रवीन्द्र अधिकारीले दिएको त्यो दुई हजार रुपैंया…

 

 

-मनोज गजुरेल-

रवीन्द्र अधिकारी अग्रज विध्यार्थी नेता हुनुहुन्थ्यो। तर, हामीले सँगै स्ववियु सभापतिको उम्मेदवारी दिएका थियौं । उहाँ पि.एन.क्याम्पस, पोखराबाट उठ्नु भयो, म आर.आर. क्याम्पस, काठमाण्डौबाट । पछि मैले नोमिसेसन फिर्ता लिएर राजेन्द्र राईलाई समर्थन गरें, रवीन्द्रजीले चुनाव लड्नु भयो, अत्याधिक बहुमतले जित्नु भयो र स्ववियुको सभापती बन्नु भयो । यो २०४९ सालको कुरा हो ।

त्यही सालदेखी मैले सकृय राजनीति छोडेर कलाकारितालाई अँगालेँ, क.रवीन्द्रले राजनीतिलाई निरन्तरता दिनुभयो । सभापति, सांसदहुँदै मन्त्री बन्नु भयो । पदमै रहेको बेला दुर्घटनामा पर्नु भो ! अन्य ६ जना होनहार नागरिक सहित देहत्याग गर्नु भयो । सबैलाई हार्दिक श्रद्धाञ्जली !

                                                                                                                             (तस्वीर  : सामाजिक संजाल )

२०४९ अन्त्यतिरको कुरा हो । पुतलीसडकमा हाम्रो पत्रिका पसल थियो- ‘कावेली कुना !’ ठुल्दाजु केशब गजुरेल मलाई सम्झाउँदै हुनुहुन्थ्यो- ‘हँसाएरमात्र हुन्छ ! पसलमा पर्दैन ?!’ कारण थियो- पालो दिनुपर्ने म, पसल बन्द गरेर कलेजका कार्यक्रमहरुमा गईदिन्थेँ !

त्यसैबेला माधव भट्टराई आईपुग्नु भयो जो साँस्कृतिक कमिटिको प्रमुख हुनुहुन्थ्यो । दाजुलाई भन्नुभयो- ‘पि.एन.मा एउटा कार्यक्रम छ । मनोजलाई पठाईदिउँ, केही खर्चको पनि ब्यबस्था हुन्छ ।’ ?

म नाईट बस चढेर पोखरा पुगेँ । पिएन क्याम्पसमा कार्यक्रम गरेँ । नयाँ थिएँ तर सभापती रविन्द्र अधिकारी सहित धेरैले मन पराउनु भयो ।

क्यान्टिनमा खाजा गफमा थियौं। सभापति रविन्द्र अधिकारीले कला, राजनिती र समाजका बारेमा मलाई केही दुरगामी सुझाव र सल्लाह दिनु भयो ।

आज रवीन्द्र अधिकारी हामीबिच हुनुहुन्न तर उहाँका ती सुझावहरु उर्जा बनेर मेरो मानसपटलमा घुमिरहेका छन् ।

सानो कदका रवीन्द्रका सुझाव निकै ठुला थिए । ‘ब्यङ्ग्य गर्दा कसैलाई छोड्नु हुन्न तर सबैलाई ठोक्ने नाममा निर्दोषलाई निशाना नबनाउनु होला ! तपाईको कला राम्रो छ, अझ राम्रो बनाउन यसमा शन्देश पनि हाल्नोस् ! भोको पेटले सधैं हँसाउन सकिन्न, ब्यवसायीक बन्ने प्रयास गर्नुहोला !’ यति भनेर नगद रु. २०००/- (अक्षेरेपी दुई हजारमात्र) थमाउदै भन्नु भएको थियो – ‘यो पारिश्रमिक हैन, सानो उर्जा र हौसलामात्र हो ।’

यसको केहीपछी एउटा क्यासेटमा बोले बापत गायक शम्भु राईबाट रु। ५०००/- पाएको थिएँ । यो मेरो पहिलो पारिश्रमिक थियो । तर, श्रमको सम्मान गर्नुपर्छ भन्ने बिचार उर्जाचाहीँ रवीन्द्र अधिकारी नै हुनुहुन्थ्यो । उहाँले दिएको त्यो रू. दुई हजार नै मेरो अर्थोपार्जनको बिउ (Sheed Money) थियो भन्दा अत्युक्ती नहोला ।

मन्त्री भएपछी वाईडबडीमा उहाँको नाम मुछियो । यस बारेमा छानविन समितिले सबै कुरा बाहिर ल्याउला ! सत्यको अदालतमा असत्यले कहिल्यै छुट पाउनु हुँदैन र पाउँदिन पनि । समयले सबै कुरा प्रष्ट पार्ने नै छ ।

यस बाहेक, रवीन्द्रलाई देशले एउटा जुझारु बिद्यार्थी नेता, इमान्दार सभासद, बिकास प्रेमी मंत्रीको रुपमा सधैं सम्झी रहनेछ । साथै पर्यटन व्यवसायी आङ्ग छिरिङ्ग शेर्पा, प्रशासक युवराज दाहाल, निर्देशक ध्रुब भोछिभय, इन्जिनियर बिरेन्द्र कुमार श्रेष्ठ, सुरक्षाकर्मी अर्जुन घिमिरे, पाईलट प्रभाकर केसी सहित रवीन्द्र अधिकारीलाई हार्दिक श्रद्दान्जली ! तपाईंहरु सबैको आत्मा परमआत्मामा मिलोस् । मृत्योर्मा अमृतम गमय ! ओम् शान्ति ! शान्ति !! शान्ति !!!

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com