शेर बहादुरले केपीलाई ‘तिमी’ भनेपछि प्रचण्डले बाबुरामलाई ‘तँ’ भने ! किन ?

प्रकाशित मिति: २० श्रावण २०७५, आईतवार ०६:३९

आज बिश्व मित्रता दिवस । पत्र-मित्रतादेखि फेसबुक फ्रेण्डसिप सम्मका साथीहरुलाई सम्झने दिने । सबैलाई यही समाचारको साथमा सबैलाई भनौं, मित्रहरु, आराम छु, आराम चाहान्छु । मैत्रीविद्हरुका अनुसार मित्र चार प्रकारका हुन्छन्, हजुर, तपाईं, तिमी र तँ ! ‘हजुर’सँग हाई/हलोमात्र हुन्छ । ‘तपाईं’सँग खानपिन सम्म चल्छ । ‘तिमी’सँग सु:ख दु:ख बाँडिन्छ । ‘तँ’सँग सर्वस्व लिईन्छ, सबथोक दिईन्छ ।

‘तिमी’सँग अलिकति दोस्ती हुन्छ तर ‘तँ’ जस्तो गहिरो मित्रता ‘तपाईं’ र ‘हजुर’सँग पटक्कै हुन्न । ‘तपाईं’हरु मन्दिरका गजुरजस्तै हुन्, हेर्न सकिन्छ, छुन सकिन्न । ‘फ्रेण्डसिप डे’को अवसरमा एउटा अद्भुत खबर आएको छ । देशका चर्चित ब्यक्तिहरु, जो औपचारिक कार्यक्रममा तपाईंं र हजुर भन्छन् तर ब्यक्तिगत भेटघाटका ‘तँ–तँ–म–म’को सुमधुर सम्बन्ध राख्छन् । पढ्नोस्, आत्मीय मित्रताको यो उदाहरणीय रिपोर्ट:

बाबुराम भट्टराई र पुष्प कमल दहाल प्रचण्ड

 

बाबुराम:  ‘ओए, के छ यार तेरो हाल खबर ?’

प्रचण्ड:  ‘के हुनु मुला, एक्लै एक्लै घुम्या छस्, मने हाम्रो मतलब छैन !’

बाबुराम: ‘गफ गऱ्याखस् मुला ! नयाँ भेट्याखस्, पुराना साथी बिर्ख्याछस् । तँलाई त्यतिले पुग्याख !’

प्रचण्ड:  ‘ल ल, छिटो आईज, मने फर्किएपछि तँलाई पनि नयाँ बनाउँचौं ।’

बाबुराम: ‘नापिस्, चुनाव अघि पाँच सिट दिन नसक्नेले नयाँ बनाखस् !’

बाबुराम: ‘अनि, भाउजुलाई कस्तो भैराख ?’

प्रचण्ड : ‘अलि कम भाच यार ! मने तेरो भाउजुलाई कस्तो छ नि ?’

बाबुराम: ‘अरु सबै कम भयो, बोल्ने कम भाखैन !’

प्रचण्ड: ‘कर्मको फल हो यार, सबैले भोग्नुपर्च ।’

बाबुराम: ‘अनि तँ पिएम बन्छस् त ?’

प्रचण्ड: ‘खै यार, मने देशभित्रचाहीं लाईन मिल्यो, ईण्डियाले ल्याङ् गरिराच । मोदीलाई भनेर मिलाईदे न।’

बाबुराम: ‘अहिले मलाई नै बाल द्याखैन, तँलाई के मिलाउनु ! ल पछि फर्किएपछि तँसँग बोल्न मन लाख । अहिले बाई ल ।’

प्रचण्ड: ‘ल, ल । मोज गर् ।’

 

केपी शर्मा ओली र शेर बहादुर देउवा

 

देउवा: ‘हलो, तिमी के गरि रहेको बड्डा ?’

ओली: ‘गफ गरेर बसि रहेको नि । काम गर्न दिएनौ त !’

देउवा: ‘नाँच्न जाँन्दैन, वालुवाटार बाङ्गोजस्तो नगर न !’

ओली: ‘तिमीले नाँचेर बाङ्गै बनाएछौं त !’

देउवा: ‘मैले होईन यार । बालुवाटारको वास्तु नै बिगारेर बनाएको छ रे ।’

ओली: ‘हावा ! कस्ले भन्या ?’

देउवा: ‘राजा महेन्द्रले रे । बालुवाटारमा बस्ने कोही पनि पुरा कार्यकाल नटिक्ने खाले वास्तुका आधारमा बनाएको छ रे !’

ओली: ‘मलाई यस्ता विस्वास छैन यार देउवा !’

देउवा: ‘तिमी कम्युनिष्टहरु एकदमै ढोंगी हुन्छौ यार । लुकीलुकी पुजा गर्ने, बाहिरतिर अन्धविश्वास भन्ने ।’

ओली: ‘ति कुरा पछि गरौंला । अहिलेचाहीं आन्दोलन सान्दोलन गरेर ऱ्याक नगर न यार । तिमीलाई पनि त पछि हामी चाहिएला !’

देउवा: ‘त्यो त हो नि । यहाँ काम नपाएर सबै कार्यकर्ता तिम्रो पार्टीमा जालान् जस्तो भयो क्या !’

ओली: ‘तिमी पनि आउ न त हाम्रै पार्टीमा, नेकपा (काङ्ग्रेस) बनाउँला !’

देउवा: ‘म आर्जुसँग सल्लाह गरेर भन्छु ! सुन न, अस्ती क्वाटर छोड्दा मास्टर बेड मुनी एउटा माल छुटेको रहेछ । तिम्रो पिएको हातमा पठाई देउ ल ।’

ओली: ‘पिए सिए छैनन् यार, सब गोलमाल भई रहेको छ । तिमी नै आउ न लिन ।’

देउवा: ‘ह्या, आउँदिन म, बेकारमा प्रेसर बढ्छ !’

ओली: ‘ल, ल । रहेनछ भने म किनेर भएपनि पठाई दिउँला । तर आन्दोलनको कुरा गरेर ऱ्याक नगर नि मुला ।’

देउवा: ‘ल, ल । मिलाएर गरौंल, हेल्थको ख्याल गर, बाई ।’

 

                                  योगेश भट्टराई  र गगन थापा

योगेश: ‘आम्ममामा…के साह्रो मोटाएको हौ तँ ! फेरी माल खान थालिस् कि क्या हो ?’

गगन: ‘कहाँ माल खानु यार ! आन्दोलन सान्दोलन छैन । भाषण गऱ्यो, खायो, सुत्यो । उठ्यो, खायो, भाषण गर्न हिंडिहाल्यो । त्यतिमै भुँडी लाग्छ । तँचाहीं गाँजा खान थालिस् कि क्या हो ? स्याप्पै सुकिछस् त !’

योगेश: ‘तेरा बाजे गाँजा खान्छु ! जिम जाने गरेको फोटो हेर्दैनस् फेसबुकमा ! बरु तँपनि आईज भोली देखी ।’

गगन: ‘धत्, हुन्न मुला ! भोटरले दुबैजनालाई गाली गर्छन् ।’

योगेश: ‘बच्चा भएर बच्चाजस्तो कुरा नगर न ! राजनीतिमा सरकार र बिपक्ष भएपनि भित्र त हामी गुड फ्रेण्ड हौं नि । हो कि हैन, हैन भन् त !’

गगन: ‘तैंले ठिक भनिस् यार, हैन ।’

योगेश: ‘हो कि हैन ? हो भन् न ।’

गगन: ‘ल, हो हो ।’

योगेश: ‘के हो ?’

गगन: ‘खै के हो, के हो ?!’

 

 😆 होप्पी फ्रेण्डसिप डे 🙂 


                                                              -तस्विर श्रोत :  गुगल तानतुन सेवा (इन्टरनेट )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com