नेता धेर बोलेर धोका खान्छन् , जनता बोल्दै नबोलेर !

 

भेनेजुएलामा प्रचण्डको जिब्रो चिप्लिएको हो कि वाक्य चिप्लिएको हो ! यसको बहस जारी छ । भेनेजुएलाको बिषयमा बोल्नु हुन्थ्यो कि हुन्नथ्यो, यो पनि प्रश्न उठि रहेको छ । यी प्रश्नको जवाफ एउटा गजुरियल बिश्लेशणमा दिने प्रयास गरिएको थियो । दोहोर्याएर पढ्नोस् । 

हाम्रै देशमात्र किन यस्तो हुन्छ ?’ यो प्रश्न धेरैको मुखबाट सुनिन्छ । एकपटक आँखा चिम्लिएर सोच्ने हो भने जवाफ मिलिहाल्छ, ‘अहिले संसार नै ताति रहेको छ ।’ ‘के हुन लाग्या हो संसारमा ?’ आँखा चिम्लिनासाथ जवाफ निस्कन्छ, ‘मान्छे सतही भयो, भित्र पस्न छोड्यो, समस्या आफूमा होइन, अरूमा देख्न थाल्यो ।’ गजुरियल विश्लेषण भन्छ, हरेक मानिसले समस्याको जरो आफूमा छ कि भनेर खोज्ने हो भने संसारको आधा समस्या आफैं सामाधान हुन्छ ।

संसारमा कुनै देश यस्तो छैन, जहाँ हिंसा नमच्चिएको होस् । जुनसुकै क्षेत्रमा हेर्नुहोस्, अशान्ति छ, अविश्वास छ, आन्दोलन छ । नेपालीहरू भन्छन्, यो घोर कलियुगको संकेत हो । गजुरियल प्रश्न छ, के सत्य, त्रेता वा द्वापरयुगमा पूरै रामराज्य थियो त ? अहँ, त्यो बेला पनि महाभारत, रामायण, नालापानी–कालापानी युद्ध भएकै थिए । अन्य धार्मिक, सांस्कृतिक इतिहास पनि हत्या, हिंसा एवं काटमारबाटै बढ्दै आएको गजुरियल अनुमान छ ।

बलियाले कमजोरलाई पेल्नु, कमजोरले बलियाहरूविरुद्ध विद्रोह गर्नु, विद्रोह क्रममा हिंसा हुनु पुरानै रोग हो । हामी पनि त्यही यथार्थबाट यहाँ आइपुगेका हौं । हिजोआज समाचारमा देखिने हिंसाका दृश्य, समाजमा देखिने हत्याका घटना, मस्तिष्कले महसुस गर्ने आतंकको परिदृश्यले हामी पहिलेभन्दा बढी आतंकित छौं, यो अर्कै कुरा हो ।

यसको गजुरियल कारण खोजौं । हामी अधिकांश मानिस सत्यको पक्षमा कम, यता वा त्यताको पक्षमा बढी बोल्छौं । हामी चाहे पनि नचाहे पनि पक्ष लिन वा विपक्षमा बस्न बाध्य हुन्छौ । समस्याको कारण यही हो । यसलाई कसरी घटाउने ? कसरी हटाउने ? संवेदनशील घडीमा देश, समाज र आफूलाई सत्यसँग नजिक राख्न केही गजुरियल उपाय प्रस्तुत गर्दैछु ।

एक क्षेत्रको मानिसले अर्को क्षेत्रका बारेमा आलोचना गर्नुभन्दा त्यही क्षेत्रको मानिसले आफ्नो क्षेत्रको समीक्षा गर्नु उपयुक्त हुन्छ । कुनै धर्म वा जातिका बारेमा फरक धर्मसँग सम्बन्धित मानिसले आलोचना गर्नुभन्दा त्यही संस्कृतिको मानिसको समीक्षा अर्थपूर्ण हुन्छ । मैले आफ्नै कमी–कमजोरी पत्ता लगाउने, तपाईंले तपाईंभित्रकै कमजोरी खोज्ने र सुधार्ने हो भने शान्तिको मुहान पत्ता लाग्ने सम्भावना रहन्छ ।

उदाहारणका लागि म जुन संस्कृतिमा जन्मिएँ, त्यसभित्रका कुसंस्कारहरूलाई मैले नै केलाउन सक्छु । तपाईं जुन सम्प्रदायमा हुर्किनुभयो, त्यसको राम्रो/नराम्रो तपाईंलाई बढी थाहा हुन्छ । इमान्दार भएर आ–आफ्ना जात, सम्प्रदायभित्रका नकारात्मक पक्षलाई आफैंले सुधार्ने हो भने जातीय सद्भाव पनि भड्किँदैन, एकले अर्कोलाई सम्मान गर्ने अवस्था पनि आफैं आउँछ ।

आज समाज एकदमै संवेदनशिल अवस्थामा छ । सानो कुराले परिस्थिति बिग्रन सक्छ । एउटा शब्दले पनि हिंसा भड्किन सक्छ । यस्तो बेला प्रत्येक सर्वसाधारणको दायित्व महत्वपूर्ण हुन्छ । बोल्नुअघि तीन पटक लामो सास लिऊँ । मैले भन्ने कुराले कसैको भावनामा चोट पुग्छ कि, साम्प्रदायिक सद्भाव भड्किन्छ कि, जातीय सद्भाव बिग्रन्छ कि भन्ने कुराको विश्लेषण गरेर मात्र बोल्नुपर्ने गजुरियल सुझाव छ ।

सामाजिक सञ्जालको सदुपयोग अहिलेको प्राथमिक आवश्यकता हो । मनभित्रका आक्रोश, पीडा र निराशाहरू सार्वजानिक गर्दा त्यसले पढ्नेलाई मात्र होइन, लेख्ने स्वयंलाई पनि उत्तेजित बनाइरहेको हुन्छ । आफ्ना कुरा सकारात्मक रूपमा पनि व्यक्त गर्न सकिन्छ । एकपटक प्रयोग गरेर हेर्नुहोस् । कसैको पोष्टमाथि सुन्दर र शालिन शब्दमा आफ्नो असमति लेखेर हेर्नुहोस् त, त्यसले तपाईंलाई कति शान्त बनाउँदो रहेछ ?

धेरै बोल्दैमा दबाब पुग्ने होइन । थोरै तर गहन प्रतिक्रिया अहिलेको आवश्यकता हो । जति धेरै बोले पनि हामीले आफूले जति जानेको छ, त्यतिमात्र बोल्ने हो । सुन्ने बानीले सिक्ने क्षमताको विकास हुन्छ । त्यसबाट हामीले केही नयाँ कुरा सिकिरहेका हुन्छौं । बोल्नुअघि लामो सास तानौं । लेख्नुअघि छोटो आँखा चिम्लौं । भन्न खोजेको कुरो मीठो शब्दमा भनौं । शब्द अमृत पनि हुन सक्छ, विष पनि बन्न सक्छ । ओशो शैलेन्द्रले एक ठाउँमा भनेका छन्— ‘धन्यवाद’ र ‘क्षमा गर्नुहोस्’, यी दुई शब्दले सम्बन्धमा नुन र चिनिको स्वाद दिन्छन् । दुवैलाई जिब्रो बोकेर हिँड्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com