एक बिदेशी पाहुना तिनकुनेको ‘म्याजिक आईल्याण्ड’भित्र पस्न खोज्दा…

प्रकाशित मिति: १४ भाद्र २०७५, बिहीबार ०२:५९

बिमस्टेक पाहुनाहरुको स्वागतकालागि काठमाण्डौमा बिभिन्न संरचना निर्माण भएकाछन् । ती मध्ये तिनकुनेको ‘मिनि नेपाल’ बिशेष हो । वरिपरि फ्लेक्सको पर्खाल, पर्खालमा नेपाल झल्कने खाल खालका तस्वीरहरु, तिनवटै कुनामा हाईटेक स्क्रिन, स्क्रिनमा सुन्दर सुन्दर सिनहरु । पहिलो पटक देख्दा लाग्छ, यो काठमाण्डौको स्थायी संरचना होला !

हिजो त्यस्तै भयो । धाईल्याण्डका एक कुटनीतिज्ञ सोही रुटबाट आउँदै थिए । तिनकुनेको त्यो दृष्यले उनलाई नराम्रोसँग तान्यो । उत्रिएर ‘मिनि नेपाल भिजिट गर्ने’ इच्छा गरे । आयोजकलाई आपत् पऱ्यो । शुरुमा ‘अर्को दिन घुमाउने’ भन्दै टार्न खोजे । तर पाहुनाले ‘राईट नाउ’ भनेपछि ‘जाउँ न त जाउँ’ भन्न बाध्य भए ।

मञ्चबाट ‘छुनलाई होईन, हेर्नचाहीं पाईन्छ’ भन्ने गीत बज्दै थियो तर, पाहुनाले सोझै गएर फ्लेक्समा एक पञ्च मारे, ‘वाउ, ह्वाट अ पावरफुल वाल †’ पाहुनाको पञ्चले वालमा प्वाल पऱ्यो । हात प्वालबाट भित्र छिऱ्यो । निकाल्दा उनको हातबाट घडी गायब थियो !

‘ह्वाट अ म्याजिक !’ भन्दै भित्रै पस्ने ईच्छा गरे । हाम्रालाई पो थाहा छ त, बाहिर बोक्रो, भित्र खोक्रो भनेर † सकेसम्म रोक्न खोजे तर ‘खापुन् खाप्, सवाडी खाप्’ भन्दै कुटनीतिज्ञ भित्र पस्ने ढोका खोज्न थाले ।

भित्र पस्ने ढोकै थिएन । कसो कसो गर्दा एउटा फ्लेक्स निस्कियो । पाहुना भित्र पसे । पहिलो पाईला राख्नासाथ उनको खुट्टा हिलोमा गाडिन पुग्यो । उनी चिच्याए, ‘हेल्प हेल्प !’ नेपाली सहयोगीले के बुझे कुन्नी, ‘दिस ईज नट हेल, बच्चाको खेल !’ भन्दै बल्ल बल्ल हिलोबाट निकाले ।

बाहिर त्यति सुन्दर देखिएको आईल्याण्ड भित्र केही कुकुरज्यूहरुको कर्तुत, धुलो, हिलो र मानव मलमुत्रको दुर्गन्ध देखेपछि कुटनीतिज्ञले सोधे, ‘ह्वाट ईज दिस ?’ दोभाषेले जवाफ दिए, ‘दिस ईज क्याट–म्यान–डु ! क्याटले दिसा गरेर पुर्ने, म्यानले खुल्लै गर्ने ! सो, क्याट क्यान डु बट म्यान क्यान नट डु ईजकल्टु क्याटम्यानडु !’

यो सुनेर कुटनीतिज्ञ बेहोस भएपछि उनलाई सोझै अस्पताल लैजानु परेको कुरा गाईजात्रे संवाददाताले बताएकाछन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com