यी हुन् नौरंगी काठमाण्डौका नौ वटा नाम…

काष्ठमण्डप, कान्तिपुर, नेपाल खाल्डो बाहेक काठमाण्डौका अन्य नौ वटा नाम छन् । ती के के हुन् ? पढ्नोस्, मेट पिचिपिच हाँस्नुहोस् ।

१.कुलमाण्डौ
बिद्युत प्राधिकरणमा कुलमान घिसिंग आएपछि काठमाण्डौलाई ‘कुलमाण्डौ’ हुन पुगेको छ । यसअघि बर्षामा समेत काठमाण्डौबासी लोड सेडिंगको लोड बोक्थे । यो बर्ष हिँउदमा पनि चौबिसै घण्टा झमलल्ल बिजुली बाल्न पाएका शहरबासीले काठमाण्डौको कुलमाण्डौ रुप अनुभव गरिरहेकाछन् ।

२.धुलमाण्डौ
राती कुलमाण्डौ बन्ने काठमाण्डौ दिउँसो भरी धुलमाण्डौले ढाक्ने गर्छ । कतै सडक बिभागले बिच गरेका बाटाहरु ढल निकासले खाल्डो खनेको देखिन्छ । बिद्युत प्राधिकरणले गाडेका पोलहरु उखेलेर टेलिकमले फाईबर बिछ्याई रहेको देखिन्छ । कमिसन नमिलेर अधकल्चो छोडिएका सडकको धुलोले चिन्ने नसक्ने भएका बटुवाका नजरमा यो शहर काठमाण्डौ रहेन, धुलमाण्डौ हो ।

३.हुलमाण्डौ
शान्त काठमाण्डौमा जब अब्यवस्थित बस्ती बढ्यो तब यो शहर हुलमाण्डौ बन्यो । बाटो घाटोजति सबै राणाकालिन्, सवारी अनुमती गणतन्त्रकालिन भएपछि काठमाण्डौ हुलमाण्डौमा परिणत भयो । गाडीको हुल, मान्छेको हुल, छाडा गाईबस्तुको हुल, ठग्ने अधिकार माग्ने सवारीको हुल, लुट्ने सर्टिफिकेट खोज्ने ब्यापारीहरुको हुल । हुलहुज्जतलाई आफ्नौ नैसर्गिक अधिकार ठान्ने हुल्याहाहरुका नजरमा काठमाण्डौ हैन, हुलमाण्डौ हो ।

४.हठमाण्डौ
ठुला पार्टी यही छन् । ठुलो पैसा यहीं छ । ठुला नेता यतै छन् । कोही कसैले भनेको मान्दैन । कसैको कुरो कोही सुन्दैन । आफ्नो कुरो मनाउन सबै बालहठ गर्छन् । अर्काको बिचार नसुन्ने बृद्धहठ गर्छन् । आफुले भनेको नमाने रोई दिएर महिला हठ गर्छन् । आफु माथी नपरे बिद्रोहको पुरुष हठ गर्छन् । जो जसले हठलाई आफ्नो पावर ठान्छन् उनिहरु यो शहरलाई हठमाण्डौ मान्छन् ।

५.लठमाण्डौ
केही युवाहरु सुरा र सुन्दरीमा मस्त भेटिन्छन् । केही युवतीहरु गाँजा र भाङ्मा ब्यस्त देखिन्छन् । सडकका बालकहरु डेन्ड्रइडमा झुल्दै भेटिन्छन् । महलका जवानहरु ड्र्ग्समा भुल्दै भेटिन्छन् । उनिहरुलाई देशको चिन्ता छैन । परिवारको वास्ता छैन । आफ्नो माया लाग्दैन । अर्काप्रति दया हुंदैन । नशामा लठ हुन पाउनु नै तिनकालागि स्वर्ग हो । उनिहरु काठमाण्डौलाई लठमाण्डौ मान्दछन् ।

६.गाँठमाण्डौ
हाम्रा पुर्खा भन्छे, उहिले काठमाण्डौमा आउंदा खाने बस्ने पैसा लाग्दैनथ्यौ । मन्दिर, गौसाला, आश्रममा निशुल्क खान बस्न मिल्दथ्यो । हरेक घरमा अतिथि देवो भव:को भाव हुन्थ्यो । अहिले ‘अतिथि धेर भो अब:’ झैं गर्छन् । जल ग्रहणदेखी मुत्रत्याग गर्नसक्क गाँठ नभै हुन्न । कोमल ओलीको भाषामा भन्दा गोजीमा गाँठ भएमात्र यो शहरमा टिक्ने सकिने तथ्य बुझ्नेका नजरमा यो शहर गाँठमाण्डौ हो ।

७.आँटमाण्डौ
गाँठ नभएपनि आँट हुनेहरु यो शहरमा मज्जाले जम्न सक्छन् । जग्गा देखाई दिए बापत कमिसन कमाउने आंट चाहिन्छ । पैसा नभएपनि निर्माता हुँ भन्दै कमाउन सकिन्छ । राम्रो नराम्रो जस्तो भएपनि जसले जिते राजा, हारे चपरी मुनीको बासको सिद्धान्त स्वीकार गर्न सक्नेहरु यो शहरलाई आँटमाण्डौ ठान्दछन् ।

८.लुटमाण्डौ
यहां बैंक लुटिन्छ । लुटेरा हाकिमसंग मिलेको हुन्छ, गार्ड कुटिन्छ । सिंहदरबारमा बस्नेदेखी सामान्य घरबारमा समेत लुट्ने र लुटिनेहरुको भिंड छ । लुटेर लुक्न सक्नेहरु समाजसेवीको रुपमा सम्मानित हुन सक्छन् । परिवन्दले लुकाउन नसक्नेहरु आजीबन काराबास बस्न पुग्छन् । धान रोप्ने खेत प्लटिंगका नाममा चिरहरण गरिएको छ । मकै फल्ने बारी घडेरीका नाममा बलात्कृत भएकाछन् । प्रकृतिको दिनदहाडै इज्जत लुटिएको छ । लुट्ने र लुटिने दुबैका नजरका यो शहर अब लुटमाण्डौ हो ।

९.झुटमाण्डौ
पत्रकारैपिच्छे पत्रिका छन् । ल्यापटपै पिच्छे अनलाईन छन् । केहीलाई छोडेर तिनको काम झुटको खेती गर्नु हो । अन्योलताको मलजल गर्ने हो । अराजकताको बाली उठाउने हो । सत्यलाई झुठ र झुठलाई सत्य बनाउन सक्नेहरु यो शहरलाई झुठमाण्डौं बनाउन लागि परेको गजुरीयल ठम्याई छ ।

लौ न, यो शहरलाई पुन: सुन्दर काठमाण्डौ बनाउन के गर्ने होला †

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com