धर्ती बेचेर आकासमा महल ठड्याउँदै हुनुहुन्छ ? यो पढ्नोस्, तुरुन्तै मुड चेन्ज हुनेछ

महेन्द्र राजमार्गमा पर्ने एउटा सानो बजार । बजारसंगै जोडिएको नौ बिघा खेत । खेतमा लाग्थ्यो दुई बाली अन्न । अन्नले उनिहरुको परिवार चल्थ्यो मज्जाले । एकदिन परिवारबिच भयो अंश । प्रत्येकका भागमा पऱ्यो ३/३ बिघा जग्गा ।

कान्छो थियो अलि महत्वकांक्षी । उसमा सवार भयो बिदेश जाने भूत । भूतको प्राथमिकतामा पऱ्यो जापान । उसले समात्यो, एउटा दलाल । दलालले माग्यो नौ लाख । नौलाख लाख थिएन उसँग नगद । निर्णय गऱ्यो जग्गा बेच्ने ।

कुरो हो १०/११ बर्ष अगाडीको, जतिखेर भाउ बढेको थिएन जग्गाको । त्यसैले त्यो खेतमा परेन आँखा कुनै जग्गा दलालको । लामो प्रयासपछि दलालले भेटिदियो ग्राहक । ग्राहक थिए छिमेकी ठुल्दाई । ठुल्दाईसँग न थियो आइडिया ब्यापारको, न त थियो सपना बिदेशको । उनको सपना थियो, थोरै खेतमा धेरै अन्न उब्जाउने ।

तिन बिघा जग्गाको भाउ मोलियो, जम्मा नौ लाख रुपैंया ! यता नौ लाखमा ठुल्दाई फलाउन थाले सयौं मुरी धान ! उता धान खाने खेत बेचेर कान्छो हिड्यो जापान !

जापानमा काम खोज्नै लाग्यो उसलाई तिन महिना । चौथो महिनामा बल्ल पायो एउटा कठिन काम तर ‘ठिक ठिकै’मात्र थियो दाम । जे होस्, दाम कमाउने सपनाको भयो शुरुवात । उ देख्ने गर्दथ्यो सामान्य सपनाहरु । एउटा चिटिक्क परेको घर, घर आँगनमा टलक्क टल्किने गाडी ! गाडीको अघिल्लो सिटमा श्रीमती, पछाडी ‘बार्बी डल्स’सँग खेल्दै गरेका छोराछोरी ! यीनै खुद्रा सपना बनाउन साकार, काममा घोटिई रह्यो निरन्तर ।

यता देशमा, अकस्मात परिस्थितिले फेऱ्यो कोल्टे । मकै फल्ने डाँडाहरु बिक्रि हुन थाले घडेरीको नाममा ! धान फल्ने खेतहरु मासिन थाले प्लटिङ्का रुपमा ! कान्छाले बिक्री गरेको जग्गाको भाउ त झन् यति आकासियो कि त्यहाँ घडेरी किन्ने आँट गर्नै सकेनन् सामान्य मान्छेहरुले !

नौ लाखमा तिन बिघा बेचेको जग्गा नौ लाख नै पुग्यो कठ्ठाको । बिस्तारै ‘धुर’ र ‘हात’ बिक्री हुन थाल्यो बढेर ! जग्गावालले पनि दुई बिघा बेच्यो– त्यही महँगिएको दाममा ! भत्कायो पुरानो घर, बनायो नयाँ महल । किन्यो ‘ब्राण्डन्यू’ गाडी, राख्यो महँगो ड्राइभर ! कान्छाले जग्गा बेच्दा ताकाको सामान्य ‘किसान ठूल्दाई’ रहेनन् अब ! बजारकै धनीहरु मध्येमा गनिन थाले जग्गाको जगमगले !

उता कान्छो जापान बसेको पनि भइसकेछ पाँचबर्ष ! एकदिन अकस्मात पऱ्यो पक्राउ, ‘ओभर स्टे’को आरोपमा ! प्रहरीले गरिदियो–‘डिपोट ।’ नेपाल फर्कनु परेपनि कान्छो थिएन दुखी, किनभने कमाएको थियो आधा करोड रुपैंयाभन्दा बढि !

स्वदेश फर्किएर बनायो योजना । एउटा राम्रो जग्गा किन्ने घर बनाउने, बिहे गर्ने र छोराछोरी पाउने ! धेरै ठाउँमा हेऱ्यो जग्गा तर कतै लागेन आँखा ! आफन्तले सल्लाह दिए– आफ्नै थात्थलोमा लिने जग्गा ! उसलाईपनि मन पऱ्यो कुरो ! खोज्दै जाँदा उ पुग्यो– उही पुरानो दलालकहाँ, जसले पाँच बर्ष अगाडी बेचाई दिएको थियो उसको तिन बिघा जग्गा जम्मा नौ लाखमा !

दलालले भर्न थाल्यो फुलबुट्टा । जग्गा एकदमै मिलेको छ, रुमाल ओच्छ्याएजस्तो ! ‘सोसाईटी’ बडो असल छ, आफ्नै दाजुभाईजस्तो ! कुरा सुन्दै दलालको पछि लाग्यो कान्छो ! उनिहरु पुगे– ‘साईट’मा । ‘साइट’मा थिए घरैघर ! छेउको घरको चारतलाबाट कोही बोल्यो– हलो कान्छा भाई, लिनोस् जग्गा, एकदमै राम्रो छ है !

स्वर सुनेझैं लाग्यो कतै । उठायो कान्छाले टाउको । चिन्यो उही छिमेकी ठूल्दाई जसलाई पाँचबर्ष अगाडी बेचेको थियो त्यही जग्गा, जहाँ ठुल्दाईले बनाएका थिए बिशाल घर ! थाहा पायो– उसले किन्न खोजेको घडेरी पनि त्यही तिन बिघे ‘प्लटिङ्’कै थियो एउटा टुक्रा !

सोध्यो– ‘कति पैसा हो ?’ बोल्यो दलाल– ‘अरुलाई भए पचास लाख, तपाईंकालागि गर्न सक्छु अड्चालिस लाखमात्र एक धुरको ! ’ कान्छाको टाउको थाल्यो घुम्न ! संझियो छड र सिमेन्टको भाउ ! गन्न थाल्यो ईटा र बालुवाको दर ! गम्न थाल्यो ठेकेदार र ज्यामीको रेट ! सोच्न थाल्यो– धारा, बत्तिको जडान खर्च ! घुम्न थाल्यो– रंग रोगन र ‘इन्टेरियर’को बिल !

संझियो– पाँच बर्ष अगाडीको आफ्नो तिन बिघा जग्गा ! निल्यो– घुटुक्क थुक ! भन्यो आफैंलाई– केले बनाउनु घर ! गाडी किन्नु कसरी ! को आउँछ मात्र घडेरीसँग बिहे गर्न ! के पढाउनु बच्चा जन्माएर ! सोच्न सकेन उसले र ठोक्यो थाप्लो । बस्यो भुईंमा खुईंय गर्दै । आफैंलाई धिक्काऱ्यो, धर्ती बेचेर आकासमा महल ठड्याउन खोज्दा यसरी पछारिनु परेकोमा ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com