अद्भुत बनस्पती ‘सहीद’ रोप्नोस्, प्रचुर आम्दानी गर्नोस् : कृषिविज्ञहरु

प्रकाशित मिति: 15 March, 2017 5:12 am

cacनेपाल शहीद प्रधान देश हो । यहांका अधिकांस पार्टीहरु शहीदमा निर्भर छन् । तिनको आम्दानीको मुख्य श्रोतपनि शहीदको खेती नै हो । एक पटक लगाएको शहीदले पुस्तौं पुस्तासम्म खान पुग्दछ । त्यसैले यहांका नेताहरु आन्दोलनको बाली लगाई रहन्छन् । जनताहरु शहीद बनेर ज्यान फालि रहन्छन् ।

यहांको माटो शहीदमैत्री छ । पहाडका बारीमा, मधेशका टारीमा, जातका जमीनमा, धर्मका धरापमा, जहांसुकै शहीदको खेती लगाउन मिल्दछ । क्षेत्रियताको गमला, वर्गियताको बोरा, क्रान्तीको करेसाबारी, शान्तीको बांसघारी, जताततै शहीदका बिरुवा उमार्न सकिन्छ ।

शहीदको बेर्ना रोप्ने मुख्य मौमस अराकता हो । मूलुकमा बिभिन्न खाले अराजकता फैलिएको बेला शहीद किसानहरु सक्रिय हुन्छन् । देशकालागि ज्यान दिन उकास्छन् । पार्टीकालागि बलिदान हुन हौस्याउंछन् । सिद्धान्तकालाािग मर्न उचाल्छन् । नेताकालागि मार्न पछार्छन् । यस्तो बेलामा उम्रिने एउटा शहीदको बिरुलाले ती नेताको तिनपुस्तासम्म मोज गर्न मिल्दछ ।

अग्र्यानक शहीद पाउन निकै गाह्रो छ । असली शहीदका बिरुवा कतै कतैमात्र पाईन्छ । बजारमा हाइब्रिड शहीदको बेर्ना खुब बिक्रि हुन्छ । हाइब्रिड शहीद भन्नाले तस्करी गर्दागर्दै प्रहरीबाट मर्नेहरु, डकैतीमा संलग्न हुंदाहुंदै इन्काउन्टरमा पर्नेहरु, लागु पर्दाथका दुव्र्यसनीहरु, हात हतियारका कारोवारीहरु पर्दछन् । यिनिहरुलाई शहीदको दर्जा दिलाउन नेता कृषकहरु सरकारसंग बार्गेनिंग गर्नेदेखी आन्दोलनको थ्रिटेनिंगसम्म दिने गर्दछन् ।
ज्ञान, ध्यान, बुद्धी, विवेकले यो खेती फस्टाउन सक्दैन । शहीदको खेती गर्न उष्ण प्रकृतिको वातावरण चाहिन्छ । आक्रोष, घृणा, बितृष्णा, दम्भको राप शहीद खेतीकोलागि सहयोगी स्वभाव हो । आन्दोलनका नाममा गाडी झोस्ने, टायर बाल्ने, मसाल पोल्ने कार्यहरु जो छन्, यी मौसमलाई उष्ण बनाउने प्रयास हुन् । उष्णता शहीद उत्पादनको राम्रो वाताबरण हो ।

आयातित मलले शहीदको खेती राम्रो फस्टाउंछ । त्यसैले आन्दोलनलाई हिंसात्मक बनाउन बिदेशी दुतहरु मलजल हाल्ने गर्छन् । बिदेशी दुत र स्वदेशी यमदुतहरु राम्रा जेटिए मानिन्छन् । अराजक सामाजिक सञ्जाल त शहीदमा खेतीमा मलजल गर्ने आधुनिक ट्याक्टर नै भैहाले ।

आन्दोलनका नाममा रोपेको शहीदको बाली उठाउने मुख्य मौसम चुनाव हो । चुनाव अघि शहीदको एकशब्द नचुवाउने नेता किसानहरु चुनावको बेला शहीद शब्दको आंधी बेहरी नै ल्याउने गर्दछन् । शहीदको सपना साकार पार्ने, वीर शहीदलाई अमर बनाउने, शहीद परिवारलाई अजर बनाउने कुरा यही खेतीपातीकै एउटा प्रकृया हो ।
चुनाव सकिएपछि न शहीदको सपना पुरा हुन्छ नत शहीद परिवारको बिपना सफल हुन्छ । त्यसपछि केवल नेताहरुले बालीमात्र भित्राउंछन् । शहीदको बालीले कोही सांसद बन्छन् । कोही मन्त्री हुन्छन् । कसैले राजदुत पड्काउंछन् । कसैले जिएम र पिएम भ्याउंछन् । यसरी हजारौं जनताको शहीदको खेती केही सय नेताहरुको जिबिकोपार्जनको माध्याम बन्दछ ।

थोरै नेतामात्र शहीद बन्छन् । किन भने नेताको काम शहीद बन्ने हैन, शहीद बनाउन हो । यदि कुनै चर्चित नेता शहीद बन्यो भने ज्यूंदा नेताहरुकालागि त्यो स्वर्गको द्धार बन्नपुग्छ । उनैको नाम भजांएर सत्तामा पुग्न सक्छ । भत्तामा रमाउन सक्छ । छोरालाई बिदेश पठाउन सक्छ । पत्नीलाई संसार घुमाउन सक्छ । त्यसैले ज्यूंदो नेताले कहिल्यैपनि भन्दैनन्, हामीहरु शहीद बन्न तयार रहनुपर्छ । तिनले जहिल्यै पनि भन्ने वाक्य हो, परि आएको बेलामा तपाईंहरुले शहीद बन्नुपर्छ ।

गजुरीयल बिश्लेषक भन्छ, जनताकालागि शहीदको खेती फाइदाजनक छैन । देश र दुनियांकालागि फाईदाजनक छैन । शहीद बन्नु यो जुनीकालागी त राम्रो हैन, त्यो जुनीमापनि शहीदको मुल्यांकन हुन सक्दैन । केही थान नेताकोको सफलताका लागि आफ्नो र परिवारको जिवन किन अन्धकारमा पुऱ्याउने ? बिश्लेषकको ठहर छ, वीरहरु सहीद भएर हैन आफु सहित् भएर देश बनाउंछन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com