‘झापाली’को साटो ‘झापालिष्ट’ भन्न प्रश्ताब : कतारमा झापालीहरुको अन्तराष्ट्रि्य सम्मेलन

प्रकाशित मिति: १५ बैशाख २०७५, शनिबार ११:१९

अहिले म कतारमा छु, अन्तराष्ट्रि्य झापाली समाजको सम्मेलनमा । अस्ट्रेलया, अमेरिका, युके, ईजरायल लगायतका प्रतिनिधिहरु आएका छन् । नेपालबाट राजेश घतानी, पवन पाठक लगायत कलाकार पुगेका छौं । कर्मभुमि बिदेशबाट जन्मभुमी झापालाई के योगदान दिन सकिन्छ भन्ने बिषयमा सम्मेलन केन्द्रित छ ।

 

हिजो दोहाको ‘क्राउन प्लाजा’ होटलमा सम्पन्न भएको सम्मेलनमा झापा बाहेक थुप्रै जिल्लाका दर्शकअतिथिहरु उपस्थिति हुनुहुन्थ्यो । प्रश्तुत छ, उक्त अवसरमा प्रश्तुत ‘मनोज-रञ्जन’का केही रमाईला शब्द-तस्विरहरु । (तस्वीर: शिवराज गौतम, कतार ।)

 

झापाली र स्यांग्जालीका धेरै जोक बनेकाछन् तर थोरैलाई थाहा होला, यी जोकहरु कसरी बने ! खासमा मलाई पनि थाहा छैन, झापाली-स्यांग्जाली जोकको उद्गम कारण के हो !! मेरा थुप्रै स्यांग्जाली साथीहरु छन् जो जोकमा भनिएजस्तो ‘छट्टु’ पटक्कै छैनन् । झापा त मेरो कर्मभुमी भईहाल्यो, उनिहरु पनि ‘खतरा’ छैनन् ।

कुनै प्रसंगमा कोही ‘झापालीले झापड’ हान्यो होला । कुनै ‘स्यांग्जालीले जाल’ गऱ्यो होला । तर, तर एउटाले बिराउने, शाखालाई पिराउनु हुंदैन ।

देश संघियतामा गएको छ । स्थानीय निकायका नामहरु पनि परिवर्तन हुने क्रममा छन् । ‘झापा’ भन्दा ‘झारपात’जस्तो सुनिन्छ । ‘झापाली’ भन्दा ‘जापानिज’जस्तो लाग्छ । बरु आफुलाई ‘झापालिष्ट’ भनौं न !सुन्दापनि क्या क्वालिटिको सुनिन्छ । सोसलिष्ट, नेशनलिष्ट भनेजस्तो झापा निवासीको पनि एउटा आईडियोलोजी बनोस्, ‘झापालिष्ट’ ।

स्यांग्जाली साथीहरुले पनि आफुलाई ‘स्यांग्जियन’ वा ‘स्यांग्जान’ भन्दा हाईट नै बेग्लै हुन्छ । आफुले आफैंलाई म स्यांग्जाली हुं भन्दा अर्काले त ‘जाली’ भनिहाल्छ नि । अब गर्वले भन्नोस्, म स्यांग् जाली हैन, ‘स्यांग्जियन’ वा ‘स्यांग्जान’ हुं ।

दांग जिल्लाका साथीहरु पनि सोच्नोस् । तपाईंजस्तो शान्त, शुन्दर र शुशिल नागरिकलाई कसैले ‘दंगाली’ भन्दा कस्तो लाग्छ ? के तपाईं ‘दंगा-फसाद’ रुचाउनु हुन्छ ? हुन्न नि । कि अरुलाई गालीमात्र गर्नुहुन्छ ? हुन्न नि । त्यसैले आफुलाई दध्र्गालीको साटो दंगान वा दंगध्वज भन्नोस् त, क्या मिठो र प्रभावकारी सुनिन्छ !

गोरखा जिल्लाबासीले पनि आफुलाई अन्डर इष्टिमेट गर्नु भएन । तपाईंसाग गौरवशाली ईतिहास छ । प्राकृतिक सुन्दरता छ । राजनैतिक चेतना छ । पर्यटकीय गन्तव्यले भरिपूर्ण छ । यति धेरै संभावनालाई ‘गोर -खाली हुं भन्न मिल्छ ? मिल्दैन नि । तपाईं ‘खाली’ हैन, भरि हो । त्यसैले ‘गोरखाज्भ’ न्नोस् वा ‘गोरखान्’ भन्नोस् । ‘खाली’ भनेर आफैंलाई कम नआंक्नोस् ।

उता ताप्लेजुंगे, लमजुंगे थुप्रै दर्शक भेट्छु  तर धेरैको जुंगा देख्दिंन, मेरोजस्तै । तरपनि भन्छन्, म लमजुंगे हुं,  ताप्लेजुंगे हुं ! मिलेन, पटक्कै मिलेन । तपाईं आफुलाई ‘लमजुगान’ भन्नोस् किनकी तपाईंको जिल्लासंग जुगजुगको लामो ईतिहास छ । म पनि ‘ताप्लेजंगे’ भन्छु, किनभने हामीलाई बेलाबेला अजंगको जंग चल्ने गर्छ ।

यहां तनहुं जिल्लाका साथीहरु हुनुहुन्छ । घर कहां हो भन्दा ‘तनहुं’ भन्नुहुन्छ । सुन्दा यस्तो लाग्छ, तं नहु । अर्थात् तं नहु, ममात्रै हुन्छु ! मिलेन, मिलेन । तपाईजस्तो सहयोगी मान्छेले तं नहु हैन, तं पनि हु, मपनि हुन्छु भन्दा कस्तो सुन्दर सुनिन्छ, हगी !!

चितवनका मित्रहरुसाग अनुरोध छ, वनजस्तै शितल चित्त भएकाहरुको जिल्ला चितवन हो । तर आफुलाई ‘चितौने’ वा ‘चिताउने’भन्दा तपाईको महानता कदर हुन सकेन । के तपाईं ‘चिताउने’ मात्रै हो र ? चिताउने थुप्रै हुन्छन् तर चिताएको पुऱ्याउने कमै हुन्छन् । त्यसैले आफुलाई ‘चिताउने’ हैन, ‘चितौनिष्ट’ भन्नुस् क्या, यो पनि छुट्टै आईडियोलोजी हो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com