आमाको बुलाकी र बुलाकी बिनाको अनुहार

मिति: बिक्रम संवत् २०४५
स्थान: हिमालय मा.बि. दमक (झापा) ।
समय: दिनको १२ बजे
वातावरण: बासघारीमा चराचुरंगी कराएजस्तो ।

टिफिनको बेला छ । बिद्यार्थीको भेला छ । चटपटे बेच्नेको मेला छ । छोला बनाउनेको खेला छ । कोही बरफ चुस्दैछन् । कोही बदाम खांदैछन् । गिराउनको दक्षिण कुनामा चना-च्यूरा खानेको भिंड छ । उत्तरपटि थुक्पा, चाउचाउको लाईन छ । त्यही भिंडमा म गोजीमा हात हालेर यताउता गर्दैछु । मलाई थाहा छ, गोजी रित्तो छ । र, योपनि थाहा छ कि यो कुरा थाहा दिनुहुन्न, खिसि गर्छन् । त्यसैले गोजी खाली भएपनि सानका साथ गरम भएको स्वाङ् पार्दैथिएँ ।

चटपटे बनाएको ठाउँमा जान्छु । चटपटे बनाएको, दिएको र खाएको प्रत्येक गतिविधि नियाल्दैछु । अर्कोले खाईसक्दा म पनि मुख चपाएझैं गरेर ढ्याउ गर्छु । फेरी छोलामा पुग्छु । हेर्छु । लामो स्वास तान्छु, र, अघाएको ‘मन मैथुन’ गर्छु । त्यसपछि कक्षातिर लाग्छु । 

‘साथीहरुका अगाडी खाली मुख चलाउँदा चलाउँदा मुखै बांगिन आँट्यो, चटपटे खाने पैसा दिने भए देउ, नत्र स्कुल जाँन्न ।’ एकदिन आमा मन्त्रालयमा मागपत्र बुझाएँ । मन्त्रालयको अर्थ विभाग अत्यन्तै कमजोर थियो, आमाले तितो प्रतिकृया दिईन्, ‘हातलाई छैन खुट्टीलाई फ्याट फ्याट्, भुँडीलाई छैन मुखलाई च्याट् प्याट् ।’ मलाई थाहा थियो, आमाले माग पुरा गर्न सक्दिनन् तर पनि घुर्कीपत्र सुनाएँ, ‘त्यसो भए भोलीदेखी स्कुल जाँदै जाँन्न ।’

 


आमामात्र एउटा त्यस्तो सत्ता हुन् जो आफ्ना सन्तानका अप्ठ्याराभन्दा अप्ठ्यारा मागहरु पुरा गर्ने प्रयास गर्छिन् ।

‘सुठ्ठी साराे गरिस् हाओ नानी, मसँग बाँकी रहेको यही बुलाकी हो, ला, बेचेर खाजा खा !’ आफुसँग रहेको एकमात्र गहना फुकालेर मतिर हुत्याई दिईन् ।

मलाई सानै देखी गहना फोबिया छ । सिक्री, औंठी, टप, कुण्डल लगाउँदा अहिले पनि जिउ चिलाउँछ । अहिले पनि एकदमै सिकसिको लाग्छ जब निधारको बिन्दी झरेर आङ्मा देख्छु । गलाको सिक्रीमा धागो र रौं बटारिएको भेट्छु । औंठीमा काती र हुपसियोको प्वालमा फोहोर जमेको देख्छु । 



आमाको बुलाकी हेरें, अनुहारमा नजर लगाएँ । बुलाकी बिनाकी आमा ‘आमा’ हैनन्, कुनै मगन्ते बुढी झैं लाग्यो । उनका आँखामा हेरें, राता राता आँखाबाट आँशुका सेता ढिका टिलपिलाउंदै थिए । आँशुका ढिकाभित्र अभावकाे बेदना थियो । सन्तानलाई पेटभरी खान दिन नसक्नुको पीडा झल्झल्ती देखिन्थ्यो । मुखले केही नभनेपनि आमाका आँखामा पीडाका दृष्यहरु चलचित्रझैं लाग्दथ्यो । ३१ बर्षको उमेरमै पति वियोगको मार । त्यसमाथी सात सन्तानको भार । नियमित आयश्रोतको अभाव । आमाले चाहेरपनि पकेट खर्च दिन सक्ने स्थिति थिएन ।

 

 

अकस्मात मेरो मनमा अनौठो आईडिया आयो । आईडिया कुनै सोच विचार गरेर आएको थिएन । सायद, अभावसँग जुधिरहेकी आमाले मनमनै परमात्मा पुकारिन् होला ! परमात्मालाई आमाप्रति दया लाग्यो होला ! त्यही परमात्माले सूर्यको किरण मार्फत मेरो मष्तिष्कमा समाधानको तरङ्ग पठाई दिए होलान् ! त्यसैले त्यो आईडियाले काम गऱ्यो होला ! अहिले संझँदा मलाई यस्तै लाग्छ !!

‘तिम्रो बुलाकी फिर्ता लैजाउ फुपु ।’ मामाका छोराछोरीले आमालाई फुुपु भन्थे । त्यसैले मैंले पनि आमालाई १५ बर्षसम्म फुपु नै भनेर संबोधन गर्दथें । एउटा सिन्काले बुलाकी टिपें, हातमा राखिदिएँ, अनि आमाको आँशू पुछ्दै भनेें, ‘अब कहिल्यैपनि पैसा मागेर रुवाउदिँन ल फुपु ।’ यति भनेर म चुपचाप बाहिरिएँ । त्यो रात घर आईंन ।

 


कहाँ गएँ होला त ?

‘आज हामेर्कैमा बस ल ?’ हेमराजले भन्यो । हेमराज गौतम, ढाँडघरे कान्छाको छोरा । ढाँडघरे कान्छा, मित मामा । मितमामाको छोरा, हेमराज मेरो सबैभन्दा मिल्ने साथी । त्यसो त पुरै गाउँ मेरो मावली घरजस्तै थियो । बुढाथोकी मामा, कर्कीनी माईजु, दमिनी हजुर आमा, तामाङ् साईला मामा, धिमाल्नी कान्छी माईजु । पुरै गाउँले मेरी बिधवा आमालाई चेलीको रुपमा संरक्षण दिएको थियो ।

त्यो दिन म हेमराजकैमा बास बस्ने उदेश्यले गएको थिएँ । तर, बस्छु भन्न अप्ठेरो लाग्यो । हेमराजलाई भनें, ‘अब जान्छु ल ?’ ढाँडघरनी माईजुले सोझैं नकारिन्, ‘आज भान्जा रातभरि गीत गाउंदै बस्ने यतै ।’ के खोज्छस् कान्छा, माया ! भनेजस्तै भयो । दुईरात त्यहीं बसें । त्यसपछि पँडेनी मित आमाकोमा गएँ  । अर्को दिन ढुकुरपानी बुढी मावलीमा रात काटें । यो बेलासम्म म कहाँ छु, घरमा कसैलाई थाहा दिईंनँ ।


पाँचौं दिनमा घर फर्किएँ, ‘फुपु, मलाई दुईमाना चामल देउ त ।’ आमालाई सरप्राईज दिएँ । ‘कहाँ मुन्ट्या थिईस् ए, आधा मासु पारेर ?’ माया मिश्रित शब्दमा आमाले झाँको झारिन् । मैले डराउँदै जवाफ दिएँ, ‘खाजा खाने पैसा कमाउन ।’ आँशु झर्ला झर्लाजस्तो आँखा लिएर आमा नजिक आईन्, र टाउको सुम्सुम्याउँदै भनिन्, ‘जा, बटुकामा बासीभात होला, नुन र मोहीसँग खा ।’ आमालाई थाहा थियो, मलाई नुन र मोहीसँग भात खान पाए खिरपनि नमीठो लाग्थ्यो ।

मैंले भनें, ‘भात हैन, मलाई दुईमाना चामल दिनु ।’ आमालाई फेरी पीरको भारीले थिच्यो । दुईमाना चामलपनि आमाकालागि ठूलो कुरा थियो त्यसबेला । ‘किन चाहियो ?’ मैले भनें, ‘मैले ४ दिनको ८ छाक भात घरमा खाएको छैन, त्यसको साटो दुईमाना चामल चाहियो ।’ आमाले मेरो गणित बुझ्न सकिनन् । सायद, फेरी घरबाट भाग्ला भन्ने डरले होला, खुईंय सुस्केरा हालिन् र भारी मनले भनिन्, ‘लैजा है लैजा, त्यहीं गाग्रामा चामल रहेछ भने जति छ सबै लैजा ।’ आमाको आदेश पछि मैले माटोको गाग्रीबाट दुई किलो जति चामल निकालें ।

 


सर्टमा चामल पोको पारेर चुरवाल्नी साईंली माईंजुकोमा पुगें, ‘चोरेर त ल्याएको हैनौ नि कान्छा ?’ माईजुले सोधिन् । ‘फुपुले नै लैजा भनेकी हुन् क्या ।’ चामल देखाउँदै मैले जवाफ दिएँ । ‘पुर्वजन्ममा सुन पसले थियौ कि क्या हो, ठ्याक्कै दुईमाना रहेछ !’

माईजुले ‘चेष्ट बैंक’बाट पैसा निकालिन् । मेरो हातमा १ र २ का पुराना नोट थमाउँदै भनिन्, ‘लु, १२ रुपैया छ ।’ जीवनमा पहिलो पटक यति धेरै नगद समाउन पाएको मैले आफु निकै धनी भएको महसुस गरें । अनि, तुफान हानिएँ, अचार्ज मामाको घुम्ती दोकानतिर ।

‘मामा, यसको खुजुरा गरिदिनु न ।’ भरखर कुनै माग्ने साटेको रहेछ, मामाले आठ-आठ आनाका २४ वटा सिक्का दिए । हाप्पेनका दुईटा गोजीमा छिन्द्रिङ् छिन्द्रिङ् सिक्का बजाउँदै घरतिर दौडिएँ । सिक्का बजाउनुको एउटै उदेश्य थियो, टोलका साथीभाइले थाहा पाउन् कि मसँगपनि खाजा खाने पैसा हुँदो रहेछ !


अर्चाजको दोकान र घरको दुरी पुग-नपुग तीन मिनेटजति होला तर त्यो तीन मिनेटमा मेरो दिमागले ३ घण्टाको सिनेमा बनायो । भोली स्कुलमा टिफिनको घण्टी लाग्नासाथ छोला खान सबैभन्दा पहिले पुगेको, नारीबाट कुहिनुहुँदै काखीसम्म चुहाउँदै दुध बरफ चुसेको, दालमोठ र चिउरा चपाउंदै विद्यालय पुगेको, त्यो ग्यालेज-फ्रकवालीलाई चटपटे खुवाएकोजस्ता स्वैर कल्पना गर्दै म घर पुगें ।

‘आमा ।’ सधैं फुपु भन्ने मैंले आज अनौठोसँग ‘आमा’ संबोधन गरेको थिएँ । ‘फेरी के माग्न आएको ?’ आमाले झर्काे मानिन् । ‘माग्न आएको हैन आमा, आजमा तिमीलाई दिन आएको ।’ भरखर मेला सकेर आएकी आमा भात पकाउँदै थिईन् । ‘इ, लाउ ।’ चुलैमा पुगेर २४ वटा सिक्का पैसा उनको अगाडी हुत्याई दिएँ ।

अनि, नजिकै गएर भनें, ‘मैले मागेको बेला आठ—आठ आना खटाएर दिनु है, खाजा खान ।’ आमाले झस्किईन्, ‘कहाँबाट ल्याईस् ?’ डराउंदै भनें, ‘अघिको दुईमाना चामल तामाङनी माईजुलाई बेचेर !’

 


आमा हेरेको हेऱ्यै भईन् । ओठ थर्थराए । चिउँडो काँप्न थाल्यो । केही बोल्न सकिनन् । आँखा रातापिरा भए । मेरो सातो पुत्लो गयो । चड्कन खाएर तिन त्रिलोक देखेको कल्पनाले लल्ल्याक लुलुक भएँ । तर, आमाले मलाई च्याप्प अँगालो मारिन्, खोकिलामा च्यापिन् अनि भनिन्, ‘कति अभागी रहेछस् तँ, खाजा खाने पैसा समेत दिन नसक्ने आमाको कोखमा जन्मिईछस् !’ दुबैजना अँगालो मारेर एक छिन रोयौं ।

 


आमाले मेरो मेरो टाउको मुसारिन्, मैले उनको आँशु पुछि दिएँ, र भनें, ‘म अभागी हैन आमा, म सबैभन्दा भाग्यमानी छोरो हुँ । यदि बुबाको साटो तिमी बितेकी भए अहिले हामी कि मामाङ्खेमा भेडा चराउँदै हुन्थ्यौं कि त खेवाङ्मा कसैको हली बसिरहेका हुन्थ्यौं । तिमी थियौ र त आज मधेशसम्म आएर धानको भात खान पाएका छौं ।’

यी सबै कुरा दैलो पछाडी लुकेर केशब दाजु सुन्दै रहेछन् । दाजु पनि नजिक आए । मेरो टाउकोमा प्याट्ट हिर्काउँदै भनें, ‘बुबा नभएर के भो, बाबु समानको दाजु ज्यूँदै छु । तँलाई म एकदिन काठमाण्डौ लगेर धेरै पैसा कमाउने बनाउँछु !’ दाजुलाई हेरें, उनि पनि सुँकसुकाउँदै थिए ।

 


‘लु उठ्, आज स्कुल जानुपर्छ ।’ मजेत्रोको सप्कोले आँशु पुच्दै आमाले मलाई उठाईन् । ‘अबदेखि कहिल्यै पनि पैसा मागेर दु:ख दिंन्न, काठमाण्डौमा गएर धेरै पैसा कमाउछु अनि तिमीलाई अर्को बुलाकी किनिदिन्छु । नयाँ बुलाकी नकिनुन्जेल यो नफुकाल ल आमा । बुलाकी बिना त तिमीलाई कस्तो प्यात्ते बुढीजस्तो देखिन्छ ।’ आमा मुसुक्क हाँसिन् । दाजु र म बाहिर निस्कियौं ।

 


आमालाई आश्वासन दिएझैं आज मैले धेरै पैसा त कमाउँन सकिंन तर दाजुले भनेझैं म काठमाण्डौ आएर सयौं साथी समेटेको छु । हजारौं सहयोगी पाएको छु । लाखौं शुभ–चिन्तक कमाएको छु । मैले टेकेको धर्ती भासिँदा, ओडेको आकास च्यातिँदा, बोकेको आत्मविश्वास टुट्न खोज्दा पहरा बनेर मलाईं ढल्नबाट जोगाउने तपाईं‌हरु सबै शुभचिन्तकहरुकी आमाहरुलाई कोटी कोटी प्रणाम !

 


आज बिहान आमालाई मैलें यो कथा सुनाएँ र सोधें, ‘अब बुलाकी नलाउने आमा ?’ आमाले भनिन्, ‘जमाना बदलियो बाबै । बुलाकी त उ आजकालका ऱ्यापहरुले लगाउन थाले ।’ केशब दाईकी छोरी कृतिले लगाएको आधुनिक बुलाकीतिर संकेत गर्दै मुसुक्क हाँसिन् ।

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com