बाढी पहिरोको बिद्रोह रोक्ने मानवीय उपाय : पढ्नोस्, आपत्कालमा काम लाग्छ ।

सबैलाई थाहा हुन्छ, प्रत्येक बर्षायाममा बाढी आउँछ, बजार डुबाउँछ । पहिरो जान्छ, गाउँ बगाउँछ । जनधनको क्षती हुन्छ । पशुधनको नोक्सानी हुन्छ । यी सबै प्राकृतिक बिपत्तीहरु हुन् । तर उस्तै खाले बिपत्ती बर्षेनी दोहोरिन्छन् भने त्योचाहीं माननवीय मुख्र्याईं मान्नुपर्छ । पहिरो जान्छ भन्ने जानकारी हुँदाहुंदै त्यहीं घर बनाउनु, बाढी आउने थाहा पाउँदा पाउंदै खेती गर्नु मुख्र्यांईमात्र हैन प्रकृतिसँग निहुँ खोजेको हो ।

मान्छेले जहाँजहाँ प्रकृतिसँग लड्न खोजेको छ, त्यहाँ त्यहाँ मान्छेको हार भएको छ । भुकम्प प्रभावित क्षेत्रमा ठूल्ठूला महल ठड्याउनु, बाढी प्रभावित क्षेत्रमा बस्ती बसाउनु, पहिरो संभावित क्षेत्रका बसोबास गर्नु भनेको हार्ने लडाईंमा सहभागी हुनु हो ।

प्राकृतिक बिपत्तीमा आफ्नो ज्यानको सुरक्षा आफैं गर्नुपर्छ । अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउनु भनेको यही हो । यो उखानमात्र हैन, सयौंबर्षको अनुभवलाई पुर्खाले बोलेका हुन् । जहाज चढ्दापनि सुन्नु भएको होला नि, अक्सिजन कम भएमा पहिले आफुले अनि बच्चालाई अक्सिजन मास्क लगाईदिनोस् भन्ने कुरा । यसको बिज्ञान पनि यही हो ।

आफु सुरक्षित रहियो भनेमात्र अर्कोलाई सुरक्षा दिन सकिन्छ ।हो, नागरिकको सुरक्षाको जिम्मा राज्यको हो तर हाम्रो देशमा राज्य त्यति बलियो र जिम्मेवार छैन कि सबै आपत्कालमा उद्धार गर्न सकोस् । सरकारमा बस्नेपनि त्यति महान् छैनन् कि जनताको जिउज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राखुन् ।

बाँच र बाँच्न देउ भन्ने भनाई सबैले सुनैकै छौं । बाँच्न देउ र बाँच भन्ने कतै सुनिएको छैन । पहिलो आफु बाँच्नुपर्छ अनि अरुलाई बँचाउनुपर्छ, सकिन्छ । यो भनाईको सारपनि यही हो ।

आपत्कालमा सरकार कुर्नु मुर्खता हो । स्वयम्सेवीलाई पर्खनु गलत हो । भगवानले पुर्कानु अन्धबिश्वास हो । आफ्नो जिवनको रक्षा सबैभन्दा पहिले आफैंले गर्नुपर्छ । भाग्य बलियो रहेछ भने सरकार पनि आउला, स्वयम्सेवी पनि देखा पर्लान् । भगवानले पनि पुकार सुन्लान् तर कुर्नु कसैलाई हुँदैन ।

तत्कालिन उद्धारमा आफ्नै पहल जरुरी छ तर दीर्घकालिन उद्धार राज्यको दायीत्व हो । राज्यका बारेमा भने म धेरै भन्न सक्दिँन किनभने यो भन्दा धेरै जान्ने मान्छे सत्ता, सरकार र प्रशासनमा छन् ।

तर एउटा कुरो अचम्म लाग्छ, उनिहरुको घैँटामा घाम किन दशा लागेपछि मात्रै आउँछ ? किन बिपद्ले घेरेपछिमात्र उद्धार योजना बनाईन्छन् ? आघौं खडेरी पर्ने पुर्व अनुमान गर्ने सरकारले अहिलेदेखी नै त्यसबाट जोगिने उपाय ल्याउन किन नसेकेको होला ?

यसको चितबुझ्दो जवाफ कतैबाट आएमा फेरी लेखौंला । अहिलेलाई भने यति भनौं, आपतमा आउनु अघिनै आत्म सुरक्षा सोचौं । बिपद् पर्नु अघि नै जीवन रक्षाको उपाय खोजौं । हामीले जहिलेपनि त्यतिखेर मार खाएकाछौं जहाँ, जब पर्छ राती अनि बुढी ताती गर्ने गरेका छौं ।

प्राकृतिक बिपत्तीमबाट जोगिने सबैभन्दा सजिलो उपाय हो, उसँग लाप्पा नखेल्ने ! सर्पले कहिल्यै खेदेर टोक्दैन । जब उसले आफुलाई खतराको महसुस गर्दछ अनिमात्र टोक्दछ । प्रकृतिपनि त्यस्तै हो । उ हामीलाई सिध्याउँछु भनेर कहिल्यै मान्छेको पछि लाग्दैन । प्रकृतिको यात्रामा हुँदामात्र हामीलाई सिध्याउने हो ।

रुखलाई बढ्न दिनुपर्छ, काट्नु हुँदैन । पानीलाई बग्न दिनुपर्छ, रोक्नु हुँदैन । जमीनलाई स्थिर रहन दिनुपर्छ, खन्नु हुँदैन । हावालाई चल्न दिनुपर्छ, छेक्नु हुँदैन ।

बिकासको नाममारुख बिरुवा अधिकार खोस्छौं । समृद्धिको नाममा हाईड्रो निर्माण गर्दा खोलाको नियम तोड्छौं । ब्यापारको नामा प्लटिंग गर्दा खेतबारीको सतित्व लुट्छौं । जव प्रकृतिमाथीको ब्यभिचारले सिमा नाघ्छ तबमात्र प्रकृतिले आफ्नो बिद्रोही रुप देखाउने हो ।

बिश्वको जलवायु परिवर्तनदेखी सुनामी, बाढी र भुस्खलन सबै प्रकृतिले गरेका बिद्रोह हुन् । प्रकृतिको बिद्रोह रोक्न सकिन्न, रोकथाममात्र गर्न सकिन्छ । प्रकृतिको बिद्रोहको शान्तीपूर्ण समाधान भनेको प्रकृतिसंग आत्म समर्पण हो, उसको दोहन हैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com