यस कारण मैले सिनेमा खेलिंन….अनि मैले सिनेमा खेल्ने निर्णय गरें…
प्रकाशित मिति: ९ बैशाख २०७५, आईतवार ००:१६
मेरा लागि सबैभन्दा अप्ठ्यारो प्रश्न हो, तपाईंले चाहिं अहिलेसम्म किन फिल्म खेल्नु भएन ?’ ‘खेल्न मन नलागेर’ भनौं भने सिनेमा मोह सानै देखिको हो, ‘मौका नपाएर’ भनौं भने केही प्रश्ताब आएकै हुन् । तरपनि अहिलेसम्म सिनेमा मेरो प्राथमिकतामा परेको थिएन । हुनत ठूल्ठूला प्रश्नको उत्तर ठूल्ठूला मान्छेले पनि दिन सक्दैन् । अधिकांश मानिसहरू किन जन्मिएको हुँ, किन बाँची रहेको छु भन्ने समेत थाहा नपाई मर्दछौं । त्यस अर्थमा आजसम्म फिल्म नखेल्नुको कारण भन्न नसक्नु सामान्य हो ।
अहिले संझदा यस्तो लाग्छ, म रंगमञ्चकै लागि जन्मिएको थिएँ क्यारे । जतिबेला कलाकर्ममा पसें, त्यतिबेला म प्रगतिशिल बिचारले अलि बढि नै बाँधेको थियो । यस्तो लाग्थ्यो, सिनेमा बुर्जुवाको क्षेत्र हो । जब सिनेमाको माध्यामबाट पनि जनताका कुरा सम्प्रेषण गर्न सकिन्छ भन्ने बुझियो, त्यसबेला सम्ममा म रंगमञ्चमा उक्लिई सकेको थिएँ, मज्जा त्यसैमा थियो । नढाँटी भन्नु पर्दा १२/२० का मञ्चहरुमा ‘एकल उत्पात’ मच्चाउँदै आएको म क्यामेराको फ्रेममा कैद हुन आँट पनि नआएको हो ।
आफ्नै ‘माईन्ड स्क्रिप्ट’ फरर दौडने मलाई सट र कटमा बाँधिन सक्ंिदन जस्तो लाग्थ्यो । त्यसमाथी सयौं वाटको लाईटको साथमा आफुतिर सोझ्याईका ठूल्ठूला क्यामरा, क्यामरा हैन मेसिनगनजस्तो लाग्छ । यसलाई ‘क्यामेरा फेस गर्न नसकेको’ भनेपनि हुन्छ । यसको पनि रमाईलो कारण छ, पछि भनौंला ।
एकदिन बागमती सफाई अभियानमा फिल्मकर्मी रज्जु प्रधानसँग भेट भयो । सामाजिक, धार्मिक र व्यावहारिक रज्जु दिदीसँग अग्ला, कम बोल्ने, गम्भीर प्रकृतिका निर्देशक राम शरण पाठक पनि थिए, जसले ‘ओल्ड कप इन नेपाल’, ‘ठेगाना’, ‘प्रेम गीत २’ जस्ता सिनेमाको सफल निर्देशन गरेका थिए । कुरै कुरामा सफाई अभियन्ताहरुले एउटा सन्देश मुलक सिनेमा बनाउनु पर्ने र मनोजजीलाई खेलाउने कुरो उठ्यो । मैले भनें, ‘एउटा सक्रिय अभियन्तालाई असफल बनाउनु छ भने उसलाई मन्त्री बनाइदिनु पर्छ ,रङ्गमञ्चको एउटा सफल कलाकारलाई सिध्याउनु छ भने सिनेमा खेलाऊनु पर्छ ।’
मेरो तात्पर्य म सिनेमाका लागि हैन, रङ्गमञ्चका लागिमात्र बनेको हुँ भन्ने बुझाउनु थियो । अरु अभियन्ताहरु सहमत भएपनि निर्देशक राम शरण पाठकले भिन्न मत राख्दै भने, ‘बरु सिनेमाको मान्छेले रङ्गमञ्चमा काम गर्न नसक्ला तर रङ्गमञ्चको मान्छेलाई सिनेमामा काम गर्न/गराउन सजिलो हुन्छ ।’
दयाहाङ राई, प्रवीण खतिवडा, सुदाम सिके, विजय बराल, सरिता गिरी, दीपक राज गिरी, दीपाश्री निरौला, जीतु नेपाल लगायतका सफल फिल्मकर्मीको उदाहरण दिँदै रामशरणजीले थपे, ‘तपाईं जन्मिएको कलाकारिताका लागि हो, माध्यम मञ्च, टिभी, ठूलो पर्दा जे पनि हुन सक्छ ।’ मैंले भनें, ‘ति साथीहरु बहु प्रतिभाशाली कलाकार हुन्, समूहमा काम गर्न सक्ने क्षमता छ । तर म स्वतन्त्र साँढे जस्तो कलाकार हुँ । मलाई माफ गर्नोस् ।’ आफ्नो कमजोरी सुनाए ।
त्यसपछि उनले एउटा पेनड्रईभ दिए । त्यसमा ‘दैलो’ नामको छोटो सिनेमा थियो । त्यो सिनेमा माओवादी युद्ध र त्यसले ग्रामीण समाजमा पारेको सामाजिक, मानसिक, आर्थिक र मानवीय समस्यामा केन्द्रीत थियो । कुनै सम्वाद बिनाको ‘दैलो’ कमै सिनेमा हेर्ने मेरो छोरोले पनि पुरै हेर्यो, आँसु समेत झार्यो । सबै नयाँ अनुहारको भूमिका रहेको ‘दैलो’का सबै कलाकार नयाँ छन् तर अभिनय उत्कृष्ट छ ।
यसको गज्जब बिषेशता के छ भने, ती सबै पात्रहरुको पहिलो र अन्तिम सिनेमा पनि यही थियो । भन्नुको मतलब उनीहरू कोही पनि कलाकार थिएनन्, सबै सामान्य गाउँले थिए । उनिहरुलाई रामशरणजीले यसरी अभिनय गराएका छन् कि कुनै स्थापित कलाकारभन्दा कम छैन उनिहरुको अभिनय ।
रामशरणजीको निर्देशकीय क्षमता, बिषयको गाम्भिर्यता र ‘कन्भिन्सिङ पावर’बाट म प्रभावित भएँ । ‘प्रेमगीत २’को विशेष शोमा फेरि रामशरण जीले भने, ‘अब तपाईंले सिनेमा गर्नु पर्छ ।’ मैले भनें, ‘मेरो सामाजिक चरित्र र सिनेमाको चरित्र मेल खानु पर्छ ।’ रामशरणजीले बाचा दिए, ‘हल्का पात्रको रुपमा हैन, तपाईंको समाजमा जस्तो परिचय छ, त्यस्तै रुपमा प्रश्तूत गर्ने हो ।’…..अनि म ‘सयकडा १०’ नामको ‘सोसियो-प्रोफेसनल’ सिनेमामा सहभागी हुन पुगें ।
‘सयकडा १०’मा अग्रज कलाकार राजाराम पौडेल सम्धिज्यूसँग धेरै कुरा सिक्न पाएको छु । अमृत ढुंगाना, उत्सव न्यौपाने, अमित पोख्रेल, करुणा श्रेष्ठजस्ता युवा कलाकारसँग सहकार्य गर्दा मलाई भरखर २२ बर्ष पुगेको २२ बर्षमात्रै भएको महसुस हुन्छ । बर्मिज नेपाली कलाकार सोनिया राइसँगको कामले संसारभरका नेपाली भाषीलाई जोड्ने मेरो सपना पुरा हुन शुरू भएझैं लाग्दैछ । तर, रङ्गमञ्च मेरो लागि पहिलो प्राथमिकता थियो, छ र रहने छ । कला मार्फत् सामाजिक रुपान्तरणमा क्रियाशिल रहने, संसारभरका नेपालीभाषीलाई जोड्ने र भ्रष्टाचार रहित समाज निर्माण गर्ने सपना ‘सस्तो मनोरञ्जन’मा बिक्ने छैन ।
श्रमजीवि, सीमान्तकृत र गरिखाने जनताको पक्षमा मेरो कलम, मेरो कला र मेरो कर्म चलिरहने छ । मजदुरका क्याम्पहरुमा, किसानका खेतहरुमा, विद्यार्थीका कक्षा कोठाहरूमा, राष्ट्र सेवकका कार्यस्थलमा, देशभक्तहरूको ऱ्यालीमा, अभियन्ताका अभियानहरुमा सधैं भेटिने छु, कहिले रुवाउँदै, कहिले हँसाउदै, कैले उत्प्रेरित गराउँदै, कैले उत्साह जगाउँदै ! म दुुर आकासको ‘स्टार’ हैन, यही समाजको ‘दियो’ बन्न चाहान्छु । कम्तिमा आफ्नै वरिपरी उज्यालो छर्न सकुँ ।
जीवन र जगतमा बाँच्ने मेरो आफ्नै सिद्धान्त छ । पर्दामा देखिने रूप र संसारमा देखिने स्वरूपमा विरोधाभास हुनुहुन्न, कलाजस्तै हुनुपर्छ व्यहोरापनी । यो सिद्धान्तलाई ब्यवाहारमा लागु गर्न मैले कति सक्छु थाहा छैन तर प्रयास जारी रहन्छ । तपाईंको सुझाव -सल्लाह रहि रहे म बिजी पनि हुनेछु, ईजि पनि हुनेछु । सबैको मंगल होस्, सधैको मंगल होस् ।