सरकारको अलौकिक योजना: आकासमै एयरपोर्ट !

प्रकाशित मिति: २६ श्रावण २०७३, बुधबार ०८:१७

clouds-01नेपालमा भई रहने हवाई दुर्घटना रोक्न सरकारले अलौकिक कार्ययोजना ल्याउने भएको छ । योजना अनुसार, आकासमै एयरपोर्ट निर्माण, स्काई क्रेनको उडानसँगै फ्लाइङ् हस्पिटलको सञ्चालन हुनेछ । यो योजना सफल भएमा वर्तमान सरकार एक शताब्दीसम्म चल्ने राजनैतिक बिश्लेषकहरु बताउँछन् ।

‘दुर्घटना कम गर्न जहाजको नियमित चेकजाँच, पाईलटको स्वाश्थ्य परिक्षण, मौसमको पूर्वअनुमान, यात्रुको सुरक्षा प्राथमिकताजस्ता सामान्य कुराहरुमा सरकार अल्झनु हुँदैन ।’ सरकारका अप्रवक्ताले भने, ‘यो समय सपनाको समय हो, बिपना देख्ने बेला हैन ।’

भारतीय असफल ब्यापारी बिजय माल्याको कम्पनी ‘किंगफिसर’ र चिनको ‘ह्वाङ् ङै’ कम्पनीसँग ठेका सम्झौता संपन्न हुनेछ । ‘चिन र भारतसँगको संबन्धलाई सन्तुलन राख्न दुबै देशका कम्पनीलाई जिम्मा दिनु परेको हो ।’ ब्यर्थ मन्त्रालयका अप्रवक्ताले भने ।

यो अलौकिक योजना अनुसार, ताप्लेजुङ्, लुक्ला, मुस्ताङ्, हुम्ला र दाचुर्लाका आकासहरुमा ‘स्काई एयरपोर्ट’ निर्माण गरिनेछन् । उडि रहेको जहाजमा खराबी आए मुभिङ् एयरपोर्टहरु स्वत:जहाजको नजिक पुग्छन्, र, जहाजहरु टक्क ल्याण्डिङ् गर्दछन् ।

तराईका हकमा भने सरकारले ‘स्काई क्रेन’ उडाउने छ । बुद्ध, यति, सौर्यजस्ता ठुल्ठुला जहाजमा खराबी आई जहाज बम्पिङ गर्न थालेमा स्काई क्रेनले जुरुक्क अपलोड गरेर निजगढमा शकुसल डाउनलोड गर्नेछ ।

‘हवाई सुरक्षा सरकारको प्राथमिकता’ नारा घन्काउँदै २४ घण्टा आकासमा ‘ऱ्यापिड स्काईस्पिटल’ पनि उड्नेछ । स्काईपिटलमा नक्कली पाईटल चिन्ने, गँजडी क्याप्टेन पत्ता लगाउने, थोत्रा जहाजमा चिन्ने, प्यारासुट, अक्सिजन मास्क, चमत्कारी बाबा, जादुगर लगायत झाँक्री र पुरहित समेत स्ट्याण्ड बाई रहनेछन् ।

प्रचण्डको यो लोकप्रिय कार्यक्रमपछि एमालले संसद अवरुद्ध गर्ने संभावना बढेको छ । पूर्व प्रधानमन्त्रीका एक समर्थकले गजुरीयल डटकमलाई भने, ‘प्रचण्डले यस्तो योजना ल्याउनै हुंदैन, सपना देखाउने त केपी ओलीलेमात्रै हो ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com