मानिसहरु किन बेस्सरी निर्चोछन् टुथपेष्ट ? रोचक कारण, घोचक निराकरण

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार ००:५३

नानीदेखि लागेको बानी, नानीको बाबु बनिसक्दा पनि नजाँदो रहेछ । कुनै बानी राम्रा हुन्छन्, सबैले पचाउँछन् । कुनै बानी चाम्रा हुन्छन्, पचाउँन त के, चपाउँनपनि गाह्रो हुन्छ । तेश्रो प्रकारका बानी हुन्छन्– जो झट्ट हेर्दा जोकजस्तो लाग्छ, बुझ्दै जाँदा बिजोगको परकाष्टा नै नाघ्छ ।

‘कुरा काट्ने बानी’बाट हामीे धेरैजना ग्रष्त छौं । तर कसै कसैको ‘कुरा काट्ने बानी’ बानी यति रमाईलो हुन्छ कि, त्यो बानी देखेर ‘हाँसो’पनि अट्टहास थाल्दछ । एकजना मित्रको बानी बडो गज्जबको छ । उनि राष्ट्र्पतिको कदमलाई पनि भाउजुको स्वास्थ्यसँग ‘फ्यूजन’ गर्छन्, र हामीलाई । ‘कन्फ्यूजन’ गराई दिन्छन् ।

अस्तीको दिन म ‘राष्ट्रपतिको ट्युटर’को बारेमा बोलिरहे थिएँ । छलफल गंभीर मोडमा पुग्नै लागेको थियो, बेप्रसङ्गभि च्वाट्टै कुरो काटिहाले– ‘’..अनि भाउजुलाई सञ्चै छ ?’ प्रसंगलाई यसरी मोडिदिए कि, मानौं ‘राष्ट्र्पतिको ट्युटपछि भाउजुको तल्लोपेट दुख्न थालेको थियो !

 

अर्का एकजना मित्र छन्– जो ट्वाईलेट जानुलाई हस्तिनापुरको लडाईंमा जानुजस्तो गर्छन् । एकदिन चिया पिएर बसिरहेका थियौं, मैले चिया ओठैंको नजिकमा पुऱ्याएको थिऐं, उनि जुरुक्क उठे र भने– ‘पिसाब गरेर आउँछु ल !’ मेरो दिमाग हातको चियाभन्दा साथीको ‘पिसाब’ शब्दले बढि कब्जा गऱ्यो । चिया पिउँन मन लागेन । पैसा तिरेर बाटो लागियो !

 

वास्तवमा पिसाब नगरी चिया नपिउने उनको व्रतपनि हैन । मैले चिया पिउन लागेको देखेर उनलाई पिसाब लागेको पनि हैन ! तर, बानीको गुलाम भएपछि मान्छेको मुखबाट अनायसै ‘शब्दबम’ पड्किंदो रहेछ ।चुनावमा जानलाई जस्तो ट्वाईलेट जानलाईपनि मन्तब्य दिनु जरुरी छैन । तर मानिसहरु बाथरुम जानलाई पनि यसरी उद्घोष गर्छन् कि, मानौं, उनीहरु आफ्नो जिउ सफा गर्न हैन, कुनै सार्वजानिक महत्वको काममा जाँदैछन् !

 

पिसाब फेर्न जाने कुरालाई सामाजिक शान्ती स्थापनाकालागि मुत्रत्यागको महान् यात्रामा जान लागेकाजस्तो सार्बजानिक घोषणा गर्नु जरुरी छैन । तर बानीको बन्धक भएपछि बिचरा गरुन् पनि के र !

 

कोही कोहीको ‘टुथपेष्ट’माथि ब्यभिचार गर्ने बानी कम हाँसउठ्दो छैन । एकपित्को ‘पेष्ट’कालागि बिचरी ‘टुथपेष्ट’को नाईटोदेखी नै निमोठ्ने अर्कामित्रको महान् बानी देख्दा यस्तो लाग्छ– उनि यौन उत्तेजनाको आगो टुथपेष्टको भुँडी निचोरेर शमन गरिहेकाछन् । त्यसैगरी पेष्ट प्रयोग गरिसकेपछि बिर्को नलगाई छोडिदिने बानी र दिशालय जाँदा चुकुल नलगाई गोब्र्याउने बानीपनि गजुरीयल जोकभन्दा कम लाग्दैन ।

 

पानाहरु पुस्तकका ईज्जत हुन् । पाना सफा राख्नाले पुस्तकको इज्जत जोगिन्छ, पुस्तकको इज्जत जोगाउन सकेमात्रै पाठकको प्रतिष्ठा बढ्दछ । तर कसै कसैको बानी के हुन्छ भने– पढ्दै, पानाको नाक भाँच्दै गर्दर्छौं । हुन त त्यो पढिसकेको अंश चिनो लगाएको हो, तर पानाहरु कुच्याउँदा कुच्याउँदा पुस्तकको रुप बुच्चो मान्छेजस्तो देखिंदो रहेछ । त्यसैगरी आफुलाई मन परेको प्रसंग कलमले ‘हाईलाईट’ गर्दा मान्छेको अनुहारमा गोबरको टीका दलेजस्तो हुँदो रहेछ ।

 

खप्परध्वज भान्जाको अनौठो बानीको कुरो गरौं । उनको हातमा टिभीको रिमोट परेपछि कुनैपनि च्यानलले थकाई मार्न पाउँदैनन् ‘आस्था’देखी ‘फेसन’सम्म चाहार्दा पनि न ‘दुर नियन्त्रक’ले शान्ती पाउँछ, न त ‘दुर दर्शन’ले π एउटा च्यानलमा एकमिनेट अडिन सके त मर्नु ! न आफूले केही हेर्छन्, न त अरुले हेर्न पाउँछन् ।

 

त्यसैले भान्जाको रिमोट उनकी श्रीमती र बच्चासँगमात्रै रमाउँछ π किनभने उनी रिमोटलाई माया हैन, हातपातमात्रै गर्छन् रे !

 

प्रश्नको उत्तर प्रश्नबाटै दिने बानी झन् गज्जबको हुन्छ । ‘आराम हुनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफ ‘के भएको छ र बिरामी हुनलाई ?’ आउँदा कम्ति हाँस उठ्दैन । ‘के छ ?’ ‘कस्तो छ?’को जवाफ ‘ठिकै छ’ ‘राम्रै छ’को साटो ‘के बेठिक छ र ?’ ‘किन नराम्रो हुनु र ?’ भन्ने बानी क—कसको छ, हात उठाउनोस् त ।

 

पाहुना जाँदा, पार्टी खाँदा देखिने अनौठा बानी नियाल्नु भा’छ ? हात पुच्छ्न राखेको ‘नेप्किन’ चपाएर ‘आष्ट्र्े’मा जम्मा गर्ने महान्बानी ख्याल गर्नु भा’छ ? दाँत कोट्याउन ल्याएको ‘टुथपिक’ले कान कोट्याउँदा कता कता टाउको दुखेको ओखती नाइटोमा दलेजस्तो लाग्दैन !?

 

मेरो आफ्नै एउटा छि:लाग्दो बानी थियो, जे भेटेपनि टोक्न थालिहाल्ने π कैले हजारको नोट टोक्दै हुन्थें, आधा भएपछि बल्ल थाहा हुन्थ्यो π कैले सर्टको कल्लर चपाउँदै हुन्थें, सरले ‘भात खाईनस्’ भनेपछिमात्र होस आउँथ्यो π कलम टोक्दै हुन्थें, ‘होमवर्क’ भन्नासाथ….झसंगै !

 

यस्ता अनौठा स्वभावहरु मान्छेका नियत हैनन्, नानी लागेका बानीहरु हुन् । समयक्रममा जानी नजानी मानिस ‘बानी’को गुलाम बन्नपुग्छ, बन्दैछ र बनिरहँदो रहन्छ । अर्घाखाँचीको कुरा गरिरहेको बेला कराँचीको प्रसंग उठाएर बिषयलाई बिजोग बनाउँछ । रुँनुपर्ने ठाउँमा हाँसिदिएर वातावरणलाई हरिबिजोग पार्छ । यस्ता बानीहरु कि ध्यानले छुट्दा रहेछन्, कि त ज्ञानले हट्दा रहेछन् ।

 

त्यस्तै मेरो एउटा । ‘महान् बानी’ ज्ञानले छुटेको छ । रत्नपार्कमा आमसभा थियो । लक्ष्मण गाम्नागे सहित् बदाम खाँदै बसेका थियौं । बदाम सकिएको पत्तै भएन, बोक्रा चपाउँन थालिएछ । साथीहरुले सबै बोक्रा हटाई दिएछन् । म भाषण सुन्दै आफ्नै तालमा दुबो, काठका मसिना टुक्रा टोक्दै थिएँ, एक्कासी जिब्रोमा नमिठो गन्ध ठोकिन आईपुग्यो । यसो हेरेको, उहिलेदेखी सुकेको गोबर पो चपाउँदै रहेछु π त्यो दिनदेखी मैले होस सम्हालेंकोले ‘टोकटाक बानी’ दोहोरिएको छैन ।

 

नयाँवर्षले हाम्रा बानीहरु परिवर्तन गर्ने उत्प्रेरणा मिलोस्, सबैलाई शुभ कामना ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com