरहेको सुन्दा तपाईंलाई राम्रो लाग्छ त ? धरोधर्म, म त धुरुधुरु रोएँ !

 

हामीले केही सहयोग गर्न सकेमा उनिहरु चाँडै स्वदेश फर्कन सक्छन् । आफ्ना र आफन्तसँग अङ्गालो मार्न सक्छन् । कमी कमजोरी सुधार्दै, सुध्रिदै बैकल्पिक रोजगारी खोज्छन् । लौ न, यी बन्धुहरुकोको उद्धार गरौं ।

 

कमल मगर, राजकुमार तामाङ, निरबहादुर खड्का, जीतेन्द्र शाह, जनक वली, हरिचरण श्रेष्ठ, हरिबहादुर लिम्बु, किशोर राना, डिल्लीराम न्यौपाने, नवराज राई, कमल बहादुर गुरुङ, भुपेन्द्र पुन, दीपक आले, दोर्जे घिसिङ्, बिष्णु कुमार, सरोज भुसाल, बुद्धिमान थापा मगर  र पुर्खधन गुरुङ ।

 

सबैको उद्धार जरुरी छ । सक्नेका परिवारले उद्धार गर्नोस् । केहीलाई जनउद्धार सहयोगले गर्छ । बाँकीलाई तपाईं हामीले गर्नुपर्छ । यी १८ भाइमध्ये सबैभन्दा समस्या कास्कीका पुर्खधन गुरुङको छ । दुबै खुट्टा चल्दैनन् । बोकेर यताउता गर्नुपर्छ । दिसा पिसाबको टुंगो छैन । औषधी खान पाए निको हुने उनको आशा छ । भन्छन्, ‘मर्ने डर हैन सर, अर्काको देशमा ज्यान जाला भन्ने पिर भो ।’

यो कुरा मैले धेरै साथीलाई शेयर गरें, ‘केही गर्न सकिन्छ ?’ केहीले भने, ‘यस्तो दुख पाउने हजारौं छन्, एकजनालाई उद्धार गरेर दुनियाँलाई के फरक पर्छ र ?’ म भन्छु- ‘दुनियाँलाई केही फरक नपर्ला तर जसको उद्धार हुन्छ, उसलाई ठूलो फरक पर्छ साथी,  सकिन्छ केही गर्न ?!

सेवा, सहयोग र सहकार्य गर्ने भाव आएमा सोझै सम्पर्क गर्न सक्नुहुन्छ । केशु थापा (अध्यक्ष) जनउद्धार केन्द्र, पेनाङ्ग (मलेसिया),फोन: 0060-164008595 ईमेल: [email protected]

(सुरक्षाका कारण तस्वीर खिच्न मिलेन, यो तस्वीर तानतुन डककमबाट लिइएको हो । धन्यवाद ।) [email protected]

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com