मुर्गा प्रसाईंलाई पक्राउ पुर्जी : थुतुनो नियन्त्रण महाशाखामा हाजिर हुन आदेश…

प्रकाशित मिति: ६ श्रावण २०७५, आईतवार ०६:५०

चर्चित हस्पताल साहु मुर्गा प्रसाईंका विवेकहिन बकबक बिरुद्ध उजुरी परेको छ । उजुरी ‘हाम्रा चेली : राम्रा चेली’ नामक संस्थाले हालेको हो । ‘थुतुनो नियन्त्रण महाशाखा’मा हालिएको उजुरीमा भनिएको छ, ‘छोरी समानका नारीको बदनाम गर्ने मुर्गाको थुतुनो थुतेर तमिज सिकाईं पाउँ !’
बिबादास्पद, शंकास्पद, लज्जास्पद र घृणास्पद बिचार दिँदै हिडेका उनलाई १२ घण्टाभित्र कार्यालयमा हाजिर हुन वा अराजक थुतुनो बुझाउन आदेश दिईएको छ । बजारमा कसैले थुतुनो भित्र–बाहिर पारेमा महाशाखा जिम्मेवार नहुने पनि प्रष्ट गरिएको छ ।

पक्राउ पुर्जी पाएपछि हस्पतालका प्रमुखले भने, ‘हामी साहुजीको थुतुनो फेर्न तयार छौं, एक पटकलाई छोडि दिनोस् ।’ तर उनिमाथी अन्य आरोप पनि लागेकाले थुतुनो झिक्नै पर्ने बताईएपछि मुर्गा कुखुरी काँ भएकाछन् ।

उनिमाथी लागेका अन्य आरोपहरुमा, ‘एमाले–माओवादी मिलाउने मैं हुँ’ भन्दै हावा कुरा गरेको, माक्र्सबादको साटो मार्सीभात खुवाएर ओली–प्रचण्डलाई थाङ्नामा सुताएको, ‘एक–दुईजना अनशकारी मर्दैमा भनसुनकारीलाई फरक नपर्ने’ भन्दै निकृष्ट स्तरको सम्वेदनहिनता प्रर्दशन गरेको, ‘गिरिजाले पनि मेरोमा भात खाएका थिए’ भन्दै मरेका पितृसँगपनि हिसाब किताब मागेको जस्ता थुतुने आरोप लागेकाछन् ।

बंगालादेशमा पढिरहेका नेपाली महिला बिद्यार्थीको बारेमा उनले बकेको बकबक सर्वाधिक घृणाष्पद छ । यो आरोप प्रमाणित गर्न नसकेमा ‘थुतुनो संहिता –२०७५’ अनुसार, उनले एक किलो अकबरेको अचार एक्लै खानु पर्नेे, चार माना चिराईतोको धुलो चौबिस घण्टामा सिध्याउनु पर्ने, सात लिटर साबुन पानी सात मिनेटमा सुईंक्याउनु पर्ने, गोबर पानीले मुख कुल्ला गर्नु पर्ने, जिब्रोमा स्थायी बिर्को लाउनेदेखि थुतुनो सिलाउनेसम्मका सजाय पाउन सक्छन् ।

यस बिषयमा हामीले उनीसँग संपर्क गर्न खोज्यौं तर संपर्क नम्बर नै नभएकोले प्रयास पनि गरेनौं । 🙂 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com