यो ओली आश्वासन, योगेश योजना वा गजुरीयल गफमात्र हैन, समृद्ध पुर्वी पहाडको सत्यकथा हो !

ताप्लेजुङको दुर्गम मामाङ्खे गाउँबाट खेवाङ, पेदाङ, सिनाम, थर्पु, यासोक, कोप्चे-पेरुङ्गेहुँदै हामी ७ दिनमा झापा आईपुगेका थियौं, पैदल हिंडेर ! यो २०३७ सालको कुरा हो । आज ३७ बर्ष पछाडी त्यही ठाउँमा फर्कंदा के–कस्ता परिवर्तन देखिए, त्यसको ‘सचित्र कथा’मा स्वागत छ ।

त्यतिबेला मामाङ्खे ‘गाउँ पञ्चायत’ थियो, अहिले ‘सिरिजंगा गाउँपालिका’ भएको छ । ‘सिरिजंगा’ लिम्बुवानका एक महापुरुषको नाम हो जसले लिम्बु भाषा, साहित्य, लीपि र संस्कृतिको खोज, अनुसन्धान र प्रचार गरे । लिम्बुवानबासी गैह्र-लिम्बुहरु समेत सिरिजंगालाई अत्यन्तै आदर गर्छन् । त्यसैले साझा सहमतीमा मामाङ्खे, खेवाङ्, पेदाङ्, तेल्लोक, मेहेले लगायतलाई समेटेर ‘सिरिजंगा गाउँ’ पालिका बन्यो । यो लोकतन्त्रकै देन हैन र !

उसबेला यहाँ बिशाल जंगलमात्र थियो । अहिले जताततै ‘कालो सुन’को खानी छ । कालो सुन अर्थात् अलैंची ! उहिले हामीले घाँस काट्ने पाखाहरु, बस्तु चराउने पखेराहरु, भकुण्डो खेल्ने चौरहरु, बनभात खाने डाँडाहरु, पानी पिउने खोल्सीहरु, गरा, कान्ला, खेत, बारी, ढाँड जताततै अलैंचीमात्र रोपिएको छ । भलै बेलाबेलामा यसको भाउ घटबढ भई रहन्छ तर पनि यहाँका अधिकांस घरहरु जस्तापाताले छाईएका छन् । छत–छतमा डिस-एन्टेना जोडिएका छन् । आधुनिक सौचालय र चौबिस घण्टे धारा जडान छन् । हात–हातमा मोबाईल पुगेकाछन् । यो समृद्धिको एउटा मुख्य कारण कालो सुन नै त होला !

आजभन्दा १० बर्ष अगाडीमात्रै मैले एउटा काल्पनिक कथा लेखेको थिएँ, ‘खेवाङको बसपार्क !’ कथामा दुर्गम खेवाङमा गाडी पुगेको कुरा थियो । पाठकहरु मरिमरि हाँस्ने गर्थे । तर आज त्यहाँ आज साँच्चीकै गाडी पुगिसकेको छ । अब ६ महिनाभित्रमा कञ्चनजंगा आधार शिविर नजिकको ‘याम्फुदिन’पनि मोटरबाटोले जोडिंदैछ ।

 

यी तेल्लोकबाट मामाङ्खे जाँदा बाटोमा भेटिएका हजुरबा हुन् । दुर्गममा जन्मिए । दुर्गममैं हुर्किए । सम्भवत देहत्याग पनि यहीं गर्नेछन् । जस्तोसुकै दुख:मा हाँस्नु, उनको उपचार यही हो । चोया काड्छन्, दाम्ला बाट्छन्, टपरा बुन्छन् । आफ्ना लागी आफैं भात पकाउँछन् ।

किनकी गाउँमा कि केटाकेटीमात्रै छन्, कि त बुढाबुढीमात्रै छन् । यो अधिकांस गाउँको ब्यथा हो । जेष्ठ नागरिकहरुलाई एउटै चिन्ता छ, आफ्नो लास उठाउने कोही नहुने हो कि ! कान्छा काका शेखर गजुरेल भन्छन्, ‘पाँचबर्षमा यहाँ गाडी आईपुग्छ, त्यसपछि त यिनका छोरा नानी फर्कि हाल्छन् नि ।’

 

यी हुन् दुर्गा थेबे । ‘याङबरक पाथिभारा’ गाउँ पालिका, ६ का वडाध्यक्ष । गजुरीयल भाषामा भन्दा यिनि काठमाण्डौको छँदाखादाको रोजगारी छोडेर ‘दुख पाउन’ गाउँ फर्किएका हुन् । तर उनि यसलाई स्वीर्कादैनन् । भन्छन्, ‘शहरमा बसेर नेतालाई गाली गर्नुभन्दा गाउँमा आएर काम गर्नु उचित लाग्यो ।’ साबिकको थुम्बेदिन गाबिसका प्रत्येक टोलमा मोटरबाटो पुऱ्याउने र बिजुली बाल्ने उनको अठोट छ ।

 

यी हुन् चाटर्ड एकाउन्टेन्ट महेश गुरागाईं । काठमाण्डौमा राम्रै ‘खेतीपाती’ छ उनको । पुर्नवीमा बोर्डका अध्यक्षपनि हुन् । कामको क्रममा बिदेश घुम्ने मौका पनि राम्रै पाउँछन् । तर, मौका मिल्यो कि बिदेश छोडेर थुम्बेदिन पुगिहाल्छन् । उनि भन्छन्, ‘सुकेटारको डाँडामा र तेल्लोकको पाखामा पाईने आनन्द टोकियो टावर र लण्डन आईमा कहाँ मिल्छ र भान्जा !’ नेपाली अर्थतन्त्रको राम्रो ज्ञाता यिनै मामा र भान्जा मिलेर जन्मथलोमा सेवमूलक काम गर्दैछौं । तपाईंहरुको साथ र सहयोग चाहिन्छ है । 🙂 

हो, ताप्लेजुङ अरु बिकट जिल्लाजस्तै दुर्गम छ । धारेको जंगल पार गर्दा जुकाज्यूहरुलाई राम्रै ब्लड डोनेसन गर्नुपर्छ ।

 

फुम्फेबाट हिंडेर मामाङ्खे पुग्दा घुँडाका पाङ्ग्रा चल्न छाड्छन् । थर्पुबजारबाट गाडीमा खेबाङ पुग्दा दुईचार वटा हड्डी हल्लिएका हुन्छन् । घाम लागेन भने सोलार बल्दैन । मोबाईल चार्ज गर्न एक दिन हिंड्नुपर्छ । यहाँको सबैभन्दा ठूलो समस्या मोटरबाटोको हो ।

तर यहाँको भविश्य निकै उज्यालो छ । केही बर्षमा कावेलीबाट बिजुली निस्किंदैछ । बर्षदिन भित्रमा अधिकांस गाउँमा मोटरबाटो पुगि सक्छन् । दुई बर्षभित्रमा सिंगो पुर्वी पहाड सुगम काठमाण्डौसँग सहज बाटोले जोडिंदैछ ।

 

फिदिम–जोरसाल–मूलघाटसम्मको ६५ कि.मि. सडक बन्दैछ । यो सडकले धरानबाट ३ घण्टामा फिदिम पुऱ्याउँछ । तिप्ताला–ओलाङचुङगोला–ताप्लेजुङ सडकले ताप्लेजुङलाई चिनसँग जोड्दैछ । तिब्बती सामानहरु किमाथाङ्का–तुम्लिङटारहुँदै बिराटनगरसम्म चाँडै पुग्दैछन् । धरान–धनकुटा–तिनजुरे–ताप्लेजुङको सडक निर्माणाधिन छ । यसले धरानदेखी पाथिभारा फेदीको यात्रा ६–७ घण्टामा घटाउनेछ ।

नेपाल–सिक्किम सिमा ‘चिवा भन्ज्याङ्’देखि फिदिम–म्याङ्लुङ्–लेगुवा–भोजपुर–खोटाङ–खुर्कोटहुँदै काठमाण्डौ १० घण्टामा पुग्दैछौं । धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौंडा पुग्न जम्मा ३ घण्टामा लाग्छ अब । काठमाण्डौ–हेटौंडाको कान्तिपथबाट ३ घण्टाभन्दा कम समयमा तराई पुग्दैछौं ।

यी ‘गजुरीयल गफ’, ‘ओली आश्वासन’ वा ‘योगेश योजना’मात्र हैनन्, निर्माण भैसकेका, निर्माणाधिन तथा ठेक्का सम्पन्न भैसकेका दुईबर्षे आयोजना हुन् । तर अझैपनि सचेत जनताको एउटा काम छ, ‘सडकका ठेकेदार’ र ‘सरकारका ठेकेदार’लाई निरन्तरको दबाब, सुझाव र खबरदारी ।

 

(केही तस्वीर ज्वाईं प्रेम गुरागाईंबाट  उपलब्ध भएका हुन् ।)

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com