पढ्नोस्, आँशु झरेन भने मलाई भन्नु होला, झऱ्यो भने आफुलाई नियाल्नु होला !

हो, उसले आमा मार्‍यो । अन्जानमा मार्‍यो वा जानाजान मार्‍यो तर त्यसले आमा मारेकै हो ।  आमा अरू बीस वर्ष बाँच्न सक्थिन्, तर ७० वर्षमै उसले आमालाई मृत्युको मुखमा पुर्‍यायो । आमा ९० वर्षकी हुँदासम्म उनको काखमा रमाउन सक्थ्यो, तर सुखका साथ पाल्छु भनेर ढाँट्यो र मन्द विष पिलाएर मार्‍यो । गजुरियल शैलीको यो रियल कथामा तपाईंलाई हार्दिक स्वागत छ ।

काठमाडौंमा उसको ठूलो घर थियो । घरमा आमाका लागि कुनै असुविधा थिएन । छुट्टै कोठा, कोठाभित्रै एट्याच बाथरुम, हेर्नका लागि ठूलो टिभी, सुत्नका लागि राम्रो पलङ, खानका लागि थरीथरीका परिकार, कुनै कुराको कमी थिएन । ऊ आमालाई धेरै माया गरेको मान्थ्यो तर आमा त्यो सुविधामा कहिल्यै खुशी भइनन् ।

बुहारी बिहान ७ बजे काममा जान्थिन् । छोरो बेलुका ९ बजे फर्कन्थ्यो । नाति–नातिना दिउँसो स्कुल जान्थे, बेलुका टिभी र गेममा भुल्थे । वल्लो घर, पल्लोघर सबैको एउटै अवस्था थियो । बोलचाल गर्ने मान्छे छैनन् । भित्तालाई सुनाउने कुरा भएन । डुले त्यही घर तल र माथि घुम्ने हो । घुमे उही कोठा भित्र र बाहिर गर्ने हो ।

एक दिन आमाले भाडामा बस्ने भानुसँग भनेकी थिइन्, ‘जुन दिन छोराले गाउँको सबै घरजग्गा

बेच्यो, त्यही दिन मेरो मुटुको नशा चुँडिएको थियो । धेरै अनुरोध गरें । दिदीबहिनीहरू यतै छन् । फुपू, मामा, काका, भान्जाभान्जी सबै यहीं छन् । यही माटोमा मैले ५० वर्ष बिताएँ ।’

 

‘अब मलाई यहीं मर्न देऊ । सकुन्जेल आफैं गरेर खान्छु, नसकेका दिन दिदीहरूकहाँ जान्छु । तिमेरुलाई दु:ख दिन्नँ । बिन्ती, यो एउटा घर र एक कठ्ठा जग्गाचाहिँ नबेचौं, तर मेरो पुकारा एक कानले सुनेर अर्को कानले उडाइदिए ।’

आमाले त्यसो भनिरहँदा पल्लो कोठाबाट बुहारी भुत्भुताएकी थिई, ‘कुन्नी कल्लाई स्वर्ग जान्छस् भन्दा कुन्नि के पाइन्छ भन्थ्यो रे, त्यस्तै हो ।’ छोराले पनि स्वास्नीको हो मा हो मिलाएको थियो- ‘तपाईंलाई यहाँभन्दा काठमान्डौमा सुख हुन्छ । मर्ने बेलामा किन निहुँ खोजिरहनु ?’ छोराले पनि यसो भनेपछि उनको केही जोड चलेन । पतिले आफ्नै हातले बनाएको घर, पसिनाले सिंचेको जमिन, निर्माण गरेको सामाजिक सम्बन्धलाई सधैंका लागि छोडन् बाध्य भइन् । आँसुका ढिक्का पछ्यौराले छोप्दै आमा जुन दिन काठमान्डौ पसेकी थिइन्, त्यही दिनदेखि उनलाई डिप्रेसनको बिमारीले समातेको थियो ।

हुनत: काठमाडौंको घरमा आमालाई उच्चस्तरको भौतिक सुविधा थियो, तर शान्ति र आनन्द निम्नस्तरको पनि थिएन । एकोहोरो बोल्ने टिभी थियो, दोहोरो बात मार्ने छिमेकी थिएनन् । मायाले मिस्री दिँदा मुन्टो फर्काउने आफ्नै नाति–नातिना थिए, ‘अम्बक देऊ न आमै’ भनेर माग्ने छिमेकी बालबालिकाहरू थिएनन् । फलफूल आमाको कोठामा फुत्त फाल्दिएर सिरियल हेर्न थाल्ने बुहारी थिइन्, तर देख्नासाथ काखमा खेल्न आउने बाख्राको पाठो थिएन । प्राय: बाहिरैबाट खाना आएर आउने छोरो थियो, तर आमालाई देख्नासाथ ड्वाँ गरेर खोले माग्ने प्यारो गोरु थिएन । आमाको बिमारी बिस्तारै बढ्न थाल्यो

निन्द्रा लाग्न छोडेपछि आमाले एक दिन भनेकी थिइन्, ‘हौ छोरा, गाउँ जाँदा पो निन्द्रा लग्थ्यो कि । म ठूल्दीदिकहाँ बस्छु, त्यतै पठाइदे न । नाति–नातिनालाई कहिलेकाहीं घुम्म पठाइदेओ । दसैं–तिहारमा तिमीहरू पनि आइहाल्छौं । म पनि कहिलेकाहीं काठमाण्डु आउँदै–जाँदै गरौंला । दिदी–बैनीहरू पनि हामी टुहुरा भयौं आमा भन्दै थिए । त्यो एक कठ्ठा जग्गा र घरचाहिं फिर्ता लिऊँ बाबु ।’ आमाको कुरा नसकिंदै गाडी स्टार्ट गरेर उसले हप्काएको थियो, ‘तपाईंलाई सुख नपचेको हो कि हामीलाई दु:ख दिन खोजेको हो ? यहाँ चुप लागेर सुखले बस्नु न ।’

छोरो जेलाई सुख भन्थ्यो, आमाको दु:खको मूल कारण त्यही थियो । वल्लो घर, पल्लो घर, टोल–छिमेक, खेत–बारी, कुटो–कोदालो, कीर्तन, सांगे, छोरी, ज्वाइँ, सम्धी, आफन्त, आमा यसैमा रमाउँथिन्, जुन कुरा सहरमा थिएन । अलि–अलि घुँडा दुखे पनि उनको सुख यही गाउँघर थियो । छोरा–बुहारीले पठाइदिएको १०–२० हजारले राम्रै खर्च चल्थ्यो । भर–अभर सघाउने छिमेकी छँदै थिए, तर यी सबै सुख छोडेर सधैंका लागि सहर पसेपछि उनको मुहारमा कहिल्यै हाँसोको संकेत देखिएन ।

आमालाई डिप्रेसन भएपछि लामो समयसम्म औषधी ख्वाउनुपर्‍यो । औषधीका कारण शरीर कमजोर हुँदै गयो । कमजोर शरीरले कलेजो र किड्नीलाई हान्यो । सुगर बढ्यो, प्रेसरले समात्यो । आमा कोठामा साँघुरिइन् । एकोहोरो टोलाउँथिन् । रुन खोज्थिन्, आँसु आउँदैनथे । डाक्टरले केस सिरियस भएको र अब धेरै आशा नगर्न सुझाव दिएपछि आमाको संसार काठमान्डौको घरबाट कोठामा साँघुरिएको थियो ।

एकपटक ठूली छोरीको अनुहार हेर्छु भनिन् । उसले दिदीलाई प्लेनबाट काठमान्डौ बोलायो । किनभने उनीहरू (श्रीमान्–श्रीमती)लाई मलेसिया भिजिटको चिठ्ठा परेको थियो । मृत्यु कुरिरहेकी आमालाई ठूल्दिदीको साथ छोडेर उनीहरू ठूलो चिलगाडीबाट मलेसिया हुंईकिए ।

सातदिने मलेसिया भिजिट सकेर क्वालालम्पुर एयरपोर्टबाट काठमान्डौ उडे । त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा झरेर मोबाइलको स्विच अन गर्नासाथ दिदीको भक्कानिएको आवाज आयो, ‘सोझै आर्यघाट आउनु !’

आर्यघाटमा पुगेर आमालाई दागबत्ती दिएपछि ऊ मलाई अँगालो मार्दै भक्कानियो । मैले सान्त्वना दिएँ— ‘नरो यार, सृष्टिको नियम नै यही हो ।’ उसले भन्यो, ‘तर मैले सृष्टिको नियम उल्लंघन गरें, जसका कारणले मेरी आमाको २० वर्ष छिटो मृत्यु भयो । सुख दिने नाममा मैले आमालाई दु:खको भवसागरमा ल्याएर अनजानमा आमा मारें, म मातृहत्यारा हुँ ।’ मैले सझाएँ, ‘अब ग्लानि गरेर केही हुँदैन । यही आशा गर् कि तेरो यो कथा अरू सहरिया छोराछोरीका लागि एउटा शिक्षा बनोस् । सबैले बुझून्— पितृ प्रसाद बेचेर सहर पस्दैमा पितृ खुसी हुँदैनन् ।’

 

प्रतिक्रिया दिनुहोस्

हार्दिक पटेलको नेपाल काण्ड, हिन्दी न्युजले ठोक्यो- ‘चौकिदार नही ईमानदार बोलो !’

“चौकिदार ढुँडने नेपाल पहुँचे पाटिदार नेता हार्दिक पटेल हार मानकर हिन्दुस्तान लौट अाए है ।

थाहा पाउनुस् मन कहाँनिर हुन्छ !

  शिक्षक : ‘कति बर्षको भयौ ?’ बिद्यार्थी : ‘विद्यालयको दर्ता किताबमा हेर्नुस् !’ शिक्षक

भारी बहुमतके बाद मोदीलाई ओलीको बधाई : फोनवार्ताको अडियो सार्वनजिक भयो ! Fakclusive Report

बिजयउन्मुख प्रधानमन्त्री भारतेन्द्र मोदीलाई भारी बहुमतका प्रधानमन्त्री नेपी ओलीले बधाई दिएका छन् । पुरा परिणाम

छायाँ सरकारका बारेमा दायाँ सरकारको धारणा !

विवाहपछि दिनेश ससुराला गएर सालीलाई सोध्छ… दिनेश : ‘साली नानी, यो गाउँको ठुलो समस्या के

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com