हँसाउने मान्छे किन रुँन्छन् ? थाहा पाउनोस्, आँशुको अद्भुत मनोविज्ञान !

आज मदनकृष्ण दाईको घरमा पुग्यौं । उहाँका आँखा अझै ओभाएका छैनन् । यमन, रिंकु, सरहना र रुस्माको अनुहारमा हाँसो फर्किंनै बांकी छ । फोटोपनि खिच्न मन लागेन । किनकी, यसैपनि मदनदाई रोएको तस्वीर ‘भाईरल’ बनाएर हामीले आँशुको ठूलो ब्यापार गरि सकेका छौं !

त्यो तस्वीर ‘भाइरल’ बनाउनु जरुरी थियो वा थिएन, त्यसको हिसाब किताब बिस्तारै होला तर, हँसाउने मान्छे नै सबैभन्दा संबेदनशिल हुन्छन् भन्ने कुराचाहीं म अहिल्यै ‘क्लियरकट; बताउन चाहान्छु । किनकी उनीहरुलाई थाहा हुन्छ, आँसुको महत्व ! आँसुले पीडा कम गर्छ । मरेर जानेप्रती प्रेमभाव बढ्छ । मनको भारी हलुका हुन्छ । त्यसैले हँसाउनेहरु अक्सर भित्रभित्रै रुँने गर्दछन् ।

सानातिना घटनामा आँशु झर्दैन, बिशेष परिस्थिति चाहिन्छ । त्यसैले मदन दाइको आँशुको विशेष अर्थ  छ । मानसिक तनावलाई ‘रिलिज’ नगर्दा मनमा पिंडाको आगो बल्छ । शरीरमा विकारको डढेलो लाग्छ । अनि जीवन दु:खको शिकार बन्दछ । त्यसैले रोदन बलिया मान्छेहरूको ‘सेल्फ मेडिकेशन’ हो ।

कमजोरहरु चाहेर पनि रुन सक्दैनन् । उनिहरुलाई सबैभन्दा डर समाजको लाग्छ । ‘बच्चा हरुले के भन्लान्’, ‘दौतरीले कस्तो ठान्लान्,’ ‘गाउँलेले खिसी गर्ने हुन् कि’, ‘समाजले ट्युरी गर्ने हो कि’..यस्तो सोच्दा सोच्दै आँशु भित्रै दबिन पुग्द्ध । पछि त्यही दमन अवसाद (डिप्रेसन)को रुपमा खुशीको शत्रु भएर निस्किन्छ । । संपूर्ण प्राणीको भलो चिताउनेहरु नै दिल खोलेर हाँस्न सक्छन्, डाँको छोडेर रुँन सक्छन् ।

त्यसैले मदनदाई दिल खोलेर रुनु भयो । बलिन्द्रधारा आँशुको भेल झार्नु भयो । उहाँको  आँशु पत्नी वियोगको पोखरी थियो । एक्लो जीवन बाँच्नु पर्ने बाध्यताको खहरे थियो । मृत्यूबोधको खोल्सो थियो । मुटुमाथी ढुंगाराखी जिउनु पर्ने बाध्यताको महासागर थियो । अझैं रुनोस् मदनदाई, दिल खोलेर रुनोस् । बिगतका पींडा बगाउने गरी रुनोस् । आगतका दु:ख मेटाउने गरी रुनोस् । बर्तमानको वियोग भुल्नेगरी रुनोस् । आँशुको मुहान सुक्नेगरी रुनोस् । हाँसो र आँशुको महत्व बुझ्ने मान्छेमात्र सार्वजानीक रुपमा रुँन सक्छ ।

‘बाले भगवानलाई निवेदन हालेर’ तपाईं जन्मिनु भएको पनि हैन, आमाले ‘यमराजलाई घुस खुवाएर’ म बाँचिरहेको पनि हैन । अस्तित्वको सनातन नियम अन्तर्गत हामी यहाँ आएका हौं । यो धर्तीमा दिनैपिच्छे हजारौं मान्छे जन्मिई रहेकाछन्, सयौं मरिरहेका छन् तर, तपाईं हामी अहिलेसम्म ज्यूँदै छौं ! यो भन्दा अद्भूत कुरा के  हुन सक्छ !  यो भन्दा खुशीको कुरा के  हुन सक्छ !! यो भन्दा अचम्म के  हुन सक्छ !!!

जब हाम्रो अन्तरमनबाट अचम्मको यो पोको खुल्छ तब सुख र दुखबिचको पर्खाल भत्किनेछ । र, त्यो पर्खाल पछिल्तिर ‘जीवन र मृत्यू नामका  खेलहरु’ देख्न सकिन्छ । अस्तित्वको यो अद्भुत खेलामा हामी कहिले  पतिको रुपमा, कहिले बाबुको रुपमा, कैले बिभुतीको रुपमा, कैले कलाकार रुपमा सांसारिक ‘अभिनय’ गरिहेको थाहा पाउँछौं । किनकी ‘जीवन एउटा राम्रो अभिनय’ हो, ‘अभिनय एउटा  सुन्दर जीवन’ हो ।

दाई, जीवनको यो अद्भुत  अभिनयलाई ‘फ्लप’ हुन नदिनु होला । तपाईंको सक्रियता, निरन्तरता र आत्मविश्वास नै यसोदा भाउजुको आत्मालाई शान्ति दिने सर्वोत्तम उपाय हो ।

                  –मनोज गजुरेल

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com