होटलको खाना !

प्रकाशित मिति: २१ फाल्गुन २०७८, शनिबार ०८:५१

*संप्रस पौडेल, हेटौडा ।

थरीथरीका होटल हास्यव्यङ्ग्य संप्रस पौडेल नाम एकातिर काम अर्कातिर । फेसबुक चिया पसल ।इमो होटल । ट्वीटर खाजा घर । टिकटक बिसाउनी । काम एकातिर ठाम अर्कातिर । होटल बेचेको वर्षौंपछिसम्म त्यसको सटरमा ग्यारेज राखिएको छ । त्यहाँ लेखिएको छ- ‘यहाँ चिया, खाजानास्ता पाइन्छ’ ।

होटलमा चिया र दुनोट खान छिरेको मान्छेले त्यहाँ दुनोटजस्तै टायर र ट्यूब देखेर दङ्ग पर्दो हो । सोध्दो हो ‘भाइ दुनोट त देखियो अब चिया उ त्यो ड्रमभित्र हो ?’ उता ‘यहाँ मोटरसाइकल मर्मत गरिन्छ’ लेखिएको सटरमा सलुन राखिएको छ ।यसो साइड लाइट मिलाउँ भनेर छिर्दा के पो मिलाइदिने हुन् !

मोटरसाइकलको ऐना बदल्न जाँदा ऐनैऐना हेरेर दङ्ग फर्केर फर्कनु पर्ला ।बस्ने सिट मर्मत गर्न जाँदा ‘दाइ बस्ने कुरा त होइन टाउकाको कपाल र दाह्रीचाहिँ मिलाइन्छ’ भन्दा हुन् । गाम एकातिर नाम एकातिर । तनहुँ होटल काठमाण्डौंमा । झापाली होटल हेटौंडामा । होटल माउन्टेन भ्यू जनकपुरमा । नामको यतिको जाम पनि बुझिनसक्नुको छ ।

त्यति मात्र कहाँ हो र ? मान्द्रो रेष्टुरेन्टमा पक्का पर्खाल र ढलान मात्रै देखिन्छ । डोको रेष्टुरेन्टमा कुर्सीमा बसेर पिज्जा खानुछ । नाङ्लो रेष्टुरेन्टमा प्लाष्टिकको नाङ्लो भित्तामा टाँसिएको छ । थुन्चे र टोकरी‌ रेष्टुरेन्टमा के पो होला ? गार्डेन रेस्टुरेन्टमा रूख बिरूवा त त्यस्तै हुन्, गमला पनि रित्ता छन् । साइँलीको भट्टी जेठीले चलाएकी छिन् । साइँलीचाहिँ माइलीको चट्पटे पसलमा काम गर्छिन् । भट्मास र लोकल रक्सीको भट्टीमा झट्टी पाएर स्वास्थ्य नै ह्रासकट्टी भैरहेको छ ।

अझै थप प्रमाण खोज्दै जाउँ । टुप्पीको ढिँडो होटलमा जगल्टे भात पकाउँछ । पाते होटलमा चरेसका थालमा खान पाइन्छ । दुनाटपरी रेष्टुरेन्टले दुना टपरीमा खाना दिँदैन । गुन्द्रुक ढिँडो होटलमा मैदाका गुन्द्रुक अर्थात् चाउमिन पाक्ने गरेको छ । ‘यी सबैलाई खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने ?’ भनौँ भने पनि पशुको पहिचानमाथि धावा बोले झैँ हुन के बेर ? तथापि पापी पेट लाद्रो भर्ने नाममा खुलेका नाम, ठाम, गाम र काम नमिलेका होटलबारे लेखेर हास्यव्यङ्ग्यको नयाँ स्वाद आयो कि आएन कुन्नि ! जदौ ।

*(लेखकको हास्यव्यङ्ग्य कृति प्रकाशोन्मुख छ । लेखक सिस्नुपानी मकवानपुर सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com