नेपालको उत्तरी सिमाना अमेरिकासँग, दक्षिणी बेलायतसँग, पुर्वमा प्रशान्त महासागर र पश्चिममा अमेजन जङ्गल थियो भने के हुन्थ्यो होला…

‘यदि समुन्द्रले छोएको भए हाम्रो देश कति सम्पन्न हुन्थ्यो होला !’ एक मनले यसो भन्छ । अर्को मनले गाली गर्छ, ‘धत् मुर्ख, त्यस्तो देशमा सधैं सुनामीको डर हुन्छ !’ कल्पना गर्दा हो पनि । यदि नेपाल हिन्द महासागरको किनारामा हुन्थ्यो भने उहिल्यै सुनामीले सिध्याई सक्थ्यो ! धन्य, हामीलाई अहिले सुनामीले जापानजस्तो बनाउला भन्ने डर पनि छैन । मालदिभ्सको जस्तो देशै डुबाउला भन्ने त्रास पनि छैन ।

हाम्रो पनि मनै त हो पार्वती ! मनले अर्को कल्पना– ‘यो देशको सिमाना अमेरिकासँग जोडिएको भए हामी कति सम्पन्न बन्थ्यौं होला !’ तुरुन्तै दिमागले थर्काउँछ– ‘नालायक ! बोलिभियाजस्तै अशान्त हुन्थ्यो र दुख पाईरहन्थ्यो ! कि त क्युबा बन्थ्यो, सधैं नाकाबन्दीको सिकार भइरहन्थ्यो ।’ धन्य, छिमेकमा भारत भएकोले कहिलेकाहींमात्रै नाकाबन्दीको स्वाद चाख्न पाइएको छ !

मन फेरी भौतादिंदै ईतिहासमा पुग्छ– ‘बरु उहिल्यै अग्रेजहरुले नेपाल लिईदिएको भए अहिले बेलायती भिषाकालागि मरिमेट्नु पर्ने त थिएन !’ तत्कालै दिमागले दनक दिन्छ–‘थुईक्क लाछी, बेलायतले लिएको भए नेपाल र नेपाली भन्ने हुने नै थिएन नि !’ धन्य हाम्रा वीर पुर्खाले नालापानीमा अंग्रेजलाई हराए । त्यही भएर त अहिले हामी भोको पेटमा पनि स्वाभिमानको झण्डा हल्लाउन सकिरहेका छौं ।

मन छाडा साँढे हो । इतिहासबाट एक्कासी उ भविश्यको कल्पना गर्न थाल्छ–‘स्…साला, बरु युरोपिनलाई यो देश ‘लिज’मा दिन पाए पचासबर्ष पछाडी हङ्कङ्जस्तो बनाएर फर्काइदिन्थ्यो !’ दिमाग जंगिन्छ– ‘पचासबर्ष अरुले राज गरेको देश कहिं ‘देश’ रहन्छ ? त्यो त देशभित्रको एउटा ‘परदेश’मात्र पो रहन्छ त !’

यसो कल्पना गर्दा हो पनि । घर भाडामा दिंदा त निस्कने बेलामा डेरावालले काँटी ठोकेर प्वालै प्वाल बनाएर छोड्छन् भने देश नै ठेक्कामा दिएमा हाम्रो संस्कार र संस्कृतिमा कत्रा कत्रा भ्वाङ् पार्लान् !? मन बिचरो सुकुम्बासी न हो । इतिहास र भविश्यको यात्रा सकेर पुन: वर्तमानमा आईपुग्छ– ‘हामीसँग पानीको साटो पेट्रेल र ग्याँसका श्रोत हुँदा हुन् त नेपालीले कति सुख पाउँथे होलान् !’

दिमागले मनको गालामा थप्पड लगाउँछ–‘चड्याम्म ! यदि यी दुबै कुरा नेपालमा थिए भने हाम्रो देश इराक हुन्थ्यो, हामी इराकी बन्थ्यौं र हाम्रा नेताको अवस्था सद्धामको जस्तो हुन्थ्यो ।’ याद राख्नोस्– कथं कदाचित यो देशमा पेट्रेलको खानी पत्ता लाग्यो भने, बुझ्नोस्, त्यही दिन देखी हाम्रा चैनका दिन सकिन शुरु भए !

कोही भन्छन्–यो देश सतिले सरापेको हो । कोही भन्छन्–यसलाई प्रकृतिले धोका दिएको हो । मेरो बिचारमा देख्दै नदेखेकी सतिलाई दोष लगाउनु मति नभएकाहरुको तर्कमात्र हो । प्रकृतिलाई धोकेबाज भन्नु प्रकृतिको नियम नबुझ्नु हो ।

अर्कोसँग तुलना गर्नु गर्नु गलत हो । तुलनाले नागरिकलाई निरास बनाउँछ । हामीसँग जे छ, उनिहरुसँग छैन । उनिहरुसँग जे छ, हामीहरुसँग छैन । हाम्रा असंख्य सम्पदाहरुलाई हाम्रै हातले दुपयोग गर्ने हो भने मन आफैं नियन्त्रित हुन्छ । तन, मन र धन सबै हाम्रै वरीपरि वरिपरि बसि रहन्छन् ।

संघीयताले हाम्रो अराजक मनलाई जोडोस् । प्रान्तीय सिमा रेखाले हाम्रो सद्भावलाई बलियो बनाओस् । पहिचानको अधिकारले मानवतालाई संमान गरोस् । विकेन्द्रिकरणले सामुहिकताको बिकास गरोस् । भोली कसैको पनि मनले नसोचोस्–‘आधा उधि तर ईण्डिया नै भई हाल्यो, बरु पुरै दिने हो भने पल्सर को दाममा कार चढ्न पाईन्थ्यो यार !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com