स्वीस बैंकको खाता, नेपालिक्सको हात, कसरी ? फनफनीपुर्ण रिपोर्ट…

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार ०५:४९

हालै नेपालिक्सले एउटा भनभनीपूर्ण रिपोर्ट निकाल्यो । अरु रिपोर्ट सनसनीपूर्ण हुन्छन्, यो भनभनीपूर्ण थियो, सुन्दै रिंगटा लाग्ने खालको ! रिपोर्ट अनुसार, ५२ जना नेपालीको नाममा खरबौं रकम स्वीस बैंकमा रहेछ !! विकिलिक्सको भाइ नेपालिक्स भन्छ, ‘यो पैसा नेपालमा ट्याक्स छलि गरेर चोरबाटोबाट बिदेश पुर्याईएको हुनसक्छ ।’ खातावालाहरु भन्छन्, ‘त्यतै–उतै–ब्यापार–स्यापार–खात्राङ्–खुत्रुङबाट कमाएको हो ।’

बिषयमा संसदमा पनि कुरो उठ्यो । प्रधानमन्त्रीले छानविनको संकेत दिए । अदालतले चासो राख्यो । ‘टेक्स हेवन कन्ट्री’ र ‘स्वीस खाता’को बारेमा अनुसन्धान हुने ठट्टापनि चलि रहेको छ ।

तर, मनोसन्धान ज्योतिषिहरुले अनुसन्धानको प्रकृया अगाडी नबढाउन सरकारलाई सचेत गराएका छन् । उनिहरुका अनुसार, स्वीस बैंकको खातामा हात हालेमा सरकारले ठूलै अनिष्ट ब्यहोर्नु पर्नेछ । युवा ज्योतिष अनुमान क्षेत्री भन्छन्, ‘अहिले सरकार र स्वीस बैंक एउटै राशीमा छन् । त्यही राशीले उही राशीमाथी अनुसन्धान गर्दा सरकार ढल्ने खतरा हुन्छ । खतरामात्र हैन, यो सरकारले त्यो बिषय छुयो कि कुह्यो !’

बिपक्षीलाई पनि ज्योतिषिहरुले खबरदारी गरेकाछन् । ‘पृथ्वीमा लहरो तान्दा पहरो गर्जने योग छ । अहिले चुनाव र चन्दा एउटै रेखामा छन् । धन र धन्दा उही अक्षांसमा हुन्छन् । यस्तो बेलामा त्यस्तोको पछि लाग्नु डेन्जरभन्दा पनि खतरनाक हुनसक्छ । स्वीस ग्रहले चुनावको बेला लिएको चन्दा उल्टाउन सक्छ । भर्जिन आईल्याण्डको राहुले अधिबेशनमा पाएको सहयोग पल्टाउन सक्छ । त्यसैले मुख, आँखा र कान बन्द गरेर ‘चुपचाप समाधी’ लिनु कल्याण हुन्छ ।’ बुबा ज्योतिष हनुमान शर्मा भन्छन् ।

जनतालाई पनि उनिहरुले चुपचाप बस्ने सल्लाह दिएका छन् । अर्थ ज्योतिष तटस्थ नेपालले भने, ‘पैसा कसरी बिदेश गयो ? कसरी नेपाल आयो ? कर छलेको हो कि ? चाल चलेको हो कि ? यो सबै खोज्न थाल्दा देउता रिसाउन सक्छन्, मन्दिर ढल्न सक्छ, अस्पताल भत्किन सक्छन् । ठूलो मन–धनको क्षती हुने संभोग छ ।’ ‘राजनीतिमा पावर सेन्टरको टावर’ भन्ने शाष्त्र पल्टाउदै उनले भने– ‘यसमा भनिएको छ– चुपचाप चारआना हल्ला गरे बाह्रआना !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com