सुरक्षा घेरामा ‘शत्रुगते’

बागबजारको हार्दिक होटल, जहाँ ताप्लेजुङ सरोकार केन्द्रको कार्यालय छ, अक्सर म त्यहाँ पुग्ने गर्दछु । यहाँ पुग्नुको मज्जा अर्को पनि छ, पुराना साथीहरु भेटिन्छन् जो पार्टी सरकारमा पुगेपनि आफु सांसद वा मन्त्री हुन पाएका छैनन्, भएका छैनन् वा भ्याएका छैनन् ।

 

तिनजुरे-पाथिभारा पदयात्रा महोत्सवको मिटिङ् सकेर फर्किने बेलामा ठाकुर गैरेजीसँग मुठभेठ भयो । उहाँले भन्नुभयो, ‘आउनोस्, शत्रुगते हेर्न जाम् ।’ मैले भनें, ‘जाम् भने जाम् त नि, हेर्ने भए हेरेर आम् त नि ।’

हामी बागबजारकै सिटीम्याक्स सिनेमा हल पुग्यौं । अचम्म ! हतियार सहितका शशष्त्र प्रहरी सहतिको भिंड पो छ बा ! नजिक पुग्यौं । सुरक्षा घेरा बिचमा झलनाथ खनाल, भीम रावल, देवेन्द्र पौडेल सपरिवार शत्रुगते हेर्न पुग्नु भएको रहेछ । मनमनै भनें, धन्न राष्ट्र्पति भएनछन्, नत्र नेपाली सिनेमाले यस्ता भिआईपी दर्शक कहाँ पाउँथ्यो !

मलाई पदासिन र शक्तिशालीसँगको तस्वीर पोष्ट्याउनु त्यति रुचिकर लाग्दैन । यस्तो तस्वीरले अरुलाई हेर् मेरो कहाँसम्मको पहुँच छ भनेझैं लाग्छ । आज मेरा पुराना मित्र ठाकुर गैरेसँग चलचित्र शत्रुगते हेरियो, जससँग अहिले लोगो र झण्डा छैन । पद र पहुँचमा नभएका नेतासँग फोटो खिच्नपनि आँट चाहिन्छ साल्दाई !

नेताका कुरा यति, अब सिनेमा कुरा । कुरा शुरु गर्नु अघि प्रष्ट पारौं, यो समिक्षा हैन, एउटा कलाकारले अर्को कलाकारको कर्मलाई हौसला, उत्प्रेरणा र प्रोत्साहन प्रदान गर्न खोजेको हो । यसलाई भन्छन्, पेशागत ईमान्दारिता र दायीत्व ।

मान्छेलाई कुन दृष्यले रुवाउँछ, कुन दृष्यले हँसाउछ त्यो ब्यक्ति अनुसार फरक हुन्छ । म सबैभन्दा बढि हाँसेको शिवहरी पौडेल भिनाजुले रोएको दृष्यमा हो । रघुवंश नेताजी कोलोनी छोडेर हिंड्ने बेलामा भिनाजु यसरी रुन्छन् कि साँच्नै नै भक्कानो फुट्लाजस्तो हुन्छ । तर त्यति खेर नाभीकेन्द्र देखि नै हाँसोको तरंग चल्छ जब भिनाजु रुनुको कारण खोल्दै भन्छन्, ‘मेरो २२ लाखपनि नदिई जाने हुनु भयो है ।’

सबै भन्दा बढी संवेदनशिल बनाएको दृष्य दिपक ज्वाँईको कस्टडी बसाईको हो । इन्पेक्टर पत्नी शितल (प्रियंका कार्की)ले साइबर अपराधमा थुनेकी छिन् । केरकार गर्न कस्टडी पसेकी शितल यस्तो संकटमा पर्छिन् कि पिटपाट पारौं आफ्नै लोग्ने, नपारौं केरकारकालागि अलिअलि मर्मत नगरी नहुने ! यो अवस्थामा शितलले भोग्नु परेको धर्म संकटको अवस्थाको अभिनयले साँच्चीकै संवेदनशिल बनाउँछ ।

उहिल्यै रक्सी छोडि सकेका किरण केसी भिनाजुले मातेको अभिनय गरेर जँड्याहालाई न्याय गर्नु भएको छ । राजाराम भिनाजुले सम्वाद नभनी हाँसेकै भरमा हँसाउनु भएको छ । दीपक ज्वाईंले युट्युबरलाई राम्रै दनक दिन्छन् । दीपा भान्जीले हरिवंश भिनाजुलाई बेलाबेलामा सातो खाँदा थुप्रै दर्शकले आफ्नै कथाझैं संझन्छन् । मदनकृष्ण भिनाजुको ‘बुढो बैंस’ले कपाल सेतो भएपनि मन रंगीन भएका धेरै ज्ञात-अज्ञात भिनाजुहरुलाईन्याय गरेको छ । आँचल भान्जी र पल भान्जाले चालिस नकटेका धेरै दर्शकलाई बाँधेका छन् ।

मधेशी नेताको अभिनय गर्ने संस्कृतिकर्मी रमेश रञ्जन झाले यसरी अभियन गरेकाछन् कि ‘क्या बात् रञ्जन भाइजी; भन्न मन लाग्छ ।  उनको अभिनयमा कैले राजेन्द्र महतोको झल्को आउँछ, कैले खोभारी रायको झल्को आउँछ । निर्देशक प्रदीप भट्राई भान्जाले नबोलीकन भनेकाछन्,’मामा, काम गर्न उमेर हैन हजुर क्षमता आँट चाहिन्छ ।’

सिनेमाको शक्तिशाली शन्देश ‘जातीय सद्भावका लागि अन्तरजातीय विवाहको संस्कृति’ बिकास गर्नु हो । पहाडी र मधेशीहरु बिच वैवाहिक संबन्ध बढाउनाले ‘आगामी पुस्तादेखी दुबैबिच रगतको नाता’ स्थापित हुन्छ । जुन नाता रगतको हुन्छ, त्यो नाता गज्जबको हुन्छ । जब रगतको नाता हुन्छ तब पहाडी मधेशी बिचको खाडल ब्यवहारमै पुरिन्छ । सिनेमाको यो मर्मलाई बुझ्न सके देशमा जातीय सद्भावमात्र हैन, बिस्तारै जातीय अन्तरघुलन हुनेछ । अनि बिस्तारै बन्ने छ……… मानिसको अन्तराष्ट्रि्य जाती ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com