बडीगाडको किनारमा हाँसी रहेका अर्ग्यानिक फूलहरु : कमेडी एक्सनको पब्लिक रियाक्सन

यी हँसिला अनुहारहरू ‘बडि गाड’ किनारका अर्ग्यानिक फूलहरु  हुन् ।  प्रष्ट पारौं,  बडी अर्थात्  ठुली, गाड अर्थात् खोला ! बडी गाड ढोरपाटनबाट उत्पति भएर बागलुङ, गुल्मी, स्याङ्गजाहुँदै नारायणीमा मिसिन्छ  ।


अहिले बुर्तिवाङमा छु । बुर्तिवाङ पश्चिम बागलुङको  ढोरपाटन नगरपालिकाको केन्द्र हो  । वरिपरि अग्ला डाँडाले घेरिएको बुर्तिवाङ राजनैतिक रूप ले सचेत जनताको क्षेत्र हो । सादगी नेता चित्र बहादुर केसीको क्षेत्र भए पनि यहाँ मेयर/उप मेयर दुवै एमालेले जितेको छ ।


कांग्रेस, माओवादीको पनि  पकड रहेको ढोरपाटनका धेरै युवा जापान, युके लगायत खाडीमा  काम गर्छन् । विदेशको श्रमबाट ढोरपाटन क्षेत्रमा राम्रै प्रगति भएको देखिन्छ । ढोरपाटन  वन्यजन्तु आरक्ष यहाँको प्रमुख पर्यटकीय गन्तब्य हो ।


संघीयताको आगमनसँगै आफूलाई राष्ट्रको मूलधारसँग जोड्न ढोरपाटनले यो  पटक ‘प्रथम ढोरपाटन  महोत्सव ‘ लगायो । यही कार्यक्रममा आतिथ्यता ग्रहण गर्न म आज बुर्तिवाङ पुगेको छु ।


प्रस्तुत छ, ‘गजुरीयल मोटिभेसनल कमेडी’मा रमाई रहेका बागलुंगे जनताहरूको फोटो कथा- ‘बडी गाडको किनारमा हाँसीरहेका अर्ग्यानिक फूलहरु :-


‘धन्यवाद बैनी शीतल शर्मा, मपनि एक्लै छु घरमा…(हाँसो) । विगत बितिसक्यो, ती कुरा छौडौं, आऊ अब  घरबार जोडौँ… (ताली+हाँसो) मेरा लागि  भाउजु खोज, तिम्रा लागी ज्वाइँ खोजौंला….(हाँसो+हुटिङ्+ताली) । ठट्यौलो शैलीमा मञ्चमा बोलाउने सञ्चालिकालाई मेरो जवाफ जवाफ थियो यो ।


त्यसपछि म सोझै दर्शकसँग जोडिएँ , ‘ तपाईं गाउँले, म पनि गाउँले…। मेरो गाउँ खेवाङ, तपाईंको बुर्तिवाङ…(सानो हाँसो) । तपाईं बागलुङे तर तपाईंको गोठमा बाघ छैन…(मध्यम हाँसो) । म ताप्लेजुङे, मेरो ओठमा  पनि जुङ्गा छैन……(हाँसो+ताली+हुटिङ्)


त्यसपछि म मञ्चासिन मेयर तिर सोजिएँ, ‘मेयर साब, हामी ‘बडिगार्ड’को किनारै किनार आउँदै थियौं, दोहोरी र अन्ताक्षरी गाउँदै थियौं । धुलाम्य बाटो थियाे । ‘सु’रिनटारमा गाडी रोकियो । फर्कने बेलामा ड्राइभर भाइ हराए, त्यहाँ नौलो मान्छे देखियो । मैले सोधें, ‘तपाईं को हो ?’ भन्यो, ‘म पनि ड्राइभर हुँ, मेरो पेसेन्जर खोज्दैछु ।’


मैले भनेँ, ‘म पेसेन्जर हुँ, मेरो ड्राइभर खोज्दैछु ।’ नजिक पुगेर हेराहेर गर्यौँ । हामी उही थियौं जो एक अर्कालाई खोजी रहेका थियौं । बागलुङ-बुर्तिवाङ सडक खण्डको धुलोले पुरिएर एक अर्कालाई चिन्नै नसक्ने भएछौं….(हाँसो+ताली+सुसेला)

‘यस्तो अद्भुत संयोग सुनेर दुवैजना प्रचण्ड शैलीमा कुम उचाल्दै हाँस्यौ । हाँस्दा हल्लियर धूलो झर्यो अनि त्यही अनुहार लिएर यहाँ आई पुगेको छु…. (सानो हाँसो) ।’


‘मेयर साप, कम्तीमा तपाईंको यो ढोरपाटन नगरपालिकाभित्र पर्ने सडक सुधार गरिदिनोस्, अर्को चुवावमा तपाईं निर्विरोध नत्र जमानत जफत …….(३० सेकेन्डसम्म साई साई र सुई सुई सहितको ताली)

मैले आयोजक अध्यक्ष चिन्तामणि शर्मालाई सोधेँ, ‘याे नगरपालिका कत्रो छ ?’ उत्तरतिर अजङ्गको पहरो देखाउँदै सल्लाहकार टीकाराम पौडेलले जवाफ दिए, ‘ए, जातिवित्ती ठूलो छ । ऊ….त्यो पहरो नगर पालिकाको ३ नंं वडा हो । यताको पहिरो भएको ठाउँ ७ नम्बर, ढोरपाटनको पुरै जंगल, तपाईं आउँदा भेटिएको भत्किएको पुल, यताको गोरेटो देखि त्यतको घोडेटो, बगर, पहरो, पहिरो सबै नगरपालिका पर्छ….. (ताली सहितको लामो हाँसो)


नगर भनेको  सिटी,  सिटी भनेको शहर, सहर भनेको सुविधा सम्पन्न इकाई । तर सामान्य सुविधा पनि नभएका बजारहरुलाई समेत नगरपालिका घोषणा  गरेर सरकारले मैंलेभन्दा बढी हँसाई रहेको छ । त्यसैले ए सरकार, नगरपालिकालाई नगरजस्तो बनाऊ, कर बढाउने मेसिनमात्र नबनाऊ । गाउँलाई शहर भनेर नझुक्याउ । गाउँलाई गाउँजस्तै शान्त, सुन्दर र सभ्य रहन देऊ…….. (तालीको निरन्तर आवाज)


ताली बजाई रहेकी आमा तिर हेर्दै भनेँ, ‘ आमा, तपाईं बस्ने गाउँ र म बस्ने शहरमा धेरै भिन्नता छ । शहरमा भिँड हुन्छ तर भिडमा पनि  मान्छे एक्लो महसुस गर्छ । गाउँ खुकुलो हुन्छ तर आफूलाई सुरक्षित ठान्दछ । शहरका महलहरू टाँसिएका हुन्छन् तर एउटै घरमा पनि बोलचाल हुँदैन, गाउँमा घरहरू टाढा टाढा हुन्छन् तर टाढाका संगपनि साइनो लगाउँछन् । शहरमा ठूला ठूला महल हुन्छन् तर महलभित्रका मनहरु गुम्सिएका हुन्छन् । गाउँमा स-साना घरहरू हुन्छन् तर घरमा बस्नेहरूको मन स्वतन्त्र र विशाल हुन्छ…..(तालीको ननस्टप आवाज)


अघिल्तिर केही वच्चा हरु अनावश्यक होहल्ला गर्छन्  । बोल्न छोडेर म उनीहराई एक टकले हेरी रहन्छु…..(दर्शकको हाँसो) । बच्चाहरु डराउँछन् ।


म उनीहरूलाई फकाउँछु, ‘ कराउ नानी बाबु कराउ, जति मन लाग्छ त्यति कराउ । हल्ला गर, डिस्टर्ब गर । यता र उता दौड । यसमा तिमीहरूको कुनै दोष छैन । जस्तो टिचर त्यस्तै विद्यार्थी, जस्तो माम्मी पापा त्यस्तै बेटाबेटी…कर्मको फल…..(बच्चा पार्टीको जोडदार ताली)


केही क्यामेराहरू मतिर सोझिन्छन् । सायद लोकल युट्युबर होलान् । ‘मेरो सुपर मार्केटका अर्ग्यानिक सामाग्री निशुल्क हेर्न पाइन्छ तर  तपाईंको युट्युब बजारमा बेच्न निषेध छ । विद्वान मान्छेले आफैं कुरो बुझ्छन्, क्यामेरा बन्द गर्छन्, घरतिर कुद्छन् …. (हाँसो र ताली) ।


एउटी किशोरी फोटो लिन मोबाइल तेर्स्याउछिन् । म भन्छु, ‘मलाई थाहा छ नानी, यो मोबाइल तिम्रो कमाई हैन….(हाँसो) तिम्रो बाबाले अरबमा रगतसँग साट्नु भएको हो । भाइले लगाएको जुत्ता मम्मीले इजराइलमा पसिना बगाएर किन्नु भएको हो । आमा, तपाईंको छानामा ठडिएको डिसहोम छोराले जापानमा गरेको दुःखको प्रतिफल हो । भाइ, तपाईंले चढ्ने बाइक तपाईंकी पत्नीले कुवेत कतारमा हड्डि घोटेर गुडेको हो…….(ताली निरन्तरता)


बिन्ती , यसको दुरुपयोग नगरी दिनुहोला । आफू दुःखको पोखरीमा डुबेर तपाईंलाई सुखको बगैंचामा राख्न विदेशिएका तपाईंका श्रीमान, श्रीमती, छोरा, छोरीको सम्मानमा एउटा धन्यवादको तरङ्ग पठाई दिनोस्…..(ताली, ताली अनि निरन्तरको ताली)


‘आमालाई निकै घत परेछ । धेरै नहाँस्नोस्, बाले उपहार दिनु भएको नक्कली दाँत उछिट्टिएला..(हाँसो) । छोराले अर्को दाँत किनिदेला भन्ने आशमा किच्च नगर्नोस् । आमा, आजका छोरा-बुहारी आमा मर्नासाथ कात्रोले छोप्नु भन्दा पहिले तपाईंको फुली लुच्न आई पुग्छन् ….(ताली..ताली…अनि ताली) ।’


‘बुझ्नेले बुझेर हाँसी सके, नबुझ्नेले अर्को साल बुझ्नु हुनेछ….(हाँसाे) । गैंडालाई पनि अहिले काउकुती लगायो भने छ महिनापछि थाहा पाउँछ रे, तपाईं हामी त मान्छे हौ …..(हाँसो )। वर्षदिन त लागि हाल्छ नि बुझ्नलाई ! (फेरि हाँसो) महा-सचिवले अघि भन्दै हुनुहुन्थ्यो, ‘तपाईँलाई फेरि बोलाउँछौं ।’  किन होला भन्ठानेको त अहिले नबुझ्नेलाई बुझाउन पो रहेछ….(हाँसो, मात्र हाँसो) !

‘मञ्चमा आसिन नेताजीहरु मन नलागी नलागी यसरी हाँसी रहनु भएको छ कि, कतै मैले करङ सोझिने गरी व्यङ्ग्य नहानौ….(हाँसो) । मैले केही भन्नै पर्दैन,  जनताले भनिसके-‘भोटका भकारी ! गाडी चड्ने सरकारी ! तलब खाने डकारी डकारी ! अंतिम मौका पाउनु भाछ, काम गर्नुस् नत्र जनताले पठाउलान् लघारी..(ताली) ।


मैले नेतालाई व्यङ्ग्य गरें भनेर दङ्ग नपर्नुस्, नेतालाई साँढे बनाउने हामी जनता नै हौं । ‘भोट हाल्ने हामी हौं, हामी नै हौं जिताउने, जनताले भलो चिताउने, नेताले बिताउने !’


करिब १ घण्टा २० मिनेटको प्रस्तुतिपछि सबैलाई धन्यवाद दिँदै म पोखरा तिर लागें ! त्यहाँ भन्न भुलेको एउटा ‘गजुरीयल डट.कम’ बाट सुनाउँदैछु,
‘कञ्चनजंघाको काखमा जन्मिएँ, धवलागिरीको छायाँमा आएको छु,
हाँसो दिएर ताली त अंत पनी खाएको छु,
तर ढोरपाटनमा ताली र माया दुबै पाएकाे छु !

सबैको मंगल होस्, सधैंको मंगल होस् !!

तस्वीर : झरना कँडेल
    रेडियो बुर्तीवाङ, बागलुङ

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com