‘ब्रम्हपुत्रको पानीलाई सोध, लद्धाखको हिंउलाई सोध- मैले पनि मेरी आमालाई तिमीले जतिकै माया गरेको छु ।’ एक भारतीय नेपालीको मर्मस्पर्सी कविता

प्रकाशित मिति: २८ चैत्र २०७४, बुधबार ०४:०१

भारतीय नेपाली साहित्यका लोकप्रिय ब्यक्तित्व, भाषा आन्दोलनका अभियन्ता, कला साहित्य र संस्कृतिका सर्जक आदरणीय काका हरि गजुरेल (विश्वनाथ चारआली, आसाम)ले आज शरीर छोड्नु भयो । नेपालका नेपाली र भारतीय नेपालीहरुलाई जोड्ने उहाँको योगदान कहिल्यै मर्ने छैन । पवित्र  बागमतीदेखि बिशाल ब्रम्हपुत्रसम्मले तपाईंको योगदानको गीत गुनगुनाई रहनेछ, भावपूर्ण श्रद्धाञ्जली काका !

मैलेपनि मेरी आमालाई,
तिमीले जत्तिकै माया गरेको छु
दुखमा रोएको छु, सुखमा हाँसेको छु,
हो, तिमीले जत्तिकै माया गरेको छु ।

ईतिहासले नभनोस्, ढुंगा र माटो भन्नेछन्,
राजनीति नबोलोस्, हावा र पानीले बोल्नेछन्,
आमाको छाती छोएर भन्न सक्छु,
मेरो छाती चिरेर भन्न सक्छु,
मैलेपनि मेरी आमालाई,
तिमीले जत्तिकै माया गरेको छु,
देशको कसम, माटोको कसम,
आमा पिरसँग उत्तिकै पौंठेजोर खेलेको छु ।
तिमीले लेखाएका ईतिहासमा मेरो नाम नभेटिएला,
ब्रम्मपुत्रको बगरमा भेटिनेछ,
तिमीले गाएका गीतहरुमा मेरो भावना नगाईएला,
अरुणाञ्चलको जंगलले गाउनेछ ।

काँसको बुटो पल्टाई हेर,
पहरा छहरालाई सोध,
लद्धाखको हिंउले भन्नेछ,
कच्छको रणंगनले भन्नेछ,
हिन्दुकुश र आरागानले बोल्नेछ,
रंगीत र टिष्टा ब्रम्हपुत्रले गुनगुनाउने छ ।
घामले धर्तीलाई गरेजत्तिकै,
जुनले अध्यारोलाई गरेजत्तिकै,
रगतको बलिदान चढाएर,
अकृतिम माया गरेको छु,
मैलेपनि मेरी आमालाई,
तिमीले जत्तिकै माया गरेको छु ।

त्यसैले त मैले भनेको साथी,
आमालाई मैले आमा भन्न पाउनुपर्छ,
मैलेपनि मेरी आमालाई,
तिमीले जत्तिकै माया गरेको छु ।

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com