अहा, क्या गज्जबका राष्ट्रिय गीतहरु ! गाउने हैन त तपाईं पनि ?

‘सीताले सारा भिजाईन दक्षिण लंका भारत,
भृकुटी तारा उदाईन उतर चिन तिब्बत,
बुद्धले यही पाएथे ज्ञानको पहिलो मुहान,
शिवले यही ल्याएथे श्रृष्टिको पहिलो बिहान ।’

अहा, ओल्ड इज अल्वेज गोल्ड !  तर, गोल्डभन्दा महंगो बर्तमान् हो । माथीको राष्ट्रि्य गीत इतिहासको सुन्दर तस्वीर भएपनि यसले वर्तमान नेपालको वर्णन गर्न सक्दैन । यसकालागि बर्तमानकै गीत गाउन जरुरी छ । आज सीता, भृकुटीजस्तै अनुराधा र पुष्पाहरुले नेपालको शीर उचो बनाएका छन् । बर्तमान्को राष्ट्रि्य गीतहरुमा बिश्व चर्चित फेसन डिजाईनर प्रबल गुरुंगको गाथामा पनि गाइनु पर्दछ । समता शिक्षा अभियानका उत्तम सञ्जेल, धुर्मुस सुन्तली र रबिहरुको गाथा पनि यसरी गुनगुनाउनु पर्छ>>>

‘पुष्पाले सारा रिझाईन्, बिबिसी लण्डन बेलायत
अनुराधा कोइराला उदाईन, माइती नेपाल संसार
प्रबलले यहीं पाएथे, फैसनको पहिलो डिजाईन
उत्तमले यही ल्याएथे, सरल शिक्षाको बिहान ।’

‘हट्ने हैन, डटी लड्ने नेपालीको बानी हुन्छ, कहिले नझुक्ने शिर उठेको स्वाभीमानी नेपाली हुन्छ ।’ यसले नेपालीको एउटा स्वभावकोमात्रै बर्णन गरेको छ । हामीहरु सुरो, वीर, आँटी, लडाकुमात्रै छैनौं, शान्त, समावेशी, सहयोगी पनि छौं भन्ने गान कसले गाउने ? यस्तो गीत गायौं भने बिदेशीले हाम्रो लडाकुपन मात्र हैन, शान्तीपूर्ण आन्दोलनको सन्देसलाई पनि लिनेछन् । वीर गोर्खा लडाकुमात्र हैन, विवेकशील, नेपाली जनताको रुपमा पनि बुझ्नेछन् । इमान्दार कामदारमात्र हैन, महतो, घलेजस्ता समृद्ध मालिकपनि भएको थाहा यसरी पाउनेछन् >>>

‘लड्ने हैन मिली बस्ने नेपालीको बानी हुन्छ
कहिल्यै नथाक्ने, काममा झुकेको स्वाभीमानी नेपाली हुन्छ
रुसको कुना काप्चामा खोज, अष्ट्रेलियाको सडकमा खोज
जहाँ एउटा नेपाली हुन्छ, त्यहाँ सारा नेपाल हुन्छ ।’


राष्ट्रि्य गीतहरुमा प्रकृतिको वर्णन त छ, तर ज्यादै सीमित । गीतमा हिमाल, पहाड, तराई, डांडा, कांडा, गुरांस, लुम्बिनी, जलश्रोत, डाँफे, मुनाल आदिको मात्र गीत गायौं । के यो सयौं बर्षबीचमा नेपालले गर्व गर्न लायक अरु प्राकृतिक परिवर्तन भएनन् होला ? हामीसँग हिमालमात्र छैन, रोमाञ्चक हिमाली पदयात्रा पनि छ । पहाडमात्र हैन, पहाडमा पाईने बिश्व प्रसिद्ध बोधी चित्त र रुदाक्ष पनि छ । गुराँसमात्र हैन, गुराँसको वाईन छ । लुम्बिनीमात्र हैन, शान्तीको शन्देश पनि छ । डाँफे, मुनालमात्र हैन, शान्तीको प्रतीक परेवा पनि छ । प्रेमको प्रतीक ढुकुर छ । इमान्दारिताको प्रतीक कुकुर छ । राष्ट्रि्य गानमा यी चिजलाई समेत समेटेर ‘ओल्ड इज गोल्ड, प्रिजेन्ट इज लिजेन्ट’ यसरी बनाउनुपर्छ>>>

‘भोजपुरको दिङ्ला राम्रो रुद्राक्षको रुख
बोधीबृक्ष तिमालतिर, जनतालाई सुख
काठमाण्डौका परेवा र गाई लुखुर लुखुर
हिमालको भोटे कुकुर, पहाडको ढुकुर ।’


देश बचाउने बलभद्र, अमरसिंहहरुको गौरवपूर्ण इतिहास छ । राज्य एकिकरणमा पृथ्वी नारायण, बिसे नगर्ची, लखन थापाहरुको योगदानमा थुप्रै सिर्जना भएकाछन् । तर, बर्तमान नेपालका त्यस्ता पात्रहरु छैनन् होला, जसको सम्मानमा गीत, कविता, सम्मान ब्यक्त गर्न सकियोस् ? अबको राष्ट्रि्य गानमा, तराईका सीमानामा बस्ने बिन्देश्वरको बारेमा गित गाइनुपर्छ । मेची र कालीका पिल्लर जोगाउने दिदीबैनीको कविता कथिनुपर्छ । लोकतन्त्रका सिपाहीं पनि सिर्जनाको बिषयबस्तु हुनुपर्छ । अरबका मरुभुमीका श्रमसँग ज्यान साट्ने दाजुभाइ पनि राष्ट्रि्य गीतको बिषय बन्नुपर्छ ।

‘टाइसुटमा ठांटिएर टिभीमा राष्ट्रि्यता भन्दै कुर्लने नेताभन्दा
सिमानामा लडेर देश जोगाउने मधेशका नेपालीहरु मन पर्छ
ब्रिफकेस बोकेर सदनमा, आर्थिक स्तर बढ्यो भन्दै उफ्रने मन्त्री भन्दा
अरबको बालुवामा पिल्सिएर रेमिटेन्स पठाउने बिदेशका नेपालीहरु मन पर्छ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com