ओली सुध्रिए माधवले मिठाई बाँड्ने, बाजेको पेडाको नयाँ अफर !

प्रकाशित मिति: ३ फाल्गुन २०८०, बिहीबार १५:३२

‘ओलीसुधार अभियान’का नेता माधव कुमार नेपालको ‘ओली सुध्रेको दिन देशैभर मिठाई बाँड्ने’ घोषणाका गरेकाछन् । यो घोषणाबाट मिष्ठान्न भण्डारीहरु दङ्ग छन् । राष्ट्रिय मिष्ठान्न प्रतिष्ठान्नका अध्यक्ष शक्खर कुमार चिनीका अनुसार, नेपाल बाजेको यो उद्घोषबाट बुढो बाजेको पेडा पसलदेखि मिठाईका गेडा पसलसम्ममा हर्सोल्लास छाएको छ ।

जानकारहरुका अनुसार, सबै नेपालीको दुईटै हातमा लड्डु राख्दिने यो इतिहासकै पहिलो अभियान हो । माघे संक्रान्तिको वरिपरि भुजाको लड्डु र चाकु सेवन गरिसकेर बसिरहेका नेपालीहरु फाल्गुन सुरु हुँदा पनि गुलियो खान पाइने भैयो भनेर उत्साहित छन् ।

नेपालका मिठाई पारखीहरु माधव नेपालको समर्थन गर्दै हजारौँको संख्यामा नेकपा (यस) प्रवेश गर्ने क्रम सुरु भएपछि नेकपा (त्यस)मै बैलाखैला मच्चिएको छ । देशको तत्कालीन अवस्थाको कारण मन खल्लो र मुख तीतो बनाइरहेको बेला “मुखमा गुलियो – वितृष्णा भुलियो” भन्ने नारा बोकेको उक्त अभियानका सेनानीहरु ओली सुध्रने दिनको पर्खाईमा छन् ।

अहिले सामाजिक संजालमा ओलीको हरेक पोष्टहरु ह्यासट्याग “#सुध्र” लेखेका कमेन्टहरुले भरिएका छन् । यसै क्रममा ओलीको बालकोट निवास वरिपरि छिट्टै नै २० देखि २५ वटा मिठाई पसल खुल्ने अनुमान गरिएको छ।

ओली भने यस अभियानका चर्का आलोचक भएर निस्किएका छन् । उनका अनुसार यो नेपालीहरुलाई मधुमेहको रोगी बनाउने षड्यन्त्र मात्र हो । आज बिहान फिका चिया पिउँदै उनले भने – “माधव नेपाल जनताको जिब्रोसँग खेलिरहेका छन् । नेपालीलाई सुगर लाग्ने काम म गर्दिन त्यसैले म कहिले सुध्रिने छैन । ” ओलीसुधार अभियानको विरोधमा नेकपा एमालेले अहिले गुलियो बहिस्कार गरिरहेको छ।

माधव नेपालको घोषणाको समाचार भारतको एउटा पत्रिकामा छाप्दा शिर्षकमा “नेपालने कहा – ओली सुधरगए तो मिठाई बाटेंगे” लेखेपछि राजस्थानका हलुवाईहरु सोन पापडी बनाउन व्यस्त छन् । हल्दिरामका प्रवक्ताले भने – “नेपाल और भारतका अब सम्बन्ध सिर्फ रोटी-बेटीका नही रहा, रसमलाईसे लेकर रसतँलाई’ तक पहुँचगया है।”

“नेपालको कानुन दैवले जानुन्” भन्ने पुरानो चर्चित नेपाली उखान अहिले परिमार्जन भएर “नेपालको कानुन दैवले जानुन् त्यसैले खाउँ गुलाब जामुन” भएको छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com