बर्षा सकिन लाग्यो त, बादल खोई ?!

प्रकाशित मिति: ५ भाद्र २०७९, आईतवार ०९:३७

-सुरेश किरण

गएको धेरै दिन अघिदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षायाममा वर्षा हुनु कुनै अनौठो कुरो त होइन । वर्षा भनेकै वर्षा याममा हुने हो । वर्षायाम लागेकै कारणले नेपालमा पनि वर्षा भइरहेको होला । यसमा कुनै शंका रहेन ।

अनौठो के भइदियो भने देशमा यत्रो वर्षा भइरहेको छ, तर ‘बादल’ भने कहीं देखिँदैन । अचेल कता छ ‘बादल’ हँ ? अरु बेला त बादल देखिँदैन त्यो ठीकै हो । बादल लाग्नुपर्ने वर्षा याममै बादल देखिँदैन भने त्यो त अनौठै हुने भयो । यदि आकाशमा बादलै छैन भने वर्षा कसरी हुन्छ ? यो सम्भव छैन । तर असम्भव भए पनि भइरहेको यही हो ।

वर्षा भइरहेको छ, तर ‘बादल’ कहीं देखिँदैन । पहिले पहिले यो वर्षाको बेला टाइम टाइममा बादल गर्जने पनि गर्दथ्यो । अहिले बादलै छैन त गर्जन कसरी ?बादल लागेपछि आकाश सफा देखिँदैन । आकाश सफा भएन भने सूर्य छेकिने सम्भावना हुन्छ । शायद सूर्य स्पष्ट देखियोस् भनेर पो कसैले ‘बादल’ हटाइदिएको हो कि ?

यदि आकाशमा कुनै बादलले सूर्य नै छेक्न भने त्यो बादल के काम ? त्यसलाई त हटाउने नै हो । अहिलेसम्म कसैले बादल हटाइसक्यो भनेको त सुन्न पाइएको छैन । तै पनि बादल देखिएको भने छैन । कता छ हँ अहिले ‘बादल’ ?

*डिस्क्लेमर
गजुरीयल डटकममा अपलोडित, पोष्टकृत, छापित र लिखित सामाग्रीहरू सत्य नै हुन् जस्तो लाग्छ । तर, यी अनाधिकारिक, अपुष्ट र काल्पनिक मात्र हुन् । तपाईंलाई झुक्याउन सकेकोमा हामी गर्व गर्दैनौं, रमाइलाे मानिदिनु भयो भने मात्र खुशी हुन्छौं !
(तस्वीर साभार : सामाजिक संजाल)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com