उनीहरुको ‘Oh My God’ र हाम्रो ‘Hey भगवान’: कुन ठिक ?!

प्रकाशित मिति: ७ आश्विन २०७६, मंगलवार २१:१०

किम्मदन्ती  😀 

उता पश्चिमा मुलुकमा ‘Hi’ र ‘Hey’ ले जीवन चलिरहेको छ । यता हामी भने दुई हात जोडी-जोडी ओठ चलाई-चलाई ‘नमस्ते’ गरेर समय खेर फालिरहेका छौं । तर जब केही आपत्ति आइपर्छ, उनीहरुको दैव निजिकरण गर्ने “Oh MY god” भन्दा हाम्रो तिनको जस्तै सरल सम्बोधन “HEY भगवान!”को पुकारालाई भगवानले कान ठाडो पारेर सुन्दिन सक्छन् ।

कुनै अनुरोधको बिरोधमा उनीहरुको ‘No’ पर्याप्त हुन्छ । हामीलाई ‘अहँ, नाईं’ भन्न पर्छ । तर, कपाल काट्ने हजामहरुलाई पनि औपचारिक तरिकाले सम्बोधन गर्दा ‘नाइ’ नै भनिन्छ ।

यो पर्यायवाची प्रकोपका कारण कुनै ‘नाइ’को कुर्सीमा बस्दा उसले ‘तपाईंको कपाल पुरै खौरिदिनु पर्ने हो ?’ भनेर सोध्छ । अनि तपाईं ‘नाइ’ भनेर जवाफ फर्काउनुहोला । उसले भने तपाईंले उसैलाई बोलाउनुभएको सोच्ला !

अनि उसले फेरि ‘तपाईंको कपाल छोट्याउनु पर्ने हो त ?’ भनेर सोध्ला । तपाईं पुन: ‘नाइ’ भन्नु होला । यो वार्तालापको गोलचक्कर घुमिरहन्छ । र, तपाईंले ‘म त दाह्री काट्न आएको हुँ’ भन्न पनि पाउनु हुन्न ।

‘No’ को कुरा गरिरहँदा त्यस्तै सुनिने तर अर्थ पुरै विपरित भएको शब्द छ – ‘हो ।’ यसलाई अङ्रेजीमा ‘Yes’ भनिन्छ । तसर्थ कुनै पनि अवस्थामा ‘यसको अर्थ के हो ?’ प्रश्नको उत्तरमा तपाईंले ‘यसको अर्थ के होइन, ‘Yes’ को अर्थ त ‘हो’ हो । ‘What’को अर्थ पो ‘के’ हो त ।’ भन्नुभयो भने अरुले तपाईंलाई पागल भन्दैनन्, ‘ए यो त अलि कडै बोर्डिङ पढेर निस्केको रहेछ’ भन्छन् ।

अब यहाँ अङ्रेजी र नेपाली शब्दका अर्थका कुराहरुले धर्ती उल्ट्याउँदै गर्दा, ‘धर्ती’लाई अङ्रेजीमा ‘Earth’ भन्छन् । देवनागरीमा त्यो ‘Earth’ अर्थ् हुनपुग्छ । तसर्थ अर्थ् को अर्थ धर्ती हो । तर, धर्थको अर्थ अर्ती होइन ।

पहिलो कुरो त ‘धर्थ’ शब्द नेपाली शब्दकोशमा छदैँ छैन । सुन्दा ‘Dirt’जस्तै लाग्छ जसको अर्थ धुलो वा मैलो हो । अनि दोस्रो कुरो, ‘Dirt’को बारे एउटा अर्ती – धर्तीको माटोमा एकछिनको बसाइले पनि तपाईंको जिउमा ‘Dirt’ लाग्न सक्छ ।

त्यसैले उठ्नुस्, यो लेखको धुलो टक्टक्याउनुस्, र भाषाका कुरामा धेरै नअल्झिनुस् । भाषा कसरी बन्यो, कसले बनायो – मलाई थाहा छैन । तर पनि म यति भन्छु – विदेशी गोराको अङ्ग्रेजी भन्दा यो छोराको नेपाली धेरै सहज लाग्छ मलाई । गोराहरुलाई कुनै कुराको पत्तो नहुँदा ‘I don’t know’ गर्दै लेघ्रो तान्नुपर्छ तर मैले त्यसको साटो ‘खै !’ भन्दा तपाईंले कुरा बुझिहाल्नु हुन्छ । हो कि नाइँ भन्नोस् त ?!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com