आफ्नो ज्योतिष आफैं बन्नोस्, भूत र भविस्य जान्ने सजिलो विज्ञान…

प्रकाशित मिति: ११ माघ २०७५, शुक्रबार १६:०४

-मनोज गजुरेल-
आजकाल हाम्रो भाग्य र भविश्य बताउनेहरुलाई नाम, दाम र सम्मान सोहोर्न भ्याई नभ्याई छ । भलै उनिहरुलाई आफ्नो बारेमा केही थाहा नहोस्, अरुको पूर्वजन्म र पूर्नजन्म पनि बताई दिन सक्छन्, सत्य होस् वा नहोस् ।

एक–दुईवटा डरलाग्दा भविस्यबाणी गरि दियो । दुई–चारजनाको काल्पनिक भाग्य बतायो । आठ दश जनाको सम्भावित भविश्य भनि दियो । त्यसपछि हेर्नोस्, चर्चा र पैसा कसरी बर्सिंदो रहेछ ! जहाँ गरिबि छ त्यहाँ भोटको राजनीति फस्टाउंछ । जहां अशिक्षा छ त्यहाँ अन्धविश्वासको दोकान चल्दछ । जनताको ईमनोसनल ब्ल्याक मेलिङ् गर्न सजिलो हुन्छ ।

के तपाईं पनि जनताको अबोधपनालाई पैसा कमाउने माध्याम बनाउन चाहानुहुन्छ ? चाहानुहुन्छ भने पढ्नोस् केही गजुरीयल टिप्सहरु । यसकालागि केही मनोवैज्ञानिक कुरा सिक्नुपर्छ । केही सामाजिक र आर्थिक परिवेश बुझ्नुपर्छ । अलिकति अलिकति धार्मिक श्लोक जान्नुपर्छ । थोरै ज्योतिष बिज्ञानको भाषा जाने राम्रो नजानेपनि वाक पटुकताचाहीं चाहिन्छ । त्यसपछि तलका शुत्रहरु कण्ठ गर्नोस् । मान्छे अनुसार भुत, भविश्य र वर्तमान बताई दिनोस्, दोकान मज्जाले चल्छ ।

१. तपाईंको परिवारमा कोही न कोहीलाई केही केही बिमार छ । हो कि हैन, हो भन्नोस् !

२. प्रायः मनमा कुरा खेलि रहन्छ । बिचार चलि रहन्छ । एकछिन शान्त बस्दैन । हो कि हैन, हो भन्नोस् !

३. कुनै ठूलो काम गर्न सोच्नु भएको थियो तर शुरु गर्न सक्नु भएको छैन । हो कि हैन, हो भन्नोस् !

४. श्रीमान् श्रीमतीबिच ठाकठाक परि रहन्छ । कहिले तपाईंको कारणले, कहिले श्रीमतीको कारणले झगडा शुरु हुन्छ । हो कि हैन, हो भन्नोस् !

५. जति राम्रो गर्न खोजेपनि जस पाउनु हुन्न । अगाडी तारिफ गर्नेहरु पछाडी पर्नासाथ कुरा थाल्छन् । हो कि हैन, हो भन्नोस् !

६. पढाई नराम्रो पनि हैन, राम्रो पनि छैन । शिक्षाको पाटो ठिक ठिकैमात्र छ । प्रयास गर्दा राम्रो पनि हुनसक्छ !

७. भाउजु भित्राएपछि परिवारमा अलिअलि किचलो उत्पन्न हुने देखिन्छ । तर बा आमा हुञ्जेल ठिकै हुने योग छ । हो कि हैन, हो भन्नोस् !

८. प्रेममा खटपट देखिन्छ । यसमा तेश्रो पक्षले षडयन्त्र रचेको छ । त्यो मान्छे तपाईंले चिनेकै मान्छे हो । तपाईंले नचिनेपनि प्रेमिकाले पक्कै चिनेको हुनुपर्छ । हो कि हैन, हो भन्नोस् !

९. सोचेका धेरै कुरा पुग्दैनन् । यही पिरले सताई रहन्छ । कैले काहीं त मरुं मरुंजस्तो पनि लाग्छ तर बांचि रहनु भएको छ । हो कि हैन, हो भन्नोस् !

१०. बिवाहको बारेमा दुईवटा हुने देखिन्छ । भयो भने सकिई हाल्यो । भएको छैन भने एउटैले ग्रह काटिन्छ । हो कि हैन, हो भन्नोस् !

११. तपाईंको सन्तान चार जना देखाउंछ । एउटा वा दुईवटा खेर जान सक्छ । जति भएपनि बुढ्यौलीमा एक्लै बस्ने योग छ । हो कि हैन, हो भन्नोस् !

१२.  छोरो अलि चकचके छ । छोरी मिलनसार छिन् । छोराले भनेको मान्दैन । छोरीले काम सघाउंछिन् । हो कि हैन, हो भन्नोस् !

१३. तपाईंका दुबै सन्तान बिदेश जाने योग छ । अहिलेसम्म गई सकेको हुनुपर्छ । नगएपनि ट्राई पक्कै गर्नु भएको छ । हो कि हैन, हो भन्नोस् !

१४. अरुलाई दिएको पैसा फिर्ता हुंन एकदमै गाह्रो हुन्छ । तपाईंबाट लगेको सामान धेरैले फिर्ता गर्दैनन् । हो कि हैन, हो भन्नोस् !

१५. तपाईंलाई बिगतले झस्काई रहन्छ । भविश्यले तसाई रहन्छ । मन वर्तमानमा रमाउनै मान्दैन । एकदम चञ्चल हुन्छ । हो कि हैन, हो भन्नोस् !

१६. नेपालमा कुनै न कुनै बेला डरलाग्दो भुकम्प जान सक्छ । भुकम्प नगएपनि बर्षामा बाढी र हिंउदमा खडेरीको योग परेको छ । होकि हैन, हो भन्नोस् !

१७. देशको ग्रह गोचर हेर्दा केपी ओली पछि प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना छ । प्रचण्ड भएनन् भने अर्को कोही न कोही अवस्य बन्नेछ । हो कि हैन, हो भन्नोस् !

१८. नेपाली कांग्रेसको ग्रहमा अझै ४ बर्ष सत्तायोग छैन । त्यसपछि पनि त्यति राम्रो देखिंदैन । यदि राम्रो भयो भने राम्रो सक्छ । होकि हैन, हो भन्नोस् !

१९. फाल्गुनको अन्तिमदेखी चैत्र मसान्तसम्म हावा चल्ने, आगलागी हुनसक्ने, पात झर्ने, फोहोर हुने योग छ । हो कि हैन, हो भन्नोस् !

२०. बैसाखदेखी ठुलै आन्दोलन हुने देखाउंछ । ठूलो भएन भनेपनि सानो सानो आन्दोलन त पक्कै हुन्छ । त्यो पनि भएन भने केही हुंदैन । हो कि हैन, हो भन्नोस् !

२१. ७७ सालदेखी ८० सालभित्रमा राजतन्त्र फर्किने योग छ । फर्किएन भने ९० सालमा पक्का फर्किन्छ । फर्किएन भने मलाई भन्नु, खै त गूरु !

२२. यो बर्ष त्रिभुवन विमानस्थलमा ठूलो हवाई जहाज झर्नेछ । पेसेन्जर अफलोड गरेर पुनः उड्नेछ । अनि, दोहा एयरपोर्टमा फेरी झर्नेछ । झरेन भने मलाई देश निकाला गर्दिनु, बिदेशबाटै कुरा गरौंला !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com