को, कसको, के पर्छ ? अनौठा साईनो-संबन्धहरु (नोट: हाँस्न मनाही छ)

‘हास्यव्यंग्य’ र ‘लोक दोहोरी’ सहोदर ‘दाजुभाइ’ हुन् र ‘पार्टनरसीप’मा उद्योग चलाउँछन् । आफ्ना ‘प्रोडक्ट’का लागि चाहिने ‘कच्चा पदार्थ’ दुबैले समाजबाट लिन्छन् र एउटै ‘बजार’मा बिक्री गर्छन् । प्राय: उनिहरुका ‘ग्राहक’ पनि एकै प्रकृतिका हुने भएकोले हास्यव्यंग्यका ‘प्याकेज’मा ‘गीत’ र लोक दोहोरीमा ‘हास्यरस’को स्वाद पाईन्छ ।

उता ‘रक गीत’ र ‘लोक गीत’को संबन्ध ‘सौतेनी मामला’ हो । नेपाली आमाबाट जन्मिएको ‘लोक’ बिदेशी बाबुसँग हुर्किएको ‘रक’ एउटै घरमा बस्न निक्कै गाह्रो हुन्छ । यता ‘पप गीत’ र ‘कमेडी’बिच भने ‘मितेरी’ साइनो रहेको हुन्छ । तपाईंहरुलाई थाहा छ– यो साईनो केहीको टिकाउ हुन्छ, धेरैकोचाहीं ‘बिकाउ’मात्र रहन्छ ।

‘शाष्त्रिय संगीत’ हजुरबुवा हुन् भने ‘भजन’ ज्वाई साहव हुन् । ज्वाईं साहबहरुलाई चाडपर्वमा सम्झिईन्छ, हजुरबुवाहरुसँग आशिर्वाद त लिईन्छ– तर ब्यवहारमा लागु गरिंदैन ।उता ‘सुगम संगीत’ र ‘गीत गजल’ प्रेमी–प्रेमिका हुन्, एक बिना अर्काको जिवन अधुरो हुन्छ– तर ब्यवसायीकताको बजारमा बिहे भएपछि दुबैको अनुहार मधुरो हुन्छ !

‘कविता’ र ‘ऱ्याप’ एउटै बाबुका सन्तान भएपनि आमाचाहीं अलग अलग हुन् । ‘कविता’को जन्म स्वदेशी ‘आमा’बाट र ‘ऱ्याप’को बिदेशी ‘मम्मी’बाट भएको हो । त्यसैले ‘कविता’ शान्त वातावरण मन पराउँछिन्, ‘ऱ्याप’ हो–हल्लामा रमाउँछ ।

यता नृत्य– आधुनिक गीतकी ‘अर्धाङ्गिनी’, पप गीतकी ‘प्रेमिका’ तथा शाष्त्रिय संगीतकी ‘साली’ हुन् । ‘नृत्य’बिना न ‘लोक’को जिवन चल्दछ, न त ‘पप’को पापड गल्दछ । त्यसैलै ‘नृत्य’को सबै बिधासँग केही न केही ‘रिलेसन’ रहेकै हुन्छ । उनि भजनकी ‘भाउजु’, गजलकी ‘माइजु’, आधुनिककी ‘आन्टी’, दोहोरीकी ‘दौंतरी’ हुन् भने संगीतकी ‘सोल्टिनी’ हुन् ।

‘संगीत’ले ‘गीत’ र ‘नृत्य’सँग दोहोरो ‘संबन्ध’ राख्दछ । यस अर्थमा संगीत ति दुईको ‘ब्वाईफ्रेण्ड’ हो भने बाँकी सबैको ‘साथी’ π साथी ‘कमेडी’मा पनि चाहिन्छ, ‘ट्र्याजेडी’मा पनि चाहिन्छ । संगीतलाई सुखको साथी बनाउने कि दुखको बनाउने, त्योचाहीं तपाईं आफुमा भर पर्दछ ।

केहीले ‘रिमेक’लाई गीत र संगीत’को ‘अबैध सन्तान’ भन्ने गर्छन् । तर यो ‘प्रबिधि’ र ‘प्राबिधिक’को सहबासवाट जन्मिएको ‘टेष्ट ट्युब बेबी’मात्र हो । ‘टेष्ट ट्युब बेबी’ यस अर्थमा कि यो ‘बेबी’ स्त्रि हो कि पुरुष हो भन्ने बिषयमा ‘टेष्ट’ हुनै बाँकी छ ।

अभिनय सबै कलाको ‘अविभावक’ हो । ‘गायन’लाई गतिलो बनाउन होस् वा ‘नृत्य’लाई लचकदार गराउन होस्– ‘अभिनय’ले सधैं ‘गाईड’ गरिरहेको हुन्छ । ‘कविता’को कर्णप्रियता र ‘गीत’को श्रवणप्रियता ‘अभिनय’को क्षमतामा भर पर्दछ ।

हो, ‘डिस्को’ र ‘सेलो’बिच सिमा बिबाद हुनसक्छन्, हामी त्यसलाईं सहमती आधारमा समाधान गर्नसक्छौं । ‘ड्र्म’ र ‘मादल’को ‘जेनेरेसन ग्याप’ रहनसक्छ– त्यसलाई मध्यमार्गबाट मिलाउन सकिन्छ । ‘हि–पप’ –‘झ्याउरे’को अंश बिवाद पारिवारिक तहमा टुङ्ग्याउन सकिन्छ । ‘कविता’–‘मुक्तक’बिचको वंश बिबाद पनि ‘डिएनए’ परिक्षणद्धारा ‘फाइन आउट’ गर्न सकिन्छ ।

‘राजनीति’ले मिलाउन नसकेको समाजलाई ‘कला’ले जोड्न सक्छ । किनभने, कलाको नाम फरक भएपनि ‘जात’ एकै हो, जात फरक भएपनि ‘गोत्र’ एकै हो, ‘गोत्र’ पनि नमिले ‘मुहान’ एउटै हो । ‘कला’को मूल मनबाट फुट्न थाल्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com