‘ह्वाट्स्एपको ग्रुप न जन्ती न मलामी, फेसबुकको प्रेम फेस टु फेसमा खरानी’ : मानुभक्त आर्चायको पहिलो र अन्तिम अन्तर्वार्ता

 7861967408_fdbee31b38_b
भानु सर, सञ्चै हुनुहुन्छ ?

आत्मा हुँ मकन शरीर नभया दुख्दैन कैल्यै मन,
क्या विपत् पर्‍या तिमीकन, क्यान सम्झियौ भन ?

यो साता तपाईंको जन्मजयन्ती भएकाले सम्झिएको नि !

एक्बार सालमा , सम्झेर मकन, खुस् हुम्ला क्यारी म ता ?
साल्भरी देख्या छु, यो भानु ढल्याको  हेर्छु मो जता तता ।

यो विरोध र समर्थन त भैरहन्छ नि हजुर, सार्वजानिक मान्छेको । ऊ राजा, महाराजाको त सालिक ढाले…

ढाल्यार मुरती राजा र रइतीको ढल्दैन तिनको शिर,
क्यान हो नबुझ्या मनुले अब ता, यही छ  पर्‍या पीर ।

अब स्वर्गबास भैसक्या मान्छेले पिर गरेर क्यार्नु हुन्छ, यहाँ ज्यूँदालाई पिर छैन त्यस्ता कुरामा !

ज्यूँदै मर्‍याको भनि नाम कस्को ?
कुनै मिसनबिना बित्दछ काल त्यस्को ।


अनि मरेर पनि ज्यूँदो रहेकाहरू चाहिँ को नि ?

शरीर मरे’नी जीवित भन्ने को हो ?
बिना कमिसन मरण पाउने जो हो ।

अनि जीवन र मरणको दोसाँधमा रहेको चाहिं कसलाई मान्ने ?

न हुन्छ वारी, न जान्छ पारि,
न  बाँच्छ, मर्छ,  त्यो हो भ्रष्टचारी ।’

 

अब अलिकति ऊ जमाना र यो जमानाको तुलना गरौं । भन्नोस्, अहिलेको कान्तिपुरी तपाईंलाई कस्तो लाग्छ ?

जस्तो थियो उहिले, मो आउँदा यहाँ पहिलो पाला जसै,
उस्तै छ बेथिति, उही छ स्थिति, त्यस्तै छ चाला तसै ।

 

यतिका घर बनेको छन्, बाटोघाटो बनेका छन्, जनसंख्या बढेको छ, कहाँ उस्तै भन्नुभएको ?

बन्यार घर बाटो अहिले, क्यारुन् बबुरा जन,
छैन न्याम् कानुन कतै, को पालन् गर्छ भन ?

 

टिभी छ, बिजुली छ, यो सब् नयाँ लागेन तपाईंलाई ?

आकाशको बिजुली, नेपालको बिजुली उस्तै लाग्या छन,
बल्या झिलिक्क, गया मिलिक्क, यही हो बिजुली ? भन !

 

इन्टरनेट, त्यसमा पनि फेसबुक त तपाईंलाई पक्कै नौलो लाग्यो होला ?

ह्वाटस्एपको ग्रुप, न जन्ती न मलामी,
फेसबुकको प्रेम, फेस टु फेसमा खरानी ।

त्यो त हो, भानु सर ! तर सहरी बिकास त भा’छ ……।

न प्लानिङ जमिनको, न योजना सडकको, सबको खाने मति,
दुराचारी मति, भष्टाचारी मती, भत्क्या छन् घर कति कति !

 

अब प्रसंग बदलौं, भानु सर, अहिले नेपाली साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?

बढ्या छन् यहाँ कवि र कविनि, साहित्य देख्छु उँचो,
एउटा वात् मनले थिया कहनु, तर हुन्छु कि फेरि छुच्चो !

 

तपाईंजस्तो मान्छेले भनेपछि पचाउनै पऱ्यो नि, के कुरा हो, भन्नोस् न !

यौटो प्रश्नले मगजमा, खाईर’न्छ दिनै–दिन,
कुरा मातर यौनका कठै, बिक्याको होला किन !

साहित्यमात्र हो र, कला, राजनीति सबैतिर काम अर्थात् यौनको महत्व छ । त्यस्तै विषयले प्राथमिकता पाउँछन् । खै, के हो के हो ?

यौटो बात् कहन्छु म  सबकन  बुझी लेऊ हे जन
काम्ले दिन्छ क्षणिक मजा, स्थीर राख मन !

तपाईं त घाँस बेचेर कुवा बनाउने घाँसीबाट प्रभावित हुनुभएको मान्छे, अहिलेको मनुष्य घाँसीजस्तो बन्न सक्ला ?
छोड्या पाल्न चौपाया मनुसले, को बेच्ला घाँस अब,
मास्या वन–जंगल अब सब, को घाँसी होला कब !

उहिले भनिन्थ्यो कि, चोरी–चकारी नगरी चतुर्‍याइँ हुन्न । अहिले कस्तो परिवर्तन देख्नुहुन्छ ?

चोरी चकारी नगरी,
साहित्यकार हुन्न्,
दंगा र फसाद नगरे,
राजनीतिज्ञ रहन्न,
सोझा र सीधालाई,
कवै नलिनु दलैमा
पार्टी चलाउनु सधैं !


अन्तिममा केही भन्नु हुन्छ ?

‘बरष्मा एकबार्, सम्झयार मकन, खुश् हुम्ला क्यारी म ता ?
साल्भरी देखछु, यो भानुको ढल्याको हेर्छु मो जता तता ।’
‘ढाल्यार मुरती राजा र रइतीको ढल्दैन तिनको शीर,
क्यान हो नबुझ्या मनुले अब ता,  यही छ पऱ्या  पिर ।’

 

*Disclaimer: उपरोक्त रचनालाई आधिकारिक र सत्य ठानेर विश्वास पर्न गएमा हास्यास्पद हुनेछ । यो रीयल कुराहरुमाथी गजुरीयल टिप्पणीमात्र हो । *तस्विर सौजन्य: तानतुन डटकम (इन्टरनेट)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com