कार्ल मार्क्स पनि ध्यान गर्थे, तपाईं पनि गर्नोस् कमरेड : बुद्ध पुर्णिमालाई ‘विश्व ध्यान दिवस’ बनाउनु पर्छ…

प्रकाशित मिति: १८ बैशाख २०७५, मंगलवार ०६:४८

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार (काठमाण्डौं)

 

बिषय: अन्तराष्ट्रि्य ध्यान दिवस संबन्धमा ।

 

महोदय, उपरोक्त संबन्धमा बुद्ध पुर्णिमाको दिनलाई ‘अन्तराष्ट्रि्य ध्यान दिवस’ घोषणाका लागि लबिङ् गर्न हार्दिक अनुरोध छ । तपाईं हाम्रो पहलमा ‘अन्तराष्ट्रि्य ध्यान दिवस’ घोषित हुन सकेमा बुद्धप्रतिको सबैभन्दा ठूलो श्रद्धा यही हुनेछ ।

 

महोदय,
गौतमबुद्ध एसियाका ज्योतिमात्र हैनन्, सम्पूर्ण विश्वका प्रकास हुन् । प्रकास यस अर्थमा कि धर्मान्धताको अन्धकारलाई ‘वास्तविक धर्म’को उज्यालोले चिर्ने काम गरे उनले । बुद्धको शिक्षा शान्ती, सत्य र समतामा आधारित छ । सायद दार्शनिक कार्ल मार्क्सपनि बुद्धबाटै प्रेरित थिए ! किनकी उनको परिकल्पना पनि समतामूलक समाज नै हो ।

 

प्रचण्ड कमरेड, अहिले तपाईंहरु सत्तामा हुनुहुन्छ । चाहेमा राम्रा राम्रा काम गर्न सक्नुहुन्छ । यदि बुद्ध पुर्णिमालाई ‘अन्तराष्ट्रि्य ध्यान दिवस’ घोषणा गराउन सक्नु भयो भने ‘धर्म बिरोधी’को ट्याग हट्न सक्छ । ध्यान र धर्म मार्क्सबाद बिरोधी बिचार हो भन्ने परम्परागत प्रचार घट्न सक्छ । हिंसालाई परिवर्तनको माध्याम ठान्ने ‘क्रान्तीकारी’ बहकाउको अन्त्य हुन सक्छ । पहल गर्नोस् प्लिज !

 


मेरो सानो बुद्धीले भन्छ, मार्क्सबादले मान्छेको भौतिक आवस्यकता पुर्तीको काम गर्ला तर आत्मा (चेतना)को आवस्यकता पुर्ती गर्न पुर्वीय सनातन धर्म संस्कृति चाहिन्छ । यदि भौतिक कुरामात्रै प्रमुख हुँदो हो त पद, प्रतिष्ठा, नाम, सम्मान, सम्पती सबै थोकले भरिपूर्ण मान्छेलाई किन तनाव हुन्थ्यो ! पश्चिमबाट प्रतिपादित मार्क्सबादमा पूर्वको ध्यान र योगको बिज्ञान जोड्ने हो भने मार्क्सबाद धर्तीको अकाट्य सिद्धान्त बन्न सक्छ ।

 

कमरेड, जतिखेर मार्क्सबादको परिकल्पना गरियो, हुनसक्छ त्यतिबेला पूर्वीय दर्शन पश्चिमका दार्शनिकमाझ गहिरोसंग पुगेको थिएन होला ! पुगेपनि धर्मको बिज्ञान भन्दापनि धर्मान्धताको अज्ञान पुग्यो होला ! यदि आज मार्क्स जीवित हुँदा हुन् त पक्कै बुद्धको चार आर्य सत्य र अष्टांगिक मार्ग पनि थप्थे ! ओशोको कुण्डलीनि ध्यानमा डुब्थे होला ! रामदेबको योगमा रमाउथे होला !

थाहा छ, तपाईंहरु बाहिरी जिवनमा शक्तिशाली हुनुहुन्छ तर भित्री मनमा शान्ती छैन । पद छ तर चैन छैन । नाम छ तर आनन्द छैन । सिंगो देश तपाईंहरुको इशारामा चल्छ तर आफ्नै मन तपाईंको नियन्त्रणमा छैन !

 

त्यसैले यो सानो साधकको सानो अनुरोध, प्रचण्ड कमरेड, बुद्धको बिपस्यना गर्नोस् । ओशोको साधनामा सहभागी हुनोस् । महेश योगी, रवि शंकर, रामदेवदेखी विकासानन्द- जोसँग जोडिनोस्, त्यसले तपाईंलाई त आनन्द मिल्छ नै, देशले पनि शान्त, सम्यक र सत्यवादी नेता पाउँन सक्छ ।

 

गौतमबुद्ध, अल्बर्ट आईन्स्टाईन, कार्ल मार्क्स र ओशो रजनिश बिज्ञान र अध्यात्मलाई जोड्ने सेतु हुन् । उहाँहरुका आविस्कार, अध्ययन, अनुभुती र अनुसन्धानलाई शिक्षाका रुपमा ग्रहण गर्नुपर्छ । त्यसो भएमा सिंगै मानव जाती धर्मान्धताको अन्धकार र अत्याधुनिकताको बिकारबाट मुक्त हुनेछ । प्राकृतिक, समता मूलक र संयमित समाजको निर्माण हुनेछ ।

 

तर सावधान ! योग र ध्यानका नाममा अन्धविश्वासको खाडलमा नपर्नु होला । स्वर्ग, नर्क, दान, दक्षिणा, माला, तन्त्र, मन्त्र, बलिजस्ता कुराले अल्झाउन सक्छन् । त्यसबाट माथी उठेर ‘प्रकृतिको सनातन धर्म’ जसलाई बुद्धले ‘धम्म’ भन्नुहुन्छ, त्यसमा समाहित हुनोस् ।

 

मैले थाहा पाएसम्म माओवादी नेता नारायणकाजी श्रेष्ठपनि ध्यान गर्छन् । एमालेका सानु श्रेष्ठ ओशो धाराको उच्च स्तरको साधक हुन् । शिक्षामन्त्री गिरिराजमणी पोख्रेललेको सालिनता, सफलता र सम्यकताको राजपनि योग/ध्यान नै हो ।

 

क्रान्तिकारीहरुलाई लाग्न सक्छ, यो मार्क्सबादी बिचारधाराबाट स्खलित भएको हो । तर प्रकृतिको सनातन नियम अन्तर्गत जन्मिएका हामी मान्छे नामका प्राणी प्रकृतिसँगै एकाकार हुनु मार्क्सबादको सिर्जनात्मक प्रयोग हो, स्खलन् होईन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नजानेको बिषय केही छ जस्तो मलाई लाग्दैन । ईतिहास, भुगोल, साहित्य, कला, अध्यात्म जे सुकैको बारेमा कुरा उठाउनोस्, उहाँले तपाईंलाई यसरी कन्भिन्स गराउनु हुन्छ कि तपाईं छक्कै पर्नुहुन्छ । राजनीतिज्ञ मध्ये अध्यात्मको ब्याख्या गर्ने कोही छ भने त्यो प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुहुन्छ । उहाँको बोधको तह एकदमै उच्चस्तरको छ । यो बोधलाई अनुभुतीको तहमा पुऱ्याउन भने ध्यानको मार्गमा लाग्नुपर्छ ।

योग र ध्यानको यो अपार खजानालाई पद र पहुँचमा बस्ने सबैले उपयोग गर्नुपर्छ । योग र ध्यान शिक्षामा अनिवार्य गर्नुपर्दछ । शिल र आचरणको पनि क्लास चल्नुपर्छ । त्यसो भएमा देशले शान्त, संयमित, सहज र ईमान्दार नेतृत्व पाउने छ । ध्यानको बिज्ञान हाम्रो पुर्वको पहिचान हो जसलाई बिश्वभर छर्नु जरुरी छ । त्यसकालागि पनि बुद्ध पुर्णिमालाई ‘अन्तराष्ट्रि्य मेडिटेसन डे’ घोषणा गर्न/गराउन पऱ्यो क्या कमरेड ! 

बोधार्थ
पुष्प कमल दहाल ‘प्रचण्ड’
नेत्र बिक्रम चन्द ‘विप्लव’
संयूक्त राष्ट्र् संघ
शेर बहादुर देउवा

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com