आहा ! यसरी पो मान्छे हिरो बन्दो रहेछ !! सजिलो उपाय सिकिहाल्नोस्…

पर्दामा सिनेमा हेर्दा जति सहज देखिन्छ, बनाउँदा त्यस्तो हुँदो रहेनछ ! त्यहाँ त पापड बेल्नु पर्दो रहेछ, तातो तेलमा चुलुम्म डुब्नु पर्दो रहेछ ! पर्दामा चिटिक्क देखिने पात्रहरु आफ्ना दु:खले मात्रै आज्र्याका होईन रहेछन्, स्पटब्वाई, मेकअप पर्सनदेखि निर्देशकसम्मको साझा पापड बेलाई रहेछ !  प्रश्तुत छ, सिने संसारका वास्तविक हिरोहरुको फोटो कथा ।

 

यिनि हुन् ‘भान्सा’का हिरो कुमार शाही ठकुरी ! भाले नबास्दै उठि सक्छन् । पोथी नकराउँदै किचनमा पसि सक्छन् । अण्डा नझर्दै चिया पकाई सक्छन् । चल्ला नकोरल्दै कलाकारका बेड-बेडमा पुऱ्याई सक्छन् । उनको टीमले सिनेमाका हिरोहरुलाई हिरो देखिने स्वादिष्ट भोजन र मिठा परिकारहरु बनाएर कलाकारलाई कलात्मक खाना खुवाउँदा रहेछन् !

 

 

खुवाउनेमात्र हैन, हिरोलाई हिरोजस्तो बनाई दिने अर्कै हुँदो रहेछ ! कुर्सीमा बस्ने यी हेण्डसम युवा अमृत ढुंगाना हुन्, ‘१०० कडा १०’ का हिरो ! अमृतसँगै अमित पोखरेल, उत्सव न्यौपाने, सोनिया राई, राजाराम पौडेल, रश्मि भट्ट, प्रसिद्ध थापा, म लगायतलाई पर्दाको हिरो बनाउन पर्दा पछाडीका यी दुई महा-हिरोहरुको ठूलो हात छ । ती हिरोहरुको नाम हो, होचो कान्छो रुपक थापा र मोटे माईलो शंकर थापा जसको पद मेकअप आर्टिष्ट रहेछ !

 

 

अनि यी चाहीं मुख्य नायीका हुन्, करुणा श्रेष्ठ । पहिलो पटक सिनेमा पाईला राखेकी उनको अभिनय र रुपबाट जो कोही पनि ढल्न सक्छन् । झन् उनको आकर्षक केश सजावटबाट धेरै युवाहरु ढल्न सक्छन्, युवतीहरु जल्न सक्छन् । यिनको सुन्दरतालाई निखार्ने पर्दा पछाडी अर्कै हुन्छ, केश विन्यास ! गीता अधिकारी विन्यासले नै करुणालाई थप सुन्दर देखिएको हो ।

हिरोलाई हिरो बनाउने पर्दा अर्का हिरोको नाम हो, श्रृंगार तथा आर्ट डाईरेक्ट अर्थात् जीवन पौडेल । उनी कपडा लगाउन नजान्नेलाई पनि चिटिक्क पारेर सजाउँछन् । उनको अर्को काम पनि छ, आर्ट डाईरेक्टर !हिरो हिरोईन नाँच्ने सेटदेखी सेटको सजावट गर्छन् ।

 

 

हिरोलाई टाईममा स्पटमा पुऱ्याउने, टाईममा होटल छोड्ने, आईज भन्दा आउने, लैजा भन्दा लैजाने चालक, सहचालक पर्दा पछाडीका महा–हिरोहरु हुन् ।

 

 

सिनेमा निर्माणलाई सहज र सरल बनाउने अर्का हिरो हुँदा रहेछन्, प्रोडक्सन म्यानेजर ! सुटिङ्कालागि सिडियोसँग संवाद गर्नेदेखि स्थानीयसँग बिबाद मिलाउनेसम्मका च्यालेन्जिङ् काम यो गर्दा रहेछन् । यो सिनेमाका त्यो नायक हुन्, माधव पण्डित । आँखा चिम्लिएर यिनको कुरा सुन्यो भने शुरबिर पण्डित नै लाग्छ ।

 

कलाकारलाई कलाकार बनाउने पर्दा पछाडीका महा कलाकारहरुको अर्को पद हो, स्पटब्वाई । सुटिङ्मा खाना खुवाउने, चिया पिलाउने, स्पटलाई क्लियर बनाउने र पर्दामा हेर्दा चिटिक्क पार्न सहयोग गर्ने काम उनिहरुले नै हो ।

 

 

सिनेमा सुन्दर हुनुमा क्यामेरा मेनको ठूलो महत्व हुन्छ । उनलाई पनि सघाउने अर्को टोली हुँदो रहेछ छ । तिनले क्यामेरा टेकर, ट्र्ली व्वाई, रिफ्लेक्टर, क्रेन, जोनी जीप सञ्चालन गर्न मद्धत गर्दा रहेछन् । अनि पो क्यामेराम्यानले सुन्दर दृष्य पस्किंन सक्दा रहेछन् ।

 

 

कलाकारलाई सुन्दर ढंगले क्यामेरामा कैद्ध गर्ने यिनि हुन्, क्यामेरा पर्सन रामेश्वर कार्की । उनको काम हो, जस्तो नराम्रो दृष्यलाई पनि राम्रो देखाउनु । पर्दा पछाडीका टप थ्रि नायक मध्येका एक क्यामेरा पर्सन नै हुँदा रहेछन् ।

 

 

कलाकारलाई कथा अनुसारको पोशाक चाहिन्छ । त्यसको जिम्मा ड्रेस डिजाईनरको हो । यो सिनेमामा बोनिका र रित खड्काले यो कमाण्ड सम्हालेका छन् । लौकाजस्ता लाम्चा, फर्सिजस्ता मोड्का, जस्तासुकै कलाकारलाई डिजाईनरले चिटिक्क देखिने ड्रेस तयार पारेर हेण्डसम र ब्युटि बनाई दिने यिनिहरु पर्दा पछाडीका नायीका हुन् ।

 

 

हिरोलाई नाँच्न सिकाउने अर्को पद छ, डान्स डाईरेक्टर । उनले मनमनै मात्र नाँच्न सक्ने मान्छेलाई पनि फकाउँदै, हप्काउँंदै, सिकाउँदै, सातो लिंदै, बातो बसाउँदै नचाउँछन् । यहाँसम्म कि आँगन टेडो देख्नेलाई समेत राम्रो डान्सर बनाएर पर्दा देखाउँदा रहेछन् । यिनको नाम हो, दिलिप ओखेडा ।

 

 

पर्दा पछाडी अर्को हिरो हुँदा रहेछन्, मुख्य सहायक निर्देशक । यो सिनेमामा ललीत बिष्टले यो काम सम्हालेका छन् । यीनको काम हुँदो रहेछ, निर्देशकलाई सहयोग गर्ने । यसलाई यसरी बुझौं, प्लेनमा दुईजना पाईलट हुन्छन् । एउटाले चलाउने, अर्कोले उडाएको हेर्ने ।

 

 

प्लेनमा एयर होष्टेज भएजस्तै फिलिममा पनि सहायक निर्देशक हुँदा रहेछन् । ‘१०० कडा १०’ को उडानमा पनि २ जना पुरुष एयर होष्टेजहरु छन्, साजन थापा र सुदीप पौडेल । उनिहरुको काम हो, पाईलट र को-पाईलटलाई सघाउने र यात्रुहरुलाई नमस्ते गर्ने अर्थात् पात्रलाई कमाण्ड गर्ने ।

 

अनि यी चाहीं पर्दा पछाडीका मूख्य हिरो हुन्, निर्देशक राम शरण पाठक । क्यामेरा, पोजिसन, संवाद सबैको नियन्त्रण यिनका हातमा हुन्छ । कलाकारको संवाद, मुड, एक्सप्रेसन यिनै हेर्छन् । अभिनय राम्रो भएन भने टेक, रिटेक र टेकका टेक लिएर पनि जिरोलाई हिरो बनाई छाड्छन् । क्यामेरा अगाडी पर्नासाथ ओठ मुख सुक्ने म जस्तालाई पनि सिनेमामा चलाउने दुस्साहस गर्छन् ।

 

 

मानौं, सिनेमा एउटा ब्यापार हो । ब्यापार चुर्लूम्मै डुब्न पनि सक्छ, तैरिन पनि सक्छ । अब सिनेमाको भाषा बोलौं, सुपर हिट पनि हुनसक्छ, पानी खान नपाएर घिटिक घिटिक मर्न सक्छ । यी दुबै संभावनाको बिचमा घडेरी बेचेर, घर धितो राखेर, सुन बन्दगी राखेर भएपनि यो महासागरमा हाम फाल्ने दह्रो मुटु भएका मान्छेलाई निर्माता भनिंदो रहेछ । ‘१०० कडा १०’ मा चाहिं त्यस्तो नहोला, किनभने धन भएका उत्तम खत्री, रज्जु प्रधान छन् । तिनका पछाडी पनि मन भएका सामाजिक अभियन्ताहरु थुप्रै छन् ।

कुरो ‘१०० कडा १०’ भएपनि कहानी लगभग सबै सिनेमाको हो । । बिहान चियाको कप कलाकारका ओछ्यानसम्म पुऱ्र्याई दिने अर्कै हुँदो रहेछ । खाना खुवाउने पनि अर्कै हुन्छ । लुगा बनाई दिने अर्कै हुँदो रहेछ, लगाई दिने पनि अर्कै हुँदो रहेछ । चाउरिएको अनुहार पनि चिटिक्क बनाई दिने अर्कै, गीत लेखिदिने अर्कै, संगीत भर्ने अर्कै, गाउने पनि अर्कै हुन्छ । नाँच्न सिकाउने अर्कै, फाईट सिकाउने अर्कै हुन्छ । यहाँसम्म कि कैलेकाहीं सम्वाद बोलिदिने पनि अर्कै हुँदो रहेछ, जस्लाई डबिङ् भनिन्छ रे । अझ रमाईलो त लड्न भिंड्न नजान्ने/नसक्नेका लागि डमी पनि अर्कै भई दिन्छ रे । यसरी सामुहिक प्रयासद्धारा एउटा ब्यक्ति पर्दामा कलाकार भएर देखा पर्छ । अब भन्नोस्, वास्तविक हिरो को होला ?!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com