भुईंचालोको डर अझै छ ? एक पटक यो उपाय अपनाउनोस्….उल्टै डर भाग्छ ।

प्रकाशित मिति: १२ बैशाख २०७५, बुधबार १०:३७

२०७२ सालमा गएको भुकम्पपछि हाम्रो मनोदशा अचम्मले बदलिएको छ । अग्ला घरमा पस्न डराउने, होचाघरमा बस्न डराउने, भाइब्रेसनलाई भुकम्प ठान्ने, मुसा दौडलाई मान्ने, छिन्छिन्मा जमीन हल्लिए झैं हुने, ज्योतिषीको कुराले ठ्याक्कै छुने, बैज्ञानिकको तर्कले छुँदै नछुनेजस्ता मनोदशा अहिलेपनि धेरैमा छ ।


यसमा सञ्चार माध्यामको ठूलो हात छ । मुसाले खनेको जमीनलाई धर्ती फाट्यो भन्ने, स्याल मार्न प्वालमा लगाएको आगोलाई ज्वालामुखी बिष्फोट ठान्ने, पानीको सामान्य मूल फुटाईलाई धर्तीले जल बमन गरेको मान्ने, पोखरीलाई समुन्द्रको रुपमा देखाउने, तीललाई क्लोजअपमा खिचेर पहाड बनाउने, पहाडलाई लङ्सटमा लिएर जमीन भासियो भन्ने † यस्तो पत्रुकारिताले हामीमा त्रास बढाएको हो ।

यसैपनि पराकम्पले थिलथिलो पारेको हाम्रो दिमाग, त्यसमाथी टिआरपी बढाउन टिभीले देखाउने बिभत्स दृश्यहरु, एफएम रेडियोहरुले फलाक्ने डरलाग्दा समाचारहरु, पत्रपत्रिकाले छाप्ने सनसनीपूर्ण समाचारहरु, अनलाईनमा अपलोड हुने हावा रहस्यहरु, सामाजिक सञ्जालमा अपडेट हुने ताई न तुईका जानकारीहरु, ‘माउथ टु माउथ’ प्रचारित हुने गफै त हो सम्धी शैलीका शन्देशहरुले हाम्रो मनस्थिति झन् कमजोर बनाएका छन् ।

यसबाट बाँच्ने थुप्रै उपाय छन् । महिलाकालागी ‘गफगाफ थेरापी’, बालबालिकालागी ‘नाचगान थेरापी’, युवायुवतीकालागी ‘च्याट् चुट थेरापी’, बृद्धबृद्धाहरुकालागि ‘भजन किर्तन थेरापी’ अदि । त्रासलाई आशमा बदल्न, डरलाई भरतिर लैजान यस्ता थेरापीको ठुलो महत्व हुन्छ ।

तर, के बुझ्नु पर्छ भने, यी थेरापी सहायकमात्र हुन्, काटेको घाउमा मल्हमपट्टी लगाएजस्तो, दाँत दुखेकोमा झारफुक गरेजस्तो, भोक लाग्दा पानी पिएर एकछिन् शान्त भएजस्तोमात्रै हो ।

जसरी आफ्नो रोगकालागी अर्काले सुई लगाई दिएर हुँदैन, आफ्नो भोक अरुले खाई दिएर मेटिंदैन, अरुको किरा झारेर आफ्नो दात निको हुँदैन, अरुको ब्याण्डेज गरेर आफ्नो खुट्टो लाग्दैन, त्यसैगरी आफुभित्रको डर अरुले भगाएर भाग्दैन ।

धामी, झाँक्री, लामा, फेदाङ्मा, पडिण्त, पुरहितहरु मनोरोग भगाउने सहयोगी बन्न सक्छन् तर समाप्त पार्न आफैं सक्रिय बन्नुपर्छ । परामर्शदाता, मनोबिद्, सन्त, महात्माहरु सहायक हुन सक्छन् तर आफैं सचेत बन्नुपर्छ । शुभ चिन्तक, सञ्चार माध्याम, साथीभाईले आत्मबिश्वास बढाउने उपाय बताउ सक्छन् तर त्यो उपायमा अडिई रहने आफैंले हो ।

मान्छेको आत्मा फलामको खम्बा हैन, जो सधैं विश्वासमा अडिई रहोस् । आत्मबिश्वासमा अडि राख्न जगतको सत्यलाई आत्मसात गर्नु पर्दछ । जन्म, जीवन र मृत्यूको चक्रलाई स्वीकार गर्नु पर्दछ । हाम्रो बशमा भएको र नभएको कुराको जानकारी राख्नु पर्दछ । जुन चीज आफ्नो हातमा छैन, त्यो कुराको मोहलाई मनको जरै देखी काटिदिने हो भने हाम्रो डर उल्टै हामीसँग डराउन थाल्दछ ।

डराउन थालेको डरलाई सदाका लागि भगाउने केही मन्त्रहरु छन् । पहिलो मन्त्र हो, ‘केही नहुन्जेल केही पनि केही पनि हुँदैन ।’ हुन त मानिमहरु यो मन्त्रलाई आफ्नो पारामा ब्याख्या गर्दै भन्छन्, ‘केही नहुन्जेल केही पनि हुंदैन, भएपछि सकिन्छ ।’ यसरी मन्त्रलाई तोडमोड गर्नाले मनको शान्तीमा समस्या पर्न सक्छ । यो मन्त्रलाई मनको केन्द्रैदेखी स्वीकार गर्नोस् कि, केही नहुन्जेल केही पनि हुंदैन ।

जन्म र मृत्यू हाम्रो हातमा छँदैछैन । ज्योतिषि, बैज्ञानिक, महा ज्ञानीहरुसँग समेत नभएको कुरा खोजेर दुई दिनको जिन्दगीमा किन छिनछिनमा मर्ने ? जे गरिन्छ त्यो राम्रो गर्ने, जति सकिन्छ, सुन्दर गर्ने, जहाँ गरिन्छ, त्यहाँ आनन्दले गर्ने । त्यसकालागि मनन गर्ने एउटै मन्त्र हो, ढुक्क हुनोस्, केही नहुन्जेल केही पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com