खुट्टा काट्ने प्रमको मन्तव्य : युरोपेली युनियनद्वारा विरोध, विप्लवको समर्थन !
प्रकाशित मिति: १० बैशाख २०७५, सोमबार १३:१३
‘जुत्ता नमिले खुट्टा काटेर भएपनि मिलाउनु पर्छ !’ प्रधानमन्त्रीको यो लेटेस्ट ओड्कीलाले बजारमा हजार वाटको झड्का लागेको छ । झड्काले एकता विरोधीहरू डङ्र्ङ्ग पछारिएका छन् भने पक्षधरहरु जुरुक्क उठेंका छन् । प्रस्तुत छ, प्रधानमन्त्रीको भनाइप्रति विभिन्न पक्षको वक्तव्य:
‘प्रधानमन्त्रीको खुट्टा काट्ने कुराले शान्ति प्रक्रियामाथि नै प्रश्नचिन्ह खडा भएको छ । हामी खुट्टा काट्ने लाईन छोडेर जुत्ता खोज्ने सिद्धान्तमा अाई सक्यौं, उहाँ चाहिँ काटमार तिरै फर्कन खोज्दै हुनुहुन्छ । यसले पार्टी एकता मात्र हैन, शान्ति उन्मुख नेपाली समाज फेरि हिंसामा जाने खतरा बढेको छ ।’
– पुष्पकमल दाहाल, अध्यक्ष
एकीकृत माओवादी
‘कम्युनिष्ट सरकार आए रुन पनि पाइँदैन, हाँस्न पनि पाइँदैन भन्ने कुरा अब पुष्टि भएको छ । जुत्ता मिलाउन खुट्टा काट्ने उनको तर्क यही कुराको संकेत हो ।’
– शेर बहादुर देउवा, अध्यक्ष
नेपाली कांग्रेस
‘बढ्दो क्रान्तिकारी ध्रुविकरण लाई कमजोर पार्न मात्रै ओलीले खुट्टा काट्ने कुरा गरेका हुन् । यदि साँच्चै आफ्नो बोलीमा प्रतिबद्ध छन् भने तुरुन्तै राजीनामा दिएर हाम्रो पार्टीमा आउन् , पक्राउ पुर्जी खारेज गर्छौं । हैन भने अर्को पक्राउ पुर्जी काट्न बाध्य हुने छौं ।’
- नेत्र विक्रम चन्द ‘विप्लव’, संयोजक
नेपाल कम्युनिस्ट पार्टी
‘हाम्रो मात्रिपार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको खुट्टा काट्ने भाषणले हामी युवाहरु अत्यन्तै उत्साहित भएका छौँ । देशभरिका लाखौं युवाहरु पार्टी एकताका लागि जोसुकैको खुट्टा काट्न तयार रहेको जानकारी गराउँछौं ।’
– रमेश पौडीवाल, अध्यक्ष
युवा संघ नेपाल
‘हिजो लेनिन जयन्तीको अवसरमा कार्यक्रमस्थलमा भएको होहल्लामा हाम्रो संगठनलाई मुछ्ने कामप्रति हाम्रो घोर आपति छ । खासमा हामीले एमाले अध्यक्षको खुट्टा काट्ने कुराको समर्थनमा हुटिङ गरेका थियौं । हाम्रा अध्यक्षले हाम्रो गौरवशाली विगतलाई भुल्दै गएको अवस्थामा एमाले अध्यक्षले क्रान्तिकारी कुरा गर्नु हामी सबैका लागि गौरवको कुरा हो ।’
– क. आराम सापकोटा ‘दीपशिखा’, अध्यक्ष
वाइसियल
‘हिंसा र अशान्तिको लामो शिलशिला तोड्दै अगाडि बढेको नेपाली राजनीति प्रधानमन्त्रीको खुट्टा काट्ने कुराले हामी अत्यन्तै चिन्तित भएका छौं । बरु पार्टी एकता नहोस् तर काटकुट गरेर एक हुने कुरामा हाम्रो गम्भीर आपति छ ।’
– मार्क टुइट, प्रतिनिधि
युरोपेली युनियन
‘प्रधानमन्त्रीको कुराले नेपालको चिकित्सा क्षेत्र अत्यन्तै दुखित भएको छ । खुट्टा काट्ने काम चिकित्सकको हो । मानार्थ डाक्टर उपाधि पाउनासाथ कसैले खुट्टा काट्न सक्दैन । प्रधानमन्त्रीले आफ्नो भनाई फिर्ता नलिए देब्रे खुट्टाको एक्सरे गरेर दाहिनेको अपरेसन गर्ने कामलाई निरन्तरता दिन बाध्य हुनेछौं ।’
– अध्यक्ष
नेपाल चिकित्सक संघ, काठमाण्डौ
‘प्रधानमन्त्री को मन्तव्यप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आवश्यक साइजका जुताको उत्पादन बढाउनु पर्नेमा खुट्टै काट्ने कदमले जुत्ता कम्पनीहरु टाट पल्टने कुरालाई नजर अन्दाज नगर्न प्रधानमन्त्रीज्यूले अनुरोध गर्दछौं ।
– अनिरुद्र नारायण चौलागाई, अध्यक्ष
नेपाल जुत्ता उत्पादक संघ